२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य जाँच

काठमाडौं महानगरपालिकाले विशेषज्ञसहित निःशुल्क मानसिक स्वास्थ्य जाँच सुरु गरेको छ। यो सेवा प्रत्येक आइतबार र बुधबार बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ।

महानगरको स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’जस्ता मानसिक रोग र रक्सी तथा लागुऔषधको कुलतमा फसेकाहरूलाई लक्षित गरी जाँच सुरु गरेको हो।

वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाइने मानसिक समस्याबारे खुला उपचारको वातावरण बनाएर जोखिम कम गर्न यो कार्यक्रम सुरु भएको बताए।

पाटन अस्पतालका मनोचिकित्सक डा. अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक र निद्रा नलाग्ने, बारम्बार दिशा–पिसाब हुने जस्ता लक्षण मानसिक समस्याका संकेत भएको बताए।

समयमै पहिचान गरी नियन्त्रण बाहिर जानुअघि समाधान खोज्न सकिने उनको भनाइ छ। ‘सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखी हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुजस्ता परिवर्तनले मानसिक समस्या देखाउन सक्छ,’ डा. पराजुलीले भने।

पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले मानसिक समस्यालाई लुकाउने प्रवृत्तिले रोग बढ्ने र ठूला अस्पतालमा बिरामीको चाप बढिरहेको बताए। वडास्तरको विशेषज्ञ जाँचले अस्पतालको भार कम हुने र सेवा गुणस्तरीय हुने उनको भनाइ छ।

विश्वासिलो व्यक्तिसँग कुरा गर्ने, परामर्शदातासँग सल्लाह लिने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्ने जस्ता अभ्यास गर्नुपर्ने भण्डारीले सुझाए।

‘सन्तुलित खानपान गर्नुपर्छ। दैनिक करिब १ घण्टा व्यायाम गर्नुपर्छ। मोबाइल, ल्यापटपजस्ता उपकरणको प्रयोग कम गर्नुपर्छ। करिब ८ घण्टा सुत्नुपर्छ। हानिकारक पदार्थ प्रयोग गर्नुहुँदैन। समस्या आएमा मनोविद् र मनोचिकित्सकको सुझाव लिनुपर्छ। आफूलाई नियन्त्रण गर्ने अभ्यास पहिलो उपचार हो,’ उनले भने।

मानसिक स्वास्थ्यका लक्षण, असर र समाधानबारे सन्देश फैलाएर समस्याको जोखिम कम गर्न, जाँच र परामर्शमार्फत व्यक्तिको अवस्था पत्ता लगाई उपचार गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन भएको महानगरले जनाएको छ। रासस

प्रकाशित: ३१ जेष्ठ २०८२ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App