२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

साथीभाइ ऋणमा बिदेसिँदा, बलबहादुरले रोजे भेडीगोठ

जुम्लाको भदाली पाटनमा आफ्ना भेडाको बथानसँगै रावत। तस्बिर: गोल्डेन/नागरिक

समकालीन युवाहरू सरकारी जागिर र वैदेशिक रोजगारीको होडमा लागिरहेका बेला सिंजा गाउँपालिका-६, भाडगाउँका २४ वर्षीय बलबहादुर रावतले भने व्यावसायिक भेडापालनमा आफ्नो भविष्य सुनिश्चित गरिरहेका छन्।

माध्यमिक तहको शिक्षा हासिल गरेका रावतले पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक स्वरूप दिँदै उद्यमशीलताको उदाहरण प्रस्तुत गरेका छन्।

अधिकांश साथीभाइ लोकसेवा आयोगको तयारी वा वैदेशिक रोजगारीका लागि प्रयास गरिरहँदा रावतले भने आफ्नो उद्यम ‘किस्मत पशुपन्छि पालन उद्योग’ मार्फत आत्मनिर्भरताको बाटो रोजेका हुन्।

१४ जनाको परिवारको आर्थिक जिम्मेवारी वहन गरिरहेका उनको भेडापालन नै आयको मुख्य स्रोत हो। उनका जेठा दाइ विद्यार्थी भिसामा जापानमा छन्, जसका लागि भएको पारिवारिक लगानी र अन्य खर्चको व्यवस्थापन यही व्यवसायबाट हुँदै आएको छ।

‘अरूका लागि यो सामान्य पेसा होला, तर मेरा लागि यो परिवारको आधार र मेरो भविष्य हो,’   रावतले भने, ‘सबै पक्षको विश्लेषण गरेरै मैले यसलाई व्यावसायिक रूपमा अघि बढाउने निर्णय गरेको हुँ।’

हाल उनीसँग १३० भन्दा बढी भेडा छन्। जसलाई निकट भविष्यमा २०० पुर्‍याउने उनको लक्ष्य छ।भेडापालन आर्थिक दृष्टिकोणले अत्यन्तै फाइदाजनक रहेको रावतको अनुभव छ। उनका अनुसार भेडाको कुनै पनि अंग खेर जाँदैन।

यस व्यवसायमा चरन क्षेत्रको व्यवस्थापन, हिउँदमा घाँसको अभाव, रोगको प्रकोप र समयमा पशु चिकित्सकको अभावजस्ता चुनौतीहरू विद्यमान छन्। यद्यपि, कर्णाली प्रदेश सरकारले लागू गरेको ‘गोठालो भत्ता’ कार्यक्रमले किसानलाई ठूलो प्रोत्साहन मिलेको छ।

५० भन्दा बढी भेडा पाल्ने किसानले मासिक १,५०० रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता पाउँछन्। जसले उपचार खर्च र अन्य व्यवस्थापनमा सहयोग पुगेको रावत बताउँछन्।

पशु सेवा कार्यालय, जुम्लाका अनुसार जिल्लामा १,७०० भन्दा बढी किसान व्यावसायिक भेडापालनमा संलग्न छन् र कुल भेडाको संख्या ८८ हजार ३८८ छ।

कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले भने, ‘भत्ता कार्यक्रमले किसानलाई हौसला प्रदान गरेको छ। अब चरन क्षेत्र विस्तार, खर्क सुधार र अन्य भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिन आवश्यक छ।’ 

प्रकाशित: २५ जेष्ठ २०८२ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App