शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा यहाँको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नौ लाख १३ हजार रूपैयाँ खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएको बताए। एम्बुलेन्स बिग्रिएर नचल्ने अवस्थामा पुगेपछि शववाहन बनाइएको थियो।
अध्यक्ष शेर्पाको मागअनुसार शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बालाई शववाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शववाहन सञ्चालन गर्न सम्भव भएको हो।
गाउँपालिकाले सहयोग गर्ने शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक उद्यान निर्माणमा समेत सहयोग गर्ने भएको छ।
यसअघि शववाहन नहुँदा परीक्षण गर्नुपर्ने शव ट्र्याक्टरमा मृतकका आफन्तले महँगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो। जुनसुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महँगो रकम लिने गरेको थियो। शववाहन सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलो पालिका हो। जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन। खिजीदेम्बामा पाँच एम्बुलेन्स सञ्चालमा छन्।
प्रकाशित: ५ असार २०८२ १०:२७ बिहीबार