कपिलवस्तुको सदूरपश्चिमी क्षेत्र विजयनगर गाउँपालिकामा बाघले धमाधम घरपालुवा जनावर खान थालेपछि स्थानीयनबासीले नियन्त्रणका लागि पहल गरिदिन हारगुहार गरेका छन् ।
बाघले घरपालुवा जनावर खान थालेपछि बिजयनगर वडा नम्बर ६ मा स्थानीयबासी त्रसित समेत बनेका छन । तीन महिनायता विजयनगर गाउँपालिका–६ स्थित उज्ज्वलपुर, भाटा, डालपुर, नौरंगिया, छुटपाटी, सेमरी, भगीरामपुर र नौसहरा गाउँमा बाघले खोरमै पसेर गाई, बाख्रा, भेडा, बंगुर र कुकुर मारेको वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर कलवारले बताए ।
सुनमाया घर्ती मगर, सिताराम लोहार, लोकमाया राना, सीता मगर, विसरा कुमारी रोका, घर्ती मगर, मनमाया सुनार, टेकबहादुर खत्रीलगायत स्थानीयको घरपालुवा जनावार बाघले खाएको कलवारले बताए । उनका अनुसार, उज्ज्वलपुरमा मात्र १२ वटा घरपालुवा जनावर र २० बढी सामुदायिक कुकुरलाई बाघले मारेको छ ।
स्थानीय कृष्ण पौडेलले साझेदारी वन क्षेत्रमा पाटे बाघ र चितुवा देखिने गरेको बताए । बाघले भकाभक घरपालुवा जनावर खाएपछि आफुहरु समेत असुरक्षित बनेको उनले बताए ।
स्थानीयबासीले बाघ नियन्त्रणकालागि पहल गरी दिन गौतम बुद्ध साझेदारीमार्फत् सवडिभिजन चन्द्रौटामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
वडाध्यक्ष कलवारले बाघ नियन्त्रणका लागि वन कार्यालयले चाँडै कमद उठाउनु पर्ने माग गरे । गौतबुद्ध साझेदारी वनका अध्यक्ष प्रवेज आलम खाँले यस बारेमा डिभिजन वन कार्यालय चन्द्रौटामा जानकारी गराउने बताए ।
सवडिभजिन कार्यालय गुगौलीका सहायक वन अधिकृत राघवेन्द्र चौधरीले वडा नम्बर ६ का दुई दर्जन स्थानीयबासीले बाघले घर पालुवा जनावर खाएको र त्यसको नियन्त्रणका लागि पहल गर्न निवेदन दिएको बताए । उनले घटना भएको तत्कालै जानकारी गराई अनिवार्य मुचुल्का बनाउन आग्रह गरेका छन् ।
प्रकाशित: ८ असार २०८२ १८:४९ आइतबार





