संसारभर नै छोरा वा छोरी जन्माउने छनोट कसैलाई दियो भने अधिकांशको छनोट छोरा नै हुन्थ्यो। शताब्दिऔंपछि यस किसिमको पूर्वाग्रह क्रमशः घट्दै गएको मात्र होइन, कतिपय ठाउँमा त छोराका ठाउँमा छोरी नै उपयुक्त हुने धारणा विकसित हुन थालेको एउटा अध्ययनले देखाएको छ।
चीन र भारत (नेपालमा पनि) छोरा जन्मनुलाई गर्वका साथ लिइन्थ्यो। अचेल छोरीप्रति अभिभावकहरू सकारात्मक हुन थालेका छन्। छोराको चाहमा धेरैले गर्भपतनसमेत गराउँथे।
यसरी छनोटपूर्ण तरिकाले गरिएको गर्भपतनका कारण हरेक वर्ष लाखौं छोरीहरू हराउन थाले। अर्कोतर्फ पश्चिमा मुलुकहरूमा बाबुको थर आउँदो पुस्तामा सार्ने चलन पनि बद्लिन थालेको छ। कतिपयले आमाको थरलाई प्राथमिकता दिन थालेका छन्।
प्राकृतिक रूपमा प्रत्येक एक सय छोरी जन्मदा १०५ छोरा जन्मने गर्छन्। छोराहरू वयस्क हुञ्जेलसम्म उनीहरूको मृत्युदर छोरीको तुलनामा कम हुने गरेको छ।
सन् १९८० मा अल्ट्रासाउण्ड सस्तिन थालेपछि बाबुआमाले आफूले जन्माउन चाहेको लिंग छनोट गर्न थालेपछि नाटकीय रूपमा छोरीको संख्या घट्न पुगेको थियो। सन् १९९० यता जन्मिएका २१ करोड ६० लाख छोरीहरूको हत्या भएको अनुमान गरिएको छ।
एउटा अध्ययनअनुसार पछिल्लो समयमा भने छोराका साटो छोरी छनोट गर्ने क्रम बढ्दै जान थालेको छ। छोरी हत्या क्रम घटेर सन् २०२५ मा जम्मा एक लाख ७ हजारमा झरेको छ। जबकि सन् २००० ताका छोरी हत्या दर प्रतिवर्ष ८ लाख ६ हजारसम्म पुगेको थियो।
दक्षिण कोरियामा सन् १९९० को दशकमा सय छोरी जन्मिदा ११७ छोरा जन्मने गरेका थिए। चीन र भारतमा क्रमशः १११ र १०७ छोरा जन्मिदा एक सय छोरी जन्मन्थे। सन् २०२३ मा जर्नल डेमोग्राफिक रिसर्चको अध्ययनअनुसार यूरोपेली मुलुकमा पनि छोरीप्रतिको धारणा परिवर्तन हुन थालेको छ। यूरोपमा प्रायः जेठी छोरी जन्मिए अर्को सन्तान छोरा नै जन्माउने चलन थियो। पछिल्लो समय छोरी नै जन्मिए पनि दोस्रो सन्तान जन्माउनेतर्फ अभिभावकको खासै चासो हुन छाडेको छ।
यस्तै फिनल्याण्डमा सन् १९८० को दशकमा पहिलो सन्तान छोरी जन्मिए पारपाचुके हुने सम्भावना बढी हुन्थ्यो। सन् १९९० पछि भने त्यो क्रम निकै घटेको अध्ययनले देखाएको छ। हालै दि इकोनमिस्ट पत्रिकाले गरेको अध्ययनअनुसार, जापानी जोडाले पहिलो सन्तान छोरी नै भए पनि अर्को सन्तान नजन्माउने निधो गरेको सन् १९८२ देखि नै हो। उनीहरूमा छोरी मोह त्यो बेलादेखि नै बढ्दो देखिएको छ। पछिल्लो समय अमेरिकामा आइभीएफ प्रविधिबाट सन्तान जन्माउनु पर्दा छोराको साटो छोरी नै रोज्ने चलन बढेको देखाएको छ।
छोरीप्रतिको अनुराग किन बढिरहेको छ त? विज्ञहरू भन्छन्, ‘छोराको तुलनामा छोरी हुर्काउन सजिलो छ।’ लैंगिक असमानताका कारण चीनमा आफ्ना छोराहरूको बिहे नभई एक्लो हुने डरका कारण बरु छोरी नै रोज्न थालेको देखिन्छ।
बेलायतमा छोराहरूलाई हुर्काउन सामाजिक रूपमा कठिन छ। कोभिड १९ पछि त युवाहरूलाई जागीर पाउन निकै गाह्रो भइरहेको छ। यो उमेर समूहका ४० प्रतिशत छोरा बेरोजगार हुन थालेका छन्। जबकि छोरीहरूको बेरोजगारी दर जम्मा ७ प्रतिशत मात्र रहेको द टाइम्सले जनाएको छ।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ५ असार २०८२ ०९:५० बिहीबार