१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

रक्सौल मैत्री पुलमा एसएसबीको अस्थायी चौकी, नेपालीलाई भारत प्रवेशमा कडाई

पर्साको नेपाल भारत सीमा क्षेत्रको रक्सौलस्थित मैत्री पुलमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अस्थायी चौकी निर्माणप्रति नेपाली पक्षले आपत्ति जनाएको छ । भारतको एसएसबीले रक्सौल मैत्री पुल नजिकै अस्थायी चौकी निर्माण गर्न थालेपछि नेपाल पक्षले आपत्ति जनाएको हो ।

एक जना शंकास्पद नागरिक भारततर्फ गएको भन्ने बहानामा एसएसबीले अस्थायी चौकी खडा गरेपछि आवागमनमा कठिनाइ उत्पन्न भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मैत्री पुलमा अस्थायी चौकी राख्न लागिएको बारे नेपाली पक्ष जानकार रहेको बताए । उनले त्यहाँ चौकी राखेपछि आवागमनमा असहज पैदा भएको बताउँदै सहजीकरण गर्न आग्रह गरेको पनि बताएका छन् । ‘मैत्री पुलमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अस्थायी चौकी निर्माण गरेको विषयमा हामी जानकार छौ, यसबारे अहिले हामी छलफल गरिरहेका छौ, यसको विकल्प खोज्न आग्रह गरेका छौ’, पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले भने । 

एसएसबीले अस्थायी प्रहरी चौकी निर्माण थालेपछि मंगलबार नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका डीएसपी लोकेन्द्र सुब्बाले विकल्प खोज्न आग्रह गरेका थिए । साथै वीरगन्जका ग्रीन सिटी सामुदायिक प्रहरी सेवा, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान पनि निर्माण कार्य रोकेर सहजीकरण गर्न आग्रह गरेका थिए । एसएसबीको यस्तो कार्यले नेपाल–भारत मैत्री सम्बन्धको उल्लंघन हुने नेपालतर्फका सरकारी अधिकारीले जनाएका छन् । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले यो विषयमा केही बताएको छैन ।

‘यसबारेमा हामी बुझ्दैछौ, पर्सामा एसएसबीको अस्थायी प्रहरी चौकी निर्माणबारे मातहत निकायले केही रिपोटिङ गरेको छैन’, सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भने । भारतीय पक्षले नेपालबाट पाकिस्तानी, चाइनिज र इरानी नागरिक भारत पसेको शंका रहेकाले अस्थायी चेकजाँच राख्न लागेको जनाएको छ । नेपाली पक्ष भने नेपालबाट आशंकित व्यक्तिहरू भारततर्फ नगएको दावी गरेको छ । यसअघि पनि एसएसबीले चेकजाँच राखेको थियो । 

वीरगन्जका ग्रीन सिटी सामुदायिक प्रहरी सेवा अध्यक्ष खेतानले आम जनतालाई दुःख दिने मात्रै काम भएकाले यसलाई हटाएर सहजीकरण गरिदिन आग्रह गरेको बताए । ‘यसअघि पनि ६ महिनाजति एसएसबी चेकजाँचका लागि बसेको थियो एक स्थानीय व्यक्तिलाई कुटपिट गरेपछि राजदूतावासलाई जानकारी दिएका थियौ, त्यसपछि हटाइएको थियो, अहिले फेरी आएर बस्न खोज्यो, मैत्री पुलमा हतियारधारी बस्न पाउदैन हामीले प्रशासनलाई जानकारी दिएका छौ नेपालस्थित भारतीय राजदूतावासलाई पनि जानकारी दिएका छौ’, वीरगन्जका ग्रीन सिटी सामुदायिक प्रहरी सेवा अध्यक्ष खेतानले भने ।

प्रकाशित: १८ असार २०८२ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App