मधेसमा विवाहित महिलाले पतिको दिर्घायूको लागि बरको रुखमुनि पूजाआजा गर्दै वट सावित्री अर्थात् बरसाइत पर्व मनाइरहेका छन् ।
प्रत्येक बर्सझैँ यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि १२ बजेपछि विवाहित महिलाको भीड लागेको छ । यस पर्वमा महिलाहरूले नयाँ साडी, लहठी लगाई शृङ्गार गर्ने चलन छ । यस पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रूपमा लिइने गरिन्छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ।यस पर्वमा बरको बोटको महत्त्व हुन्छ । बरको बोटले वर्षौँसम्म सर्वसाधारणलाई शीतलताको छहारी दिने भएकाले पतिको दीर्घायुको लागि नारीहरू बरको पूजापाठ गर्छन् ।
जेठ महिनामा कडा घामबाट रक्षाका लागि बरको बोटमुनि पूजा गरिएको र पछि यही धार्मिक परम्पराको रूपमा विकसित भएको मानिँदै आएको छ । दार्शनिक दृष्टिबाट बरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रुपमा स्वीकार गरिएको छ । बरको बोट ज्ञान र निर्वाणको पनि प्रतीक मानिएको छ।
बरको वृक्ष मुनी पतिको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको अङ्ग बनेको छ । महिलाहरूले व्रत पूजा गरी कथा सुनेर बरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन् । लहान नगपालिका वडा नम्बर ४ बस्ने सुनिती यादवले भनिन् ‘बरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ ।’
एक दशक देखि बरसाइत पूजा गर्दै आएकी यादवले भनिन्, ‘यो व्रत पतिको जीवन रक्षा र दीर्घायुका लागि बस्ने लोक परम्परा छ । ब्रतकथाको भावले पनि यही दर्साउँछ,’ उनले भनिन् ।
वट सावित्री पर्वको कथा
बरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासँगै जोडिएको छ । सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ । सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो ।
कथाअनुसार भद्र देशको राजा अश्वपतिलाई सन्तान थिएन । उनले सन्तान प्राप्तिका लागि मन्त्रोच्चारणका साथै प्रतिदिन एक लाख आहुति दिने गर्थे । १८ वर्षसम्म यो क्रम जारी रह्यो । त्यसपछि सावित्रीदेवी प्रकट भएर राजालाई आशीर्वाद दिइन् ‘राजा तपाईँलाई एक तेजस्वी कन्या सन्तानको रुपमा प्राप्त हुनेछ ।’ सावित्रीदेवीको कृपाबाट जन्म लिएका कारण उक्त कन्याको नाम सावित्री नै राखियो ।
सावित्री असाध्यै सुन्दर र गुणवान् थिइन् । योग्य बेहुला नपाएका कारण उनका पिता एकदमै दुःखी थिए । उनले आफ्नो छोरी सावित्रीलाई आफै बेहुला खोज्न पठाए । सावित्री तपोवनमा गइन् । त्यहाँ साल्व देशका राजा द्युमत्सेन पनि बास गर्थे । उनको राज्यमाथि अर्को राजाले कब्जा गरिसकेका थिए । उनकै छोरा सत्यवानलाई देखेर सावित्रीले पतिको रुपमा स्वीकार गरी सकेकी थिइन्।
सत्यवान् अल्पायु थिए । यद्यपि सत्यवान् वेदका ज्ञाता थिए । नारद मुनिले सावित्रीलाई भेटेर सत्यवालसँग बिहे नगर्न सल्लाह समेत दिए । पतिको मृत्युको दिन नजिकिएपछि सावित्रीले घोर तपस्या गरिन् । तपस्याको तथा सतीत्वको शक्तिबाट आफ्नो पतिलाई रक्षा गर्न सफल भइन् ।
सावित्रीकै कारण यो पर्वलाई आदर्श नारीत्वको प्रतीकको रुपमा स्वीकार गरियो । बरसाइत पर्वमा सत्यवान् सावित्रीका साथै यमराजलाई पूजा गर्ने गरिन्छ । सावित्रीले यही व्रतको माध्यमले पतिलाई धर्मराजबाट जितेकी थिइन् । जसले गर्दा मिथिलाञ्चलमा यसको अति नै महत्वका साथ वट सावित्रीको पूजा आराधना गर्दै ूबरू वृक्षको पूजापाठ विधिवतपूर्वक गर्ने चलन छ ।
प्रकाशित: १२ जेष्ठ २०८२ १७:२४ सोमबार





