कोशी प्रदेशको प्रदेशसभा बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा राख्ने तयारी गरिएको छ । जेनजी आन्दोलनमा कोशीको प्रदेशसभा भवन जलेपछि पहिलोपटक बस्न लागेको बैठक वीरेन्द्र सभागृहमा राख्न लागिएको हो ।
कोशी प्रदेश सरकारका प्रबक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले यहि माघ भित्रै बैठक राख्ने तयारी गरिएको जानकारी दिए । उनले भने ‘यहि माघ महिना भित्रै प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने तयारी भइरहेको छ ।’
हाल प्रदेशसभा सचिवालयको कार्यालय मोरङको कटहरी स्थित तरकारी तथा फलफुल बजारमा राखिएको छ । तरकारी बजार परिसरमै प्रदेशसभा बैठक पनि राख्न थप पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले तत्कालका लागि विराटनगर स्थित वीरेन्द्र सभागृहमा बैठक राख्न लागिएको हो ।
प्रदेशसभा बैठक राख्नका लागि वीरेन्द्र सभागृहको पूर्वाधारको अवस्थाबारे सरकारी प्रतिनिधिहरूले अनुगमनसमेत गरिसकेका छन् । अनुगमनका क्रममा सभामुख लगायत बस्नका लागि केहि पूर्वाधार थप गर्नुपर्ने आवश्यकता देखिएको छ ।
यता विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रदेशसभा बैठक वीरेन्द्रसभा गृहमा राख्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रकाशित: १३ माघ २०८२ १९:३५ मंगलबार





