२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

आफैँले उत्पादन गरेका प्याडको परीक्षण गरेर विद्यालयमा वितरण गर्न उपप्रमुख डङ्गोलको निर्देशन

काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तर सम्बन्धित बनाउन निर्देशन दिएकी छन्।

उपप्रमुख डङ्गोलले सामाजिक विकास विभागलाई कामपाले नै तालिम दिएका उद्यमीहरूले उत्पादन गरेका प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गरेर विद्यालयमा वितरण गर्न निर्देशन दिएकी हुन्।

यसरी उत्पादन भएका गुणस्तरीय प्याड प्रचलित खरिद कानुनबमोजिम सामुदायिक विद्यालयका छात्रालाई वितरणका लागि शिक्षा विभागसँग समन्वय गर्न उनले विभागलाई निर्देशन दिइन्। यसबाट मात्र स्थानीय उद्यमीका उत्पादनको प्रवर्द्धन हुने उनले बताइन्।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको व्यवस्था उद्धृत गर्दै उनले भनिन्, 'स्थानीय स्रोत, ज्ञान, सीप र उद्यमशील प्रवर्द्धन हुनेगरी स्थानीयस्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्ने व्यवस्था छ।'

कामपाले आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ९४६ जना छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली र विद्यालयबाट प्राप्त भएको निवेदनका आधारमा ८६ वटा विद्यालयलाई प्याड खरिदका लागि रकम पठाएको थियो।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका, २०७६ को नियम २० (६) मा स्थानीय तहले निर्णय गरेर विद्यालयमा रकम पठाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै विभागले विद्यालयमा रकम निकासा पठाएको जानकारी दिएको हो। यसरी पठाएको रकम रु एक करोड ४३ लाख ६१ हजार १२० छ।

स्व‍च्छ, गुणस्तरीय र वातावरणमैत्री रूपमा नष्ट गर्न सकिने खालको प्याड वितरण सुनिश्चित हुनुपर्ने बताइएको छ। यो शिक्षा क्षेत्रको कार्यक्रम हो। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ। यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ। यसमा एक जना कार्यपालिका सदस्य र प्रधानाध्यापक मध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ।

कामपाका सामुदायिक विद्यालयमा २०७६ सालबाट प्याड वितरण सुरु भएको हो। शिक्षा विभागका प्रमुख गोविन्द्रप्रसाद शर्माका अनुसार विद्यालयले प्याड वितरणसम्बन्धी नाम विवरण उपलब्ध गराउनुपर्छ। कतिपय विद्यालयले विवरण पठाएका छन्। कतिबाट पठाउन बाँकी छ। छात्राहरूलाई विद्यालयका सम्पर्क व्यक्तिले एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटासम्म प्याड उपलब्ध गराउने गरिएको छ। 

प्याड वितरण कार्यसँगै उक्त उमेर समूहका किशोरीलाई सहज भएको कामपाको ठहर छ।

प्रकाशित: २ जेष्ठ २०८२ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App