२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

आगलागीको प्रमुख कारण : ग्यास र विद्युत्!

काठमाडौं महानगरपालिका-२४ मखनटोलस्थित एक घरमा गत बुधबार बिहान भएको आगलागीमा परेर काभ्रेपलान्चोककी ८० वर्षीया विष्णु अधिकारीको मृत्यु भयो। ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिकैको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा फैलिएको थियो।

जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी छ दमकलको सहायताले करिब ३ घण्टापछि आगो नियन्त्रण नियन्त्रणमा आएपछि थप भयानक जोखिम निम्तन पाएन।

ग्यास लिकबाट सुरु भएको यो आगो निभ्न नपाउँदै बिहीबार बिहान काठमाडौंको सतुङ्गलस्थित कपडा गोदाममा आगो लागेको छ। बिहान ५ः२० बजेतिर लागेको आगो ६ वटा दमकल र एक दर्जनभन्दा बढी पानी ट्याङ्कर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए।

यी दुई वटा आगो त  नियन्त्रणमा आए तर आगालागिका घटना र यसबाट निम्तने सक्ने जोखिमले सबैलाई तर्साएको छ। मखन गलीमा लागेको आगो नियन्त्रणमा भएको ढिलाइले छिमेकीहरू आत्तिएका थिए। ‘सहरको मध्य भागमा लागेको आगो नियन्त्रण गर्न धेरै समय लाग्दा हामी आत्तिएका थियौं,’ आगलागी भएको घरनजिकै डेरा गरिबस्ने प्रमीला थापाले भनिन्, ‘सिङ्गो बस्ती नै सखाप होला भन्ने डर लागेको थियो।’  

'अहिले आगलागीको मुख्य कारण मुलुकभर नै ग्यास र विद्युत् देखिएको छ। ग्यास लिक भएर तथा विद्युत् सर्ट भएर आगलागी भएका हजारौं घटना घटेका छन्। यसको न्यूनीकरणको लागि जनचेतना महत्त्वपूर्ण हो,’ प्रवक्ता रामबहादुर केसी

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्याल साँघुरा गली भएको कारण दमकल पुग्न केही समस्या भएको स्वीकार्छन्। ‘साना गली छन्, त्यो दिन बाटो पनि बन्दै रहेछ,’ उनले भने, ‘त्यही भएर सोचेभन्दा केही समय दमकल ढिलो पुग्यो।’ सूचना आएको दुई मिनेटमै दमकल हिँड्ने भए पनि बाटोमा हुने जामका कारण समस्या आउने गरेको उनी स्वीकार्छन्। ‘आगलागीको समयमा मिनेटको महत्त्व हुन्छ,’ उनले भने, ‘तर सडकमा हुने अवरोध र जामका कारण समय यत्तिकै खेर जान्छ।’

उनले पछिल्लो समय सहरमा ग्यास र विद्युत् सर्टका कारण आगलागीका घटना बढ्ने गरेको सुनाए। ‘ग्यास लिक भएर विद्युत् सर्ट भएर आगलागीको घटना बढेको छ,’ उनले भने, ‘यसमा सुरक्षासम्बन्धी चेतना जगाउनु पनि जरुरी छ।’

साँघुरा सडक-गल्ली, घना बस्ती, पानीको अभाव, गुणस्तरहीन विद्युतीय सामग्री, असुरक्षित पेट्रोल पम्प, आगो नियन्त्रण गर्ने साधन र जनशक्ति अभाव, भवन स्वरूप र निर्माण सामग्री आगलागीका मुख्य जोखिम हुन्। त्यस्तै घनाआवादी भएको भएको, घरहरूमा काठको धेरै प्रयोग गरिएको तथा मानिस ओहोरदोहोर गर्न पनि गाह्रो हुने गल्लीका कारण आगलागी नियन्त्रणमा समस्या आउने गरेको छ। अनि पानीको ठुलो र भरपर्दो स्रोत नभएका धेरै स्थानहरू नेपालका सहरी क्षेत्रमा छन्। त्यस्ता स्थानहरू जहिले पनि आगलागीको जोखिममै रहने अर्यालको बुझाइ छ।

सहरी क्षेत्रमा अगालागीको प्रमुख कारण ग्यास सिलिन्डर बन्दै गएको छ। नेपालमा ग्यास सिलिन्डरको गुणस्तरको मापन गर्ने र नियमन गर्ने गरिएको पाइँदैन। निम्न गुणस्तरीय सिलिन्डर र पाइपहरूको प्रयोगले गर्दा आगलागी हुने र नियन्त्रण गर्न गाह्रो भएको पाइन्छ। ‘ग्यासको सुरक्षासम्बन्धी चेतना जगाउने काम ग्यास कम्पनीको पनि हो,’ अर्याल सुनाउँछन्, ‘तर त्यो प्रभावकारी ढङ्गबाट हुन सकिरहेको छैन।’  

आगलागीले राजधानी सहरलाई मात्र हैन, सिङ्गो मुलुकलाई पोलेको छ। सहरमा ग्यास लिक भएर आगलागी भएजस्तै  गाउँमा अगेनाको आगो उडाएर पनि बस्ती सखाप हुने गरेको देखिन्छ। तराई क्षेत्रमा त हरेक वर्ष आगोले बस्तीहरू जोखिममा पर्ने गरेका छन्। तर पछिल्लो समय गाउँघरमा पनि ग्यासको प्रयोग बढेको देखिन्छ।  

‘अहिले आगलागीको मुख्य कारण मुलुकभर नै ग्यास र विद्युत् देखिएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी भन्छन्, ‘यसको लागि जनचेतना महत्त्वपूर्ण हो।’  

'जलनका घटनामा खुल्ला आगो बाहेक ग्यास र विद्युत् कारण देखिएकाले ग्यास र विद्युतका सरोकारवालाको पनि चेतना फैलाउन काममा भूमिका रहन्छन्। ग्यास कम्पनी र विद्युत् प्राधिकरणले मिलेर समाजमा सचेतना जगाउने काम गर्नु नैतिक दायित्व हो,' अभियन्ता उज्वलविक्रम थापा

पहिला-पहिला सुख्खा समयमा मात्र हुने आगलागी अहिले वर्षा तथा चिसो समयमा पनि सामान्य भएको छ। ‘यसको प्रमुख कारण हो, घरको चुलोबाट सुरु हुने आगलागी। अब ग्यास सिलिन्डर, बिजुली सर्ट आदिका कारण धेरै हुन थालेको छ,’ उनले भने, ‘जसले गर्दा जुनसुकै बेला पनि आगलागी हुनसक्छ।'

अझ गर्मी याममा त आगलागीको जोखिम झनै बढ्छ। विशेष गरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ। सहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले आगलागी हुने गरेको उनको बुझाइ छ। अनि ग्रामीण क्षेत्रमा चुलो बाल्दा, गाईबस्तुलाई कुँढो पकाउँदा बलेको आगो छोडेर हिँड्दा, आगो ताप्दा वा बाहिरी झिल्का परेर पनि आगलागीका घटना हुने गरेको उनी सुनाउँछन्।

नेपाल सरकारको २०७० देखि २०८० सम्मको एक दशकको तथ्याङ्क अनुसार यो अवधिमा २३ हजार वटा आगलागीका घटना भएका छन्। २०७० साउन १ देखि २०८० चैत ५ गतेसम्मको तथ्यांकअनुसार हालसम्म २३ हजार १४२ वटा आगलागीका घटनाहरू भएको देखिन्छ।  

आगलागीका घटनाहरू मध्ये वनमा लाग्ने डढेलोका घटनाहरूमा उच्च वृद्धि देखिएको छ। १० वर्षमा डढेलोका कारण २३ अर्बको क्षति, ८७५ जनाको मृत्युको तथ्याङ्कमा उल्लेख छ। त्यसै गरी सोही अवधिमा आगलागीमा १३ हजार पूर्वाधारमा क्षति, ७ हजार बढी चौपाया नष्ट भएको उल्लेख छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको पछिल्लो तथ्याङ्कमा अनुसार  २०८१ श्रावण १ गतेदेखि २०८१ चैत्र मसान्तसम्म देशभर आगलागीका २ हजार ८ सय ४८ वटा घटना घटेका छन्। यसबाट ५० जनाको मृत्यु ४ सय ४ जना घाइते भएको उल्लेख छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०८१ श्रावण १ गतेदेखि २०८१ चैत्र मसान्तसम्म देशभर आगलागीका २ हजार ८ सय ४८ वटा घटना घटेका छन्। यसबाट ५० जनाको मृत्यु ४ सय ४ जना घाइते भएका छन्। त्यस्तै ५ सय २५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २६५ घरमा आंशिक क्षति पुगेको उल्लेख छ। यो अवधिमा भएका आगलागीको घटनामा ३ हजार ३ स सय ५२ परिवार प्रभावित बनेका छन् भने १ अर्ब ४४ करोडभन्दा बढीको क्षति उल्लेख छ।  

आगलागीमा ५ सय २२ गोठ जल्दा १ हजार ३ सय ८९ ओटा पशुचौपायाको क्षति भएको तथ्याङ्कमा उल्लेख छ।

घरायसी आगलागीका मुख्य कारणः  

मानवीय लापरबाही र असावधानी प्रमुख कारक हुन्। विद्युत् सर्किट र उपकरणसम्बन्धी समस्याहरू जस्तै पुराना वा बिग्रिएका विद्युतीय उपकरण, सर्ट सर्किट तथा ओभर लोडका कारण आगलागी हुन सक्छन्। त्यस्तै ग्यास सिलिन्डरको लिक तथा चुलोको असावधानीपूर्वक प्रयोगले पनि आगलागीको जोखिम बढाउँछ।  

आगलागीबाट कसरी जोगिने?  

घरायसी आगलागीबाट जोगिनका लागि सावधानी अपनाउनु अति आवश्यक भएको प्रवक्ता केसी बताउँछन्। सबैभन्दा पहिला घरका सबै विद्युत् उपकरण र तारहरूको नियमित जाँच तथा मर्मत गर्नुपर्ने र यसका लागि दक्ष प्राविधिकको सहयोग लिनुपर्ने उनी सुझाउँछ। त्यस्तै पुराना तार तथा उपकरणलाई मर्मत गरी सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ साथै ओभर लोड हुन नदिन विशेष ध्यान दिनु आवश्यक रहेको केसी बताउँछन्।  

अनि ग्यास सिलिन्डर र चुलोको प्रयोगमा अत्यधिक सावधानी अपनाउनु पर्छ। ग्यास सिलिन्डरको लिक नियमित रूपमा जाँच गर्नुपर्ने हुन्छ भने चुलो बाल्दा सधैं सावधानी अपनाउनु आवश्यक रहेको उनी बताउँछन्।  

‘ग्यास प्रयोग गरेपछि रेगुलेटर अनिवार्य रूपमा बन्द गर्नुपर्छ। हरेक वर्ष ग्यास पाइप फेर्नुका साथै मान्यता प्राप्त रेगुलेटर, ग्यास पाइप र सिलिन्डरको म्याद जाँच गरेर मात्र खरिद गर्नुपर्छ,’ उनले भने, ‘चुलो बाल्दा नजिकै कुनै प्रज्वलनशील वस्तु राख्न हुँदैन।’  

 घरमा आगलागी भएमा के गर्ने?

यति हुँदाहुँदै पनि पनि आगलागीको अवस्थामा पहिलो कुरा शान्त र सजग रहनु आवश्यक रहेको विपद्विज्ञ केसीको बुझाइ छ। उनी डराउनु वा हतास हुनुको सट्टा स्थिति मूल्याङ्कन गरी तुरुन्तै उपयुक्त उपायहरू अपनाउनुपर्ने सुझाउँछन्।  

आगो लागेको सङ्केत देख्ने बित्तिकै सबै घरका सदस्यहरूलाई सावधान गराउने र तुरुन्तै दमकल सेवामा खबर गर्ने र आगो लागेको थाहा पाएपछि सकेसम्म छिटो सुरक्षित ठाउँमा निस्किने, बाहिर निस्कनुअघि ग्यास तथा विद्युत् आपूर्ति बन्द गर्ने उनी बताउँछन्।  

आगो कहाँबाट सुरु भएको हो, त्यसको पहिचान गर्नु महत्त्वपूर्ण हुने बताउँदै यदि आगो चुल्हो वा ग्यास सिलिन्डरबाट लागेको छ भने तुरुन्तै ग्यास आपूर्ति बन्द गर्नुपर्ने उनी सुझाउँछन्। विद्युत् सर्किटबाट आगलागी भएको हो भने बिजुलीको आपूर्ति तुरुन्तै बन्द गर्नुपर्ने उनी बताउँछन्।  

यदि आगो सानो छ भने आगो निभाउने उपकरण प्रयोग गर्नुपर्छ। यस्ता उपकरण नभए पानी प्रयोग गर्न सकिने बताउँदै तर ग्यास वा विद्युत् स्रोतबाट लागेको आगोमा पानी प्रयोग गर्न नहुने उनले सुझाए।

पछिल्लो समय मुलुक सङ्घीयतामा गइसकेका कारण स्थानीय सरकारको पनि जिम्मेवारी रहेको उनी बताउँछन्।  

उनले भनेजस्तै यसको लागि काठमाडौं महानगरपालिका भने आफ्नो काममा अघि बढिसकेको छ। महानगरमा ६ वटा दमकल रहेको र एक वर्षभित्र साना ३ वटा दमकल किन्ने तयारीमा जुटेको विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले बताए। ‘साँघुरा गलीमा ठुला दमकल छिर्न समस्या भएको देखेर साना दमकल किन्ने तयारीमा जुटेका हौ,’ उनले भने, ‘साना दमकल पनि नछिर्ने ठाउँमा पानी पास गर्ने पाइप लाइनको व्यवस्था गरिसकेका छौं।’  

आगलागी धेरै अस्पताल थोरै

जलनका घटना सहरमा भन्दा गाउँमा बढी हुने तर उपचारका लागि उपत्यका बाहेक अन्य कुनै ठाउँमा पनि पोलेका बिरामीलाई लक्षित अस्पताल छैन राजधानीमा पनि शिक्षण अस्पतालमा ९, कान्तिमा २२, कीर्तिपुरमा ३५, सुषमा मेमोरियलमा २५, पाटनमा ५ वीरमा १२ गरी जम्मा ८३ बेड मात्र उपलब्ध रहेको जलनको क्षेत्रमा काम गर्दे आएका छन्।

‘मुलुकमा वार्षिक १ लाखको हाराहारीमा पोलेका घटना घट्छन्,’ उनी भन्छन्, ‘तर उपचार स्थल निकै कम रहेको छ।’ आगोले पोलेको घटनामा जतिसक्दो चाँडो उपचार हुनु पर्नेमा त्यसको अभावमा बिरामी थप समस्यामा पर्ने गरेको उनको बुझाइ छ।  

उनले राजधानीमा एउटा विशिष्ट अस्पताल र सातै प्रदेशमा जलनका उपचार हुने फरक अस्पताल खोल्नु पर्ने सुझाव दिन्छन्।  

यति मात्र हैन, जलनका घटनामा खुल्ला आगो बाहेक ग्यास र विद्युत् कारण पनि घटेकाले तिनीहरूको पनि त्यस तर्फ जिम्मेवार हुनु पर्ने उनको बुझाइ छ। ‘ग्यास कम्पनी र विद्युत् प्राधिकरणले मिलेर समाजमा सचेतना फैलाउने काम गर्न सक्छन्,’ उनले भने, ‘जलेका बिरामीको आत्मबल बढ्ने काममा सहयोग पुराउन सक्छन्।’ 

प्रकाशित: २ जेष्ठ २०८२ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App