आइतबार साँझ देखि परेको अविरल वर्षाले कैलाली र कञ्चनपुरमा सयौँ घर डुबानमा परेका छन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ।

यो वर्ष मनसुन भित्रिएसँगै कैलालीको धनगढी, गोदावरी लगायतका क्षेत्रमा अत्यधिक वर्षा भएको छ। बर्सातले कैलाली र कञ्चनपुरमा सयौँ घरपरिवार डुबानमा परेका छन्। धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालसहित सयौँ घरमा पानी पसेको छ।
‘लगातारको वर्षाले धनगढी पुरै जलमग्न भएको छ, जताततै पानी भरिएर घर बाहिर हिँडडुल गर्न पनि समस्या भएको छ’ स्थानीय कृष्णराज जोशीले भन्छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले वर्षाले धनगढी सबैभन्दा बढी डुबानमा परेको बताए।
धनगढीमा मुख्य बजार क्षेत्र लगायत विभिन्न बस्तीहरू डुबानमा परेका थिए। वर्षाले धनगढीमा २ सय ५४ घर डुबानमा परेर १ हजार १ सय ५६ जना प्रभावित भएको उनले बताए। घर डुबानमा परेर लत्ताकपडा, सर-समान भिजेर नोक्सान भएको स्थानीयले बताएका छन्।

यसैगरी गोदावरी नगरपालिकामा पनि कयौँ बस्ती डुबानमा परेको उनले सुनाए। घर डुबानमा परेपछि कयौँघरबाट सर्वसाधारणलाई उद्धार समेत गर्नुपरेको थियो।
घर डुबानमा परेपछि धनगढी उपमहानगरपालिका-७ वेली गाउँका ७ जना र धनगढी वडा नं- १३ श्रीलङ्काको ४ जना गरि ११ जनाको उद्धार गरिएको थियो।

अविरल वर्षाले सयौँ घरहरू डुबानमा परेर जनजीवन प्रभावित बने पनि धनजनको क्षति भने नभएको उनको भनाई छ। गोदावरी नगरपालिका वडा नं-४ मा २ सय र वडा नं ५ मा २ सय ५० घरधुरी बर्सातले प्रभावित भएको उनले बताए।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकामा झण्डै एक दर्जन घर डुबानमा परेका छन्। पानी घरमा पसेपछि केही परिवार विस्थापित भएर सुरक्षित स्थानमा गएर आश्रय लिन बाध्य भएका छन्।
महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका वीरेन्द्र प्रसाद कुसुवाले आइतबार साँझ देखि सोमबारसम्म २४ औं घण्टामा २३८ दशमलव ६ मिलिमिटर वर्षा भएको बताए।
२४ घण्टामा भएको यो वर्षा पछिल्ला बर्सहरूको तुलनामा अत्यधिक बढी हो।
प्रकाशित: १६ असार २०८२ १९:५२ सोमबार





