२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

४० वर्षे गोलकिपर भोजिन्हाको कमाल : विश्वकपमा स्पेनलाई रोके, इन्स्टाग्राम फलोअर्स ११ हजार प्रतिशतले बढे !

विश्वकप फुटबल २०२६ मा एउटा यस्तो चमत्कार भएको छ, जसले खेल जगतलाई नै हैरान बनाइदिएको छ।

मंगलबार भएको खेलमा विश्व वरियताको तेस्रो स्थानमा रहेको र यस पटकको उपाधि दाबेदार मानिएको बलियो स्पेनलाई पहिलो पटक विश्वकप खेल्दै गरेको सानो टापु राष्ट्र केप भर्डेले ०-० को बराबरीमा रोक्यो।

यो ऐतिहासिक सफलताको मुख्य नायक केप भर्डेका ४० वर्षीय भेट्रान गोलकिपर भोजिन्हा (जोसिमार डायस) हुन्।

युरोपेली च्याम्पियन स्पेन खेलमा निकै बलियो टोलीको रूपमा मैदान उत्रिएको थियो। खेलभरि ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै स्पेनले केप भर्डेको पोस्टमा २७ वटा प्रहार गर्‍यो, जसमध्ये ७ वटा प्रहार सिधै गोलतर्फ लक्षित थिए। बार्सिलोनाका युवा स्टार लामिन यामाल दोस्रो हाफमा मैदान छिर्दा पनि स्पेनले केप भर्डेको रक्षापंक्ति र गोलकिपर भोजिन्हालाई तोड्न सकेन।

खेलभरि ७ वटा उत्कृष्ट बचाउ गर्दै भोजिन्हाले विश्वकप इतिहासमै सबैभन्दा बढी उमेरमा ‘क्लिन सिट’ (खेलभरि एक गोल पनि नखाई) राख्ने कीर्तिमानी गोलकिपरको रूपमा इतिहासमा आफ्नो नाम लेखाएका छन्। उनी फिफा ‘म्यान अफ द म्याच’ समेत चुनिए।

अन्तिम सिट्टी बज्दा भोजिन्हा भावुक हुँदै मैदानमै रोए। उनका अनुसार देशका लागि यो क्षण सपना जस्तै थियो। रोचक कुरा त के छ भने, मैदानको यो जादुले उनको सामाजिक सञ्जालमा पनि बाढी ल्याइदिएको छ।

विश्वकपको खेल सुरु हुनुअघि इन्स्टाग्राममा मात्र ४५ हजार फलोअर्स रहेका भोजिन्हाको खातामा खेल सकिएको केही घण्टामै फलोअर्सको संख्या ११ हजार प्रतिशत (लगभग १११ गुणा) ले बढेर ५० लाखको नजिक पुगेको छ। सामाजिक सञ्जालको इतिहासमै यति छोटो समयमा भएको यो वृद्धिलाई धेरैले अचम्मका रूपमा लिएका छन्। खेलपछिको अन्तर्वार्तामा फलोअर्सको यो बाढीबारे सोध्दा उनले केवल एउटै शब्द भने, ‘पागलपन।’

भोजिन्हाले भने, ‘म मेरो पूरा जीवन यही क्षण र सपनाका लागि काम गरिरहेको थिएँ। विगतका धेरै पुस्ताले यो दिनको सपना देखेका थिए। तर उनीहरूले पाएनन्। अहिले यो सपना साकार भएको छ।’

अफ्रिकाको पश्चिमी तटमा रहेको केप भर्डे केवल पाँच लाख जनसंख्या भएको सानो देश हो। फिफाले विश्वकपमा टोलीको संख्या ३२ बाट बढाएर ४८ बनाएपछि प्रतियोगिताको गुणस्तर घट्ने भन्दै आलोचना भइरहेको थियो। तर केप भर्डेको यो प्रदर्शनले ती सबै आलोचनालाई गलत प्रमाणित गरिदिएको छ।

केप भर्डेका प्रशिक्षक पेड्रो लेइटाओ ब्रिटोले भने, ‘यो हाम्रो देशका लागि सबैथोक हो। हामीले संगठन र साहस देखाएका छौँ। कठिनाइहरू पार गर्ने हाम्रो देशको लचिलोपनको प्रमाण नै यही हो।’

अर्कोतर्फ, स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो टोलीमा गोल गर्ने स्पष्टताको कमी भएको स्वीकार गरेका छन्। पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट व्यावसायिक फुटबल खेल्ने भोजिन्हाले सन् २०१२ देखि राष्ट्रिय टोली सम्हाल्दै आएका छन्।

अब केप भर्डेले समूह चरणका बाँकी खेलहरू उरुग्वे र साउदी अरेबिया विरुद्ध खेल्नेछ। एजेन्सीको सहयोगमा

प्रकाशित: २ असार २०८३ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App