१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

अदालतको अवहेलना आरोपमा दृष्टिका प्रकाशक, सम्पादकलाई तीन दिनभित्र बयान दिन आदेश

अदालतको अवहेलना गरेको भन्दै विशेष अदालतले दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ। विशेष अदालतका ६ न्यायाधीश सम्मिलित इजलासले अदालतको अवहेलना मुद्दामा दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो।

मंगलबार (आज) विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बयानका लागि बोलाएको हो। विशेष अदालतको इतिहासमा पहिलो पटक मिडियामा प्रकासित समाचारको विषयमा विशेष इजलाश बसेको हो।

मंगलबार अदालतले विपक्षी प्रकाशक शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा र समाचारका संवाददातालाई आफैँ अदालतमा उपस्थित भएर बयान दिन आदेश जारी गरेको हो। गत असार ८ गते दृष्टि साप्ताहिकले ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकासित गरेको थियो।्

समाचारविरूद्ध नवराज सापकोटासहितले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। अदालतले उनीहरूलाई तीन दिनभित्र उपस्थित हुन आदेश दिएको हो। मुद्दामा सुनुवाइ गर्दै अदालतले ‘यसमा के कसो भएको हो? निवेदन/प्रतिवेदन मागबमोजिम यस अदालतको अवहेलनामा किन कारबाही र सजाय हुनु नपर्ने हो ? यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनु नपर्ने भए सोको आधार कारण र प्रमाणसहित यो आदेश र समाह्वान म्याद प्राप्त भएको मिति समयबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउन समेत नपाउने गरी दृष्टि मिडिया प्रालिको हकमा कानूनबमोजिमको प्रतिनिधि र विपक्षीहरू शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा तथा सम्बन्धित समाचारको संवाददाताको हकमा आफैं यस अदालत समक्ष बयान गर्न उपस्थित हुनू।’

नेपालखबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने आदेशबाट पछि हटेको केही दिनमै विशेष अदालतले भने सञ्चारमाध्यममा प्रकाशित समाचार यथावत् अवस्थामा राख्न आदेश दिएको छ। अदालतबाट अर्को आदेश नभएसम्म दृष्टि न्यूज अनलाइनमा असार ८ मा प्रकाशित उक्त समाचार सामग्र जे–जस्तो अवस्थामा छ, त्यसै अवस्थामा राख्न, उक्त सामग्री नहटाउन, परिवर्तन तथा परिमार्जन नगर्न पनि आदेश दिएको छ।

प्रकाशित: १० असार २०८२ १७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App