म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण भएको ७५ वर्ष पूरा भएको छ। शनिबार साँझ नारच्याङ बेँसीमा पदयात्रा टोलीलाई स्वागत गर्दै हिरक जयन्तीको शुभारम्भ गरिएको छ।
आजदेखि सुरु हुने पदयात्रा टोलीमा अन्नपूर्णका पहिलो आरोही मौरिस हर्जोगका छोरा फ्रान्सका माथिएस हर्जोगसहित १४ विदेशी, पर्यटन व्यवसायी र पत्रकार छन्। अन्नपूर्ण–४ वडा कार्यालय, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले टोलीलाई स्वागत गरे।
माथिएस हर्जोगसँग आएका फ्रान्सेली कलाकारले पहिलो आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरे। उनीहरूले जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति दिनेछन्। माथिएस, उनका नाती इथेन हर्जोगसहित फ्रान्सका ६, बेलायतका ३, भारतका ५ र इटलीका १ जना पाहुना सरकारको निमन्त्रणामा हिरक जयन्तीमा सहभागी छन्। अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार, नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै जेठ १९ गते चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रामा करिब २०० जना सहभागी छन्।
नेपालको पर्यटन र पर्वतारोहणलाई विश्वमा चिनाउने यो दिनको सम्झनामा जेठ २२ गतेसम्म विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाइने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। ‘आरोहणको ७५ वर्षपछि सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हामी खुसी छौँ,’ उनले भने, ‘हर्जोगको टोलीले गरेको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना विश्वमा चिनिएको छ।’
यसअघि काठमाडौँ र पोखरामा अन्नपूर्ण आरोहण दिवस मनाइन्थ्यो। म्याग्दी, कास्की, मनाङ र मुस्ताङको सिमानामा रहेको अन्नपूर्ण हिमालको आरोहण मार्ग र आधार शिविर म्याग्दीको नारच्याङमा पर्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्णको शिखर चुमेका थिए, जुन आठ हजार मिटरभन्दा माथिको पहिलो मानव पाइला थियो। त्यसैले यो हिमाललाई जेठो हिमाल भनिन्छ।
जयन्तीमा जेठ १९ र २० गते मगर संस्कृतिमा आधारित पुर्ख्यौली नृत्य, झाँकी र खुला नृत्य प्रतियोगिता हुनेछ। जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आधार शिविरमा आरोहीको सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन, नारच्याङ बेँसीमा मूल समारोह, सम्मान र पुरस्कार वितरण हुनेछ।
सोही दिन आधार शिविरबाट नारच्याङसम्मको म्याराथन दौडमा म्याग्दीका ४२ धावक सहभागी छन्। जेठ २१ गते घोडेपानी पुनहिलमा पदयात्रा र २२ गते पोखरामा हर्जोगले प्रयोग गरेका उपकरण नेपाल पर्वतारोहण सङ्घको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई हस्तान्तरण गरिनेछ। साथै, हर्जोगको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन पनि हुनेछ।
यो महोत्सव अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा हुन लागेको हो। नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ मा यो पदमार्ग पहिचान भएको थियो, जसलाई गाउँपालिकाले मौरिस हर्जोग पदमार्ग नाम दिएको छ। २०७७ मा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना भएको थियो। अन्नपूर्ण चक्रीय पदमार्ग विश्वप्रसिद्ध मानिन्छ। सन्तोष गौतम र कमल खत्री / रासस
प्रकाशित: १८ जेष्ठ २०८२ ०७:३५ आइतबार





-600x400.jpg)