२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौं आइपुगेको पाँच वर्षपछि सिंहदरबारमा मेलम्चीको पानी

काठमाडौं उपत्यका आइपुगेको पाँच वर्षपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा मेलम्चीको पानी पठाउन थालिएको छ। 

यतिबेला काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सिंहदरबार परिसरभित्र डिप बोरिङ गरी सिंहदरबारभित्रका मन्त्रालय, निकाय, आयोग तथा सबै कार्यालयमा पानी उपलब्ध गराउँदै आएको छ। 

यसबाहेक सिंहदरबारभित्रका अधिकांश कार्यालयले दैनिक सयौं जार तथा पानीका बोतल खरिद गरी पानीको माग टार्दै आएका छन्। जार तथा पानीका बोतल खरिदमै वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।

खानेपानी मन्त्रालयले अब सिंहदरबारपरिसरभित्र पर्याप्त मात्रामा मेलम्चीको पानी पठाएर जार र बोतललाई पूर्णरूपमा निषेध गर्ने तयारी गरेको छ। यसबाट वर्षमा पाँच करोड रुपैयाँभन्दा बढी राज्यको खर्च जोगिने छ। 

खानेपानीमन्त्री प्रदीप यादवले सोमबार मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयअगाडिको धारामा मेलम्चीबाट आएको खानेपानी धाराको औपचारिक रूपमा उद्घाटन गरेका छन्।

केयुकेएलका प्रवक्ता प्रकाश राईले एक महिनाभित्रै सिंहदरबारभित्र रहेका सबै कार्यालयमा मेलम्चीको पानी जोडिसक्ने बताए। उनका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयमा मेलम्चीको पानी जोड्ने हो र सिंहदरबारभित्र जार तथा पानीका बोतल पूर्णरूपमै निषेध गर्ने हो भने सिंहदरबारमा दैनिक १३ लाख लिटर पानी खपत हुने छ। 

अहिले सिंहदरबारभित्र दैनिक ६ लाख लिटर पानी खपत भइरहेको छ। ‘आजबाट हामीले सिंहदरबारभित्रको एक ठाउँमा मेलम्चीको पानी जोडेका छौं। एक महिनाभित्रै सबै कार्यालय र सार्वजनिक धारमा मेलम्चीको पानी जोड्ने छौं’, राइले भने, ‘अहिले त्यसको तयारी भइरहेको छ।’ 

उनका अनुसार केयुकेलका प्राविधिक कर्मचारीहरूले केही दिनदेखि सिंहदरबारभित्रका सबै कार्यालयमा मेलम्चीको धाराको नेटवर्क जोड्ने काम गरिरहेका छन्। धारा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले सिंहदरबारभित्र पठाउने मेलम्चीको पानी पूर्णरूपमा शुद्ध र सुरक्षित हुने छ।

केयुकेएलका एक प्राविधिक कर्मचारीका अनुसार पनि मेलम्चीबाट जोडिएको पानी शुद्ध र खानयोग्य हुने छ। ‘सुरुमै जाँच गरेर पानी सिंहदरबार पठाउँछौं। त्यसपछि पनि निरन्तर पानीको जाँच गरिरहने छौं’, ती कर्मचारीले भने, ‘त्यसैले मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर खान हुन्छ।’ 

२०७७ सालमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो, तर अहिलेसम्म मेलम्चीको पानी सिंहदरबार पुग्न सकेको थिएन। केयुकेएलका कर्मचारीले सिंहदरबारभित्रै पूर्वीगेटको उत्तरपट्टि वाटर ट्रिडमेन्ट पाल्ट जोडेर मन्त्रालय र कार्यालयहरूमा पानी पठाउँदै आएका थिए। त्यो पानी भनेको डिप बोरिङ गरेर तानिएको पानी हो।

गत वैशाखमा मन्त्री यादवले सिंहदरबारभित्र मेलम्ची खानेपानी वितरण प्रणालीअन्तर्गत धारा जोडिने ठाउँको अनुगमन गर्दै सिंहदरबारभित्र अब खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए। सिंहदरबार परिसरभित्र अहिले चारवटा सार्वजनिक धारा छन्। त्यहाँ पहिल्यै मेलम्चीको पाइप जोडिएको थियो, तर मेलम्चीको पानी आउने गरेको छैन।

२०८१ साल माघ १ गते प्रधानमन्त्री कार्यालयपरिसरभित्र जोडिएको एउटा धाराको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्कमल दाहालले गरेका थिए, तर त्यहाँ पानी कहिल्यै आएन। यसैगरी गृह मन्त्रालय र खानेपानी मन्त्रालयको परिसरभित्र पनि सार्वजनिक धारा जोडिएको छ, तर त्यहाँ पनि पानी आउँदैन। अब सिंहदरबार परिसरभित्र रहेका सबै धारामा पानी आउने गरी वितरण प्रणालीसँग जोडिने केयुकेलका कर्मचारी बताउँछन्। 

मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने त कहिले बन्द हुने भइरहेको छ। २०७७ सालबाट आउन लागेको पानी २०७८ सालमा आएको वर्षाले बन्द गरायो। २०८० सालसम्म मेलम्चीको पानी बन्द भयो। २०८० माघ १ बाट फेरि मेलम्चीबाट पानी आउन सुरु गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०८२ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App