२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सुनसरी-सिरहा घटनाको विरोधमा मलंगवा बन्द, हिन्दु सम्राट सेनाको प्रदर्शन

प्रशासनद्वारा संयमता अपनाउन आग्रह

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएको घटनाको विरोधमा हिन्दुवादी संगठन हिन्दु सम्राट सेनाले शुक्रबार बिहानदेखि सदरमुकाम मलंगवा बजार बन्द गराएको छ।

सर्लाही सदरमुकाम मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले बजार बन्द गराउँदै विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गर्दै संगठनले बिहीबार साँझ मलंगवामा मशाल जुलुससहित प्रदर्शन गरेको थियो। सोही आन्दोलनको निरन्तरता स्वरूप शुक्रबार बिहानदेखि बजार बन्द गराइएको संगठनका अध्यक्ष कृष्णा यादवले बताए।

अध्यक्ष यादवका अनुसार सुनसरी र सिरहामा भएका घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। आन्दोलन शान्तिपूर्ण भए पनि माग पूरा नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने उनले संकेत गरेका छन्।

यता, सम्भावित तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न, अफवाह फैलाउने गतिविधिबाट टाढा रहन र कानुनको पालना गर्न सबैसँग अपिल गरेको छ।

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सुरक्षा सतर्कता बढाइएको जनाएको छ भने कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: १५ श्रावण २०८३ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App