१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

नेपालमा ‘मलाहा बिरालो’ बढीमा पाँच सय

<br>

नेपालमा ‘मलाहा बिरालो’ बढीमा ५ सय रहेको तथ्य सार्वजनिक गरिएको छ।

नेपालमा पाइने १३ वटा जङ्गली बिरालो प्रजातिहरूमध्ये ‘मलाहा बिरालो’ चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्य जन्तु आरक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढी रहेको जानकारी दिइयो।

नेपालबाट पहिलो पटक ‘मलाहा बिरालो’ मा विद्यावारिधि गरेकी रमा मिश्रका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९ देखि २५ वटासम्म भेटिएका छन्।

मिश्रले स्नातकोत्तर गर्ने क्रममा सन् २०१२ मा गरेको अनुसन्धानका बेला ती ‘मलाहा बिरालो’ फेला परेका हुन्। यस्तै, कोशी टप्पुमा सन् २०२१ को अनुसन्धानमा २० वटा भेटिएको उनले बताइन्। शुक्लाफाँटामा सन् २०२१ मै गरिएको अनुसन्धान अनुसार ९ वटा भेटिएका थिए। 

वाइल्ड केयर नेपाल संस्थाको आयोजनामा ‘मलाहा बिरालो’ बारे कोशी टप्पु वन्य जन्तु आरक्षमा आयोजित कार्यक्रममा मिश्रले ‘मलाहा बिरालो’ समुन्द्र सतहदेखि तीन सय मिटर उँचाइसम्म पाइने गरेको बताइन्।

वाइल्ड केयर नेपालका डाइरेक्टर समेत रहेकी मिश्रका अनुसार यो ‘मलाहा बिरालो’ मोरङ, महोत्तरी, कपिलवस्तु, बर्दियादेखि पश्चिमलगायतका स्थानमा पाइन्छ। मिश्रले सन् २०२० बाट विद्यावारिधि प्रारम्भ गरेर सकेकी हुन्।

अहिलेसम्मको अध्ययनका क्रममा ‘मलाहा बिरालो’ झण्डै ३२ प्रतिशत काँसघारी तथा पटेरी क्षेत्रमा भेटिएका छन्। यस्तै, २७ प्रतिशत पानी भएको क्षेत्रमा र बाँकी कृषि वा खेतबारीमा भेटिएका छन्।

नेपालसहित विश्वका भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, कम्बोडिया, थाइल्याण्ड र म्यानमार गरि आठवटा राष्ट्रमा ‘मलाहा बिरालो’ पाइन्छ। ‘मलाहा बिरालो’ को मुख्य थ्रेट भनेको मानव हो। साथै, वासस्थान विनाश, माछाको कमी र अन्य शिकारीहरूबाट खतरा हुने गरेको  छ।

‘मलाहा बिरालो’ को प्रमुख आहार भ्यागुता, किरा, साना स्तनधारी, सर्प र चरा समेत हुन्। ‘मलाहा बिरालो’ को संरक्षणका लागि कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनले कार्यक्रममै समेट्ने वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले बताए।

उनका अनुसार ‘मलाहा बिरालो’ संरक्षणका लागि मानवीय सचेतना पनि आवश्यक छ। ‘कतिपयमा मलाहा बिरालोले स्थानीय किसानका पोखरीको माछा खान्छ भन्ने सोचले पनि विभिन्न उपाय अपनाएर मार्न सक्ने खतरा छ,’ उनले भने, ‘त्यही भएर स्थानीयमा सचेतना फैलाउनु आवश्यक छ।’

प्रकाशित: ३१ जेष्ठ २०८२ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App