१ असार २०८२ आइतबार
image/svg+xml
समाज

किटमा मात्र १३ सय नेपाली, दुई अर्ब खर्च

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयलाई नेपाली विद्यार्थीले अध्ययनका लागि अर्बौं रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ। 

भारतको ओडिसा राज्यको शैक्षिक हबका रुपमा रहेको सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले स्नातक तहका कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङलगायत विषयमा अध्ययन गरी उत्तीर्ण गर्न नेपाली १९ लाख रुपैयाँभन्दा बढी तिर्ने गरेका छन्। अहिले किट विश्वविद्यालयमा करिब एक हजार तीन सय विद्यार्थी अध्ययनरत रहेका छन्। विभिन्न डिपार्टमा गरी १३ सय विद्यार्थीमध्ये करिब ११ विद्यार्थीले कम्प्युटर इन्जिनियरिङको चार वर्षे कोर्स पूरा गर्दै छन्। 

उनीहरूले होस्टलसहित खर्च १९ लाखभन्दा बढी बुझाउने गरेका छन्। अहिलेको अवस्थामा हेर्ने हो भने करिब दुई अर्ब १४ करोड ७२ लाखमाथिको रकम किट कलेजमा नेपाली विद्यार्थीले बुझाउने गरेका छन्। भारतका अन्य विश्वविद्यालयमा पढिरहेका विद्यार्थीले कति रकम तिरेका छन् भन्नेमा कुनै जानकारी छैन। किटमा मात्र होइन धेरैवटा विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्।

किटमा रहेका आधाभन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छैनन्। किटले पनि विद्यार्थी उत्तीर्ण गरेपछि दीक्षान्तको बेलामा  मात्रै एनओसी खोज्ने गरेको छ। शिक्षा मन्त्रालयले दिएको जानकारीअनुसार किटमा अध्ययन गरिरहेकामध्ये पाँच सय जनाले मात्रै एनओसी लिएका छन्।

यो पनि पढ्नुहोस्

आफ्नै नागरिकको मृत्युमा बेपर्वाह नेपाल सरकार

भारतमा अध्ययन गर्न एनओसी आवश्यक पर्दैन। तर पनि पछिल्लो समय विद्यार्थीकै सुरक्षाका लागि एनओसी लिनुपर्ने र विश्वविद्यालय शुल्क आधिकारिक माध्यमबाट पठाउनुपर्ने अवस्थामा रहेको छ। भारतले इन्जिनियरिङसम्मका विविध विषयमा छात्रवृत्ति दिँदै आएको छ। विज्ञान, प्रविधि, कृषि, व्यापार, व्यवस्थापन र मानविकी विषय अध्ययनका  लागि भारतले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएकाले पनि नेपाली विद्यार्थी आफ्नै खर्चमा जान आकर्षित हुने गरेका छन्।

भारतमा कति विद्यार्थी पढिरहेका छन् भन्नेबारे अहिलेसम्म शिक्षा मन्त्रालय बेखर रहेको छ। छात्रवृत्तिबाहेक पनि नेपाली विद्यार्थीको उच्च शिक्षाको शैक्षिक गन्तव्य भारत बन्दै गएकाले पछिल्लो समय पैसा तिरेर जाने विद्यार्थी बढेका छन्। यसले भारतको अर्थतन्त्रमा समेत सहयोग पुगेको छ।

तापनि किट विश्वविद्यालय संवेदनशील बन्न नसकेको अवस्थामा नेपाल सरकारको समेत ध्यान पुग्न सकेको देखिएन। किटमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह, प्रकृति लम्सालको शंकास्पद मृत्यु हुँदा यति ठुलो रकम खर्चेर किट पुगेका विद्यार्थीको सुरक्षाका बारे नेपाल सरकारले सान्त्वनासमेत दिन सकेको छैन।

चार वर्षदेखि विद्यार्थीको संख्या घटिरहेको छ। यस्तो किन भइरहेको छ? भन्ने हाम्रो प्रश्नमा शिक्षा मन्त्रालयका प्रवक्ता शिशिरकुमार सापकोटा नेपालका विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा ध्यान पुर्‍याउन नसकेको बताउँछन्। उनले व्यवस्थापकीय कानुनी जटिलताका कारण विद्यार्थी नेपालबाट बाहिर गइरहेका छन्। 

‘सरकारले उच्च शिक्षाका लागि कानुन बनाएर पठाउँछ र सकेको रिसोर्स दिन्छ, बाँकी कानुनको प्रयोग गरेर अध्ययन गराउनुपर्ने हुन्छ, कानुनी प्रबन्धमा स्वायत्तता व्यवस्था छ। त्यसकारण पाठ्यक्रमदेखि प्राज्ञिक प्रशासनिक व्यवस्था उसैले गर्नुपर्छ, यसमा सरकारले हस्तक्षेप गर्दैन,’ मन्त्रालयका प्रवक्ता सापकोटाले भने।

यो पनि पढ्नुहोस्

को थिए प्रिसाका चार साथी जसले सधै ‘ह्यारेस्मेन्ट’ गरिरहन्थे ?

विदेशमा विद्यार्थी अध्ययनका लागि जाने कारण विविध हुने शिक्षा मन्त्रालयका अधिकारीका अनुसार एउटा पक्षचाहिँ छात्रवृत्ति पाइन्छ भन्ने लोभ छ र यहाँ पढ्न असजिलो भएकाले पनि बाहिरिने गरेका छन्। ‘यहाँको हाम्रो मापदण्डलाई समस्या मान्ने झन्झट मान्ने समूह पनि आकर्षित भएका छन् भने अभिभावकको निरपेक्ष चाहनाका कारण पनि बाहिरिएका हुन्,’ ती अधिकारीको दाबी थियो। तर शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले यहाँको विश्वविद्यालयको गुणस्तर मन नपरेर होइन, प्राज्ञिक प्रशासनिक झन्झट र क्रेडिट ट्रान्सफर मन नपाउनेहरूको समूह देशबाहिर रहेको चाहिँ सत्य भएको बताउँछन्।

यसैगरी शिक्षाविद् काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइँटेलका अनुसार नेपालको उच्च शिक्षा सुधारमा ठुलो परिवर्तन आउन आवश्यक रहेको र स्वायत्तता निकै खुम्चिएकाले पनि विद्यार्थी नेपालमा आकर्षित हुन नसकेको बताउँछन्। ‘यो अवस्थामा नेपालका विद्यार्थीलाई नेपालमै राख्न, नेपाली विश्वविद्यालयप्रति नेपाली विद्यार्थीको सामाजिक मनोविज्ञानमा कमी हुँदै गएको छ।

विश्वास दिलाउन सकिरहेका छैनन्, विश्वविद्यालयमा सरकारको हस्तक्षेप र पार्टीहरूको हस्तक्षेपका कारणले पनि विद्यार्थीले विश्वविद्यालयलाई विश्वास गर्न सकेका छैनन्,’ प्राध्यापक लुइँटेलले भने। उनका अनुसार विश्वविद्यालयहरू शासकीय छायाबाट टाढा हुन सकिरहेका छैनन्। 

किट विश्वविद्यालयमा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले पढाउने र क्रेडिट ट्रान्सफरका लागि आह्वान गरेको थियो। केही विद्यार्थी सम्पर्कमा पनि आएका थिए। उनीहरूको क्रेडिट ट्रान्सफर हुन सकेन र उनीहरू किटमै अध्ययनका लागि पुगेका थिए।

यो पनि पढ्नुहोस्

स्थलगत रिपोर्टिङ : उजुरी नदिइ फर्कियो प्रिन्साको परिवार, अनुसन्धान अन्योलमा

नेपाल-भारत सिमानासँग जोडिएको नजिकको छिमेकी भएको र तुलनात्मक रूपमा अन्य तेस्रो मुलुकभन्दा भारतमा शैक्षिक शुल्क पनि सस्तो भएकाले नेपाली विद्यार्थीहरू आकर्षणको गन्तव्य बनेको छ। नेपालबाट किट विश्वविद्यालयमा मात्रै करिब एक हजार तिन सय विद्यार्थी अध्ययन गरिरहेका छन्। नेपालबाट भारत कुनै प्रवेशाज्ञा नचाहिने भएकाले नेपाली विद्यार्थीको विद्यालय होस् वा उच्च शिक्षा, दुवैका लागि भारत पहिलो रोजाइ हुने गरेको छ। भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले दुई देश नजिक भएकाले पनि अभिभावकले आफ्ना सन्तानलाई शिक्षाका लागि भारत पठाउने गरेका छन्।

यसरी युगौँदेखि स्थापित शैक्षिक तथा जनस्तरको सम्बन्धलाई पछिल्ला घटनाले बिथोल्ने संकेत देखिएको छ। अझ किट विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई गरेको व्यवहारले त झन् बिथोलिने त्यही अध्ययन गरिरहेका नेपालीको भनाइ रहेको छ। भारतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थी हेपिनुपर्ने र कतिले मृत्युसम्म वरण गर्नुपर्ने बाध्यता सिर्जना हुँदा अभिभावकमा मात्र होइन, विद्यार्थीसमेत चिन्तित रहेका छन्। यस्तो बेलामा किट प्रशासनले विद्यार्थीलाई काउन्सिलिङ गर्न थालेको छ। प्रकृति लम्सालको घटनामा प्रकृतिलाई ह्य्रासमेन्ट दिएका एडविक श्रीवास्तवलाई पुरानै पदमा फिर्ता गरेर पुरस्कृत गरेपछि नेपाली विद्यार्थी किट प्रशासनसामु झन झस्किएका छन्। 
(उडिसाबाट फर्केपछि...)

यो पनि पढ्नुहोस्

प्रिसा मृत्यु प्रकरण : अपराध अनुसन्धानमा देशको सीमा हुँदैन- पुलिस कमिस्नर सिंह

प्रकाशित: ३० वैशाख २०८२ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App