नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन्।
आइतबार संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको सवालजवाफ कार्यक्रममा सहभागी हुने क्रममा अचानक अस्वस्थ भएपछि उनलाई धुम्बाराहीस्थित हेम्स अस्पताल पुर्याइएको थियो।
अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गराएपछि अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाहबमोजिम उनी आइतबारै घर फर्किएका हुन्।
उनको सचिवालय (सरोज केसी) ले भनेका छन्, ‘नेपाली कांग्रेसका आदरणीय नेता माननीय अर्जुननरसिंह केसी आजको संसदमा प्रधानमन्त्रीसँग सवाल जवाफ कार्यक्रममा सहभागी भइरहँदा केही अप्ठ्यारो महसुस भई अस्वस्थ भई हेम्स अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ हुनुहुन्थ्यो। अस्पतालमा सम्पूर्ण जाँच गरी स्वास्थ्य अवस्था सामान्य भएकोले डाक्टरको सल्लाह बमोजिम उहाँलाई घरमै बसी आराम गर्न मिल्ने भएकोले डिस्चार्ज हुनुभएको छ। उहाँको स्वास्थ्य सामान्य रहेको व्यहोरा अवगत गर्दछु।’
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा नेता केसीले उभिएर प्रश्न सोध्न सुरु गरेका थिए। तर, सोध्ने क्रममा अचानक शरीर कामेपछि उनले बसेर प्रश्न अगाडि बढाएका थिए।
केसीले संसदमा जेनजी आन्दोलन र गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। साथै, मानव अधिकार आयोगले बुझाएको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ र दोषीमाथि कारबाही कहिले सुरु हुन्छ? भनेर पनि प्रश्न गरेका थिए।
नेता केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न कालखण्डमा बुझाइएका प्रतिवेदनहरूको सरकारले एकमुस्ट अध्ययन गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रकाशित: १८ जेष्ठ २०८३ ०७:१७ सोमबार





