२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

किसानको चिन्ता : सरकार! कृषिउपज कहाँ बेचौँ?

इलाम त्यसै पनि कृषिमा उन्नत कहलिएको जिल्ला। चिया, अलैंची, अकबरे, आलु, अदुवा, दूध र जडीबुटीमा समेत किसान जागरुक छन्। केही वर्षअगाडि निर्वाहमुखी कृषिमा रहेका किसान धमाधम व्यावसायिक त बन्दैछन् तर उनीहरूको मुख्य चिन्ता अब उत्पादन गर्नमा भन्दा बेच्नेमा छ। कुनै वर्ष इलामका उद्योगी–व्यापारीलाई थामिनसक्नु गरी तयारी चियाको माग आउँछ, त्यो पनि विदेशी व्यापारीबाट।

कहिले दूध, कहिले घिउ अनि कहिले अलैंची र अदुवाजस्ता नगदेबालीको माग उस्तै हुन्छ। तर, जब ‘अब चाहिँ बिक्नेछ’ भनेर किसानले लगानी बढाउँछन्, तब ह्वात्तै दाम घटिदिन्छ। यो क्रम धेरै वर्षदेखि निरन्तर रहँदा किसान कृषिकर्ममा ढुक्क हुन सकिरहेका छैनन्। त्यतिमात्र होइन, चिया, दूधलगायत प्रशोधन गर्ने उद्योगीसमेत बेलाबेला बजारको उतारचढावले झस्किन्छन्।

त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा जाने युवाको लामो लाइनमा ती युवा छन्, जो आफूले स्वदेशमा बगाएको पसिनाको मूल्य सुनिश्चित नभएको देख्छन्। र, जिल्ला प्रशासन कार्यालयमा विदेश जान राहदानी बनाउनेहरूको हूल पनि अरूको नभएर मेहनतको दिगो प्रतिफल पर्खिरहेका तिनै युवाको हो।

सूर्योदय नगरपालिका-१२ का किसान मदन राई देशमा रोजगारी नपाएर विदेश गइरहेका युवाको लर्को देख्दा चिन्तामा छन्। ‘हामी किसानलाई कामदार नपाएर चियापत्ती हुर्किएर गएको छ, अकबरे बोटमै कुहिने डर छ, अरू बालीमा काम गर्ने खेताला नपाएर बिजोक छ,’ उनले भने, ‘नेपाली युवा भने देशमा रोजगारी नपाएर विदेश हानिएका छन्, कता के नमिलेको हो यो?’

सूर्योदय नगरकी पूर्वउपमेयर दुर्गादेवी भट्टराईले वैदेशिक रोजगारीमा गइरहेका युवालाई स्वदेशमै आकर्षित नगरेसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताइन्। ‘छोरो वैदेशिक रोजगारीमा जान राहदानी बनाइरहेको छ, बाबु खेताला नपाएर गाउँगाउँ भौंतारिंदै,’ उनले भनिन्, ‘यस्तो अवस्थामा छोराले नै बाबुलाई काम सघाउने वातावरण कहिले बनाउन सकिएला?’

युवालाई स्वदेशमै भविष्य छ भनेर विश्वास दिलाउने खालका योजना ल्याउनु र कार्यान्वयन गर्नु अहिलेको मुख्य आवश्यकता भएको सरोकारवाला बताउँछन्। देशमै छरिएका हजारौं सम्भावनालाई आशामा बदल्न सरकारले ढिलो गर्न नहुने सम्बन्धित क्षेत्रका जानकारको भनाइ छ। किसानलाई उत्पादनमा उत्साही गर्नुभन्दा पनि उनीहरूले गरेका तयारी वस्तुको बजारमात्र सुनिश्चित गरिदिने हो भने अहिले वैदेशिक रोजगारीमा धाइरहेको ठूलो जमात स्वदेशमै अडिने उनीहरूको विश्वास छ।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित हुन नसकेको बताउँछन्। सरकारले किसानको लगानीसम्म उठाउनेगरी जोखिम बहन गर्न सक्ने अवस्था पनि नभएको उनको भनाइ छ।

‘हुन त सरकारले किसानलाई उत्पादनको बजार निश्चित नहुँदा उनीहरूको लगानीसम्म उठ्नेगरी आर्थिक सहायता उपलब्ध गराउनुपर्ने हो तर त्यसो गर्न स्थानीय सरकारको स्रोतले भ्याउँदैन,’ उनले भने, ‘सूर्योदयमा पचास लाख किलो हाराहारी तयारी चिया उत्पादन हुन्छ, प्रतिकिलो एक रुपैयाँमात्र दिंदा पनि पचास लाख खर्च हुन्छ, हरियोपत्ती तीन करोड किलो होला, प्रतिकिलो एक रुपैयाँमात्र दिँदा पनि तीन करोड खर्च हुन्छ। दूध, अदुवा, तरकारी र अरू नगदेबालीको यस्तो जोखिम स्थानीय सरकारले धान्न सक्ने सम्भावना रहला?’

उनले किसानको उत्पादनको दिगो बजार खोज्न माथिल्लो तहका सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए। स्थानीय सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारी कुनै बाँकी नराख्ने भन्दै उनले उत्पादित वस्तुको बजार ग्यारेन्टी भए युवा कतै भौँतारिन नचाहेको पनि बताए। ‘हाम्रै पालिकाको वडा १ मा व्यावसायिक फूलखेती गरिरहेकी एक महिलालाई नगरले आर्थिक अनुदान दिन खोज्दा उनले लिनै मानिनन्,’ मेयर राईले भने, ‘अनुदानले उत्पादनमा त सघाउला तर उत्पादित फूल बिक्री भएन भने के हुन्छ भनेर उनले अनुदान लिएनन्।’ बजार सुनिश्चित हुने हो भने युवा कृषिमा रमाउने र आर्थिक विकासको बलियो आधार बन्ने उनको भनाइ छ।

सूर्योदय उद्योग वाणिज्य संघले आयोजना गरेको सूर्योदय नगरपालिकाको आर्थिक समृद्धि विषयक संवादमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले उद्यमीलाई ‘पूजा’ गरेमात्रै देश समृद्ध हुने बताए। ‘किसान हुन् वा उद्योगी, जो उत्पादनमा छ, जो उद्यम गरिरहेको छ, उसलाई भगवान मानेर पूजा गरेमात्र देश समृद्धि यात्रामा लाग्छ,’ उनले भने, ‘स्थानीय जनशक्तिको सीप र क्षमता देश समृद्धिको पहिलो आवश्यकता हो।’

पोखरेलले संसारका देशहरू त्यहाँका दक्ष मानव संसाधनका कारण समृद्ध बनेको भन्दै दक्ष, सिपालु, सक्षम जनशक्ति उत्पादन गरे दीर्घकालसम्म देश आर्थिक विकासमा जाने बताए। ‘जहाँ जनशक्ति सिपालु छ, अरूको भर पर्नु पर्दैन, उसले विकासमा फड्को मारेको छ,’ पोखरेलले भने, ‘विकास र समृद्धि त्यसै आउँदैन, भौतिक विकासलाई मात्रै प्राथमिकता दिएर समृद्धि आउँदैन, जनशक्ति सीपयुक्त हुनुपर्छ।’ पोखरेलले भूबनोट (पर्यटन), डिजिटल प्रविधि, हरित अर्थतन्त्र, बजारमा पहुँच र जनशक्ति क्षमताजस्ता आधारले सूर्योदय नगर आर्थिक समृद्धिमा लम्किने बताए।

चिया उद्योगी उदय चापागाईंले गुणस्तरीय चियाको बजार विश्वमा राम्रो रहे पनि किसानलाई प्रोत्साहन नभएको बताए। ‘म चालीस वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय चिया खेतीमा छु,’ उनले भने, ‘म जसोतसो आफ्नो उत्पादनको बजार आफैं बनाउँदैछु, धेरै किसानलाई पनि सँगसँगै डोर्‍याइरहेको छु। तर, किसानले जति उत्साह पाउनुपर्ने हो, त्यो पाउन सकेनन्।’ उनले तीनै तहका सरकार र सरोकारवालाले चियालगायत कृषिको सम्भावनालाई योजना बनाएर कार्यान्वयन गर्न सक्दामात्रै देश समृद्धि पथमा अघि बढ्ने बताए।

सूर्योदय उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले किसान, कामदार र उद्यमीको कामको सम्मान हुनुपर्ने बताए। ‘जो उद्यम गर्छ, उसको सम्मान अहिलेको आवश्यकता हो,’ उनले भने, ‘नेपाली युवा विदेश गएर जुन काममा दत्तचित्त भएर लाग्छन्, यहाँ त्यही काम गर्दा अपमानित अनुभूत हुने अवस्था अन्त्य हुनुपर्छ।’

राईले नेपालको पूर्वी भारतीय सीमामा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्नु नाफा–घाटाको मात्रै विषय नभएर दुई देशबीचको कूटनीतिक सम्बन्धको सेतु पनि हुनुपर्ने बताए। तर, यहाँ स्थापना गरिएको अध्यागमन कार्यालय केही समयअगाडि सीमा प्रशासन कार्यालयसँगै रहनेगरी व्यवस्थापन गरिएको थियो। भारतले सीमापारि त्यही प्रकृतिको कार्यालय नै नखोलिदिएपछि अध्यागमन कामविहीन भएको थियो।

फिक्कल माविका प्रधानाध्यापक गंगा महतले स्वदेशमै रोजगारी गर्ने वा स्वरोजगार बन्ने खालको पाठ्यक्रम पढाइ हुनुपर्ने बताए। ‘हामीले पढाएका विद्यार्थी किन धमाधम विदेश ताकिरहेका छन्? समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘देशलाई नै आवश्यक पर्ने जनशक्ति उत्पादन गरी समृद्धि यात्रामा लाग्नुपर्छ।’ 

संघले सूर्योदय नगरका टोलमै पुगेर आर्थिक समृद्धिका आधार र सम्भावनाबारे अध्ययन गरेको संघ महासचिव तोयानाथ भट्टराईले बताए। ‘कृषिमा समुन्नत मानिने सूर्योदयको समृद्धिका आधारबारे निकै महत्त्वपूर्ण जानकारी अध्ययनक्रममा पाइएका छन्,’ उनले भने, ‘तीनै आधारमा टेकेर नीति निर्माण गरी अघि बढ्दा रोजगारीका अवसर यहीं सिर्जना हुनेछन्, आर्थिक विकासका ढोका खुल्नेछन्।’  

इलामसहित पूर्वी पहाडका किसानले उत्पादन गरेको कृषिउपजको बजार निश्चित छैन। यहाँ उत्पादित अलैंची, अदुवा, कुचो, चिया, मटरलगायत सबैजसो नगदेबालीको बजार भारत हो। र, तेस्रो मुलुक जाने कृषि उत्पादनले पनि भारतकै बाटो तय गर्नुपर्ने अवस्था छ। कहिले भारतमै पर्याप्त उत्पादन भएको त कहिले भारतीय पक्षले विषादी प्रयोग वा गुणस्तर अभावको कारण देखाएर नेपाली कृषिउपजको आयात रोकिदिने गरेकाले किसान–व्यवसायी सधैं पीडामा छन्। न किसानको उत्पादनको मूल्य निश्चित छ, न बजार नै। भारतीय व्यापारीको ‘सनक’ ले नै पनि नेपाली कृषिउपज नाकामै रोकिने समस्यासमेत बेलाबेला आइलाग्छ। विभिन्न निहुँ भिकेर भारतीय पक्षले चिया, अदुवालगायत नगदेबाली बोकेर पुगेका कन्टेनर नाकामै रोकिदिएका, नाकाबाट फर्काएका उदाहरण पनि छन्।  

कृषिउपजलाई अर्गानिक वा गुणस्तरीय प्रमाणित गर्ने भरपर्दो निकाय नै नहुँदाको पीडा उत्पादकले भोगिरहेका छन्। ‘आफूले मेहनत गरेर उत्पादन गरेको वस्तु गुणस्तरीय छ भनेर प्रमाणित गर्न चाहिँ उत्पादन गर्नभन्दा बढी खर्च हुन्छ,’ चिया किसान बुद्धि राई भन्छन्, ‘कमसेकम कृषि उत्पादनलाई गुणस्तरीय छ कि छैन भनेर संसारले पत्याउनेगरी जाँच गर्न त नेपालमै पाइयोस्।’ सरकारले जारी गरेको नेपाली चियाको लोगो ‘नेपाल टी: क्वालिटी फ्रम दि हिमालयज’ पनि अहिले प्रयोगविहीनजस्तै भएको छ।

प्रकाशित: ७ असार २०८२ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App