११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

एक महिने सगरमाथा वृक्षारोपण महाअभियान घोषणा

नेपाल सरकारले प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म एक महिने सगरमाथा वृक्षारोपण महाअभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने प्रतिबद्धता अनुरूप वि सं २०८२ देखि २१०२ सम्म हरेक वर्ष यो अभियान सञ्चालन गर्न लागिएको हो ।

नेपालले हरेक वर्ष असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउँदै आएको छ ।  यस वर्षदेखि वृक्षारोपणका लागि उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिको रुख बिरुवा रोपण गरी वृक्षारोपण कार्यलाई प्रभावकारी बनाई समृद्धि हासिल गर्न, वातावरणीय सन्तुलन कायम गर्न तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने उद्देश्य लिइएको छ । 

गत असार ८ गते बन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको मन्त्री स्तरीय निर्णयबाट यो अभियान सुरु गरिएको हो। उक्त निर्णयको बारेमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले यो अभियान केवल वृक्षारोपण मात्र नभई राष्ट्रिय कार्यक्रम रहेको बताए ।

‘यो अभियानले सन् २०४५ सम्ममा नेपाललाई कार्बन उत्सर्जन शून्य, बनाउने, हिमालय जोगाउने र स्वच्छ भविष्य सुनिश्चित गर्ने लक्ष्य हासिल गर्न सहयोग पुराउनेछ,’ मन्त्री शाहीले भने ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन,विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा फलफूल,जडीबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न नागरिक तथा समुदायलाई प्रोत्साहन गरिने उल्लेख छ।

नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरिएको बताउँदै  मन्त्री शाहीले यो कार्यक्रममा 

संघ, प्रदेश र स्थानीय तहका सरकार सहित सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कवुलियती वन,निजी वन समूहहरू र सँन्जालहरू सहभागी हुने बताए ।

हालै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्व जगतलाई ध्यानाकर्षण गर्दै “हिमालय जोगाऔँ”का भन्ने आह्वान गरेको थियो।

मन्त्री शाहीले उक्त संवादको मूल मर्म र भावना अनुरूप हिमालय जोगाउने प्रयासका रूपमा वृक्षारोपण अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लागिएको बताए । वृक्षारोपणलाई राष्ट्रिय पर्वका रूपमा संस्थागत गर्ने प्रयास गरिने उनको भनाई थियो ।

यो वृक्षारोपण कार्यक्रमको उद्देश्यहरूमा कार्बन उत्सर्जन न्यूनीकरण र अनुकूलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार, भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण रहेका छन् । 

यसैगरी,नागरिक समाज, निजी क्षेत्र,शैक्षिक संस्था, वित्तीय संस्थाहरू, विकास साझेदारहरू, विदेशी नागरिक र वैदेशिक संघ संस्थाहरूले वृक्षारोपण गर्ने मन्त्री शाहीले बताए । 

प्रकाशित: १३ असार २०८२ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App