भक्तपुर नगरपालिकाले मापदण्डअनुसार भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरेका सात वडावासीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ। जनप्रतिनिधिको तीन वर्षे कार्यकाल पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरिएको छ।
कार्यक्रममा वडा नं. ५ का कृष्णदेवी सिबन्जारलाई ३ लाख, वडा नं. ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तमप्रसाद मधिकर्मीलाई ३ लाख, वडा नं. ५ का मनिषा साखलाई १ लाख ४ हजार ५९६, वडा नं. ९ का सुमित्रा नायभा श्रेष्ठलाई २ लाख ४४ हजार २९०, वडा नं. ५ का राधेश्याम तुल्सीबाख्योलाई १ लाख २१ हजार १७०, वडा नं. ९ का शिवप्रसाद श्रेष्ठलाई १ लाख ५ हजार ८६, वडा नं. ३ का सुलोचना धुख्वालाई ३ लाख गरी जम्मा १४ लाख ७५ हजार १४४ रुपैयाँ बराबरको काठ, इँटा र झिंगटी अनुदान रकम प्रदान गरिएको छ। नगरपालिकाले परम्परागत शैलीमा घरको मोहडा बनाउने निजी घरधनीलाई पनि अनुदान दिँदै आएको छ।
संघीय सांसद प्रेम सुवालले उनीहरूलाई नगद पुरस्कार वितरण गरेका हुन्। कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट कर्मचारी र ३० वर्ष सेवा गरेका कर्मचारीलाई कदरपत्र र दीर्घ सेवा सम्मान प्रदान गरेका थिए।
प्रकाशित: ७ जेष्ठ २०८२ ०६:२० बुधबार





-600x400.jpg)