९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सुरौदी खोलाको कटान र पुल अभावले किसानलाई बर्सेनि पीडा

कास्की, स्याङ्जा र तनहुँ जिल्ला भएर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीयले पुलको अभाव र वर्षायाममा खोलाको कटानका कारण बर्सेनि समस्या भोग्छन्।

खोला छेउका उर्वर जमिनमा सिँचाइ सुविधा नहुँदा खेती प्रभावित छ। वर्षायाममा खोलाले कटान गर्दा लगाएको बाली भित्र्याउन सकिने अनिश्चित हुन्छ।

खोलाको कटान नियन्त्रण नहुँदा खेतीयोग्य जमिन बगर बन्दै गएको र स्थानीय समस्यामा परेको अगुवा कृषक रमेश आचार्यले बताए। कास्की, तनहुँ र स्याङ्जा भएर बग्ने सुरौदी खोलाले बर्सेनि जमिन कटान गरे पनि यसमा सरकारको ध्यान नपुगेको उनले गुनासो गरे।

‘कटान नियन्त्रण नहुँदा वर्षमा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने सधैं चिन्ता हुने गरेको छ,’ उनले भने, ‘सुरौदी खोलाको यत्रो जलसम्पदा कटान नियन्त्रणकै अभावका कारण उपयोगविहीन बनेको छ नै, यसका कारण किसानले बर्सेनि ठूलो क्षति व्यहोर्नु परेको छ।’

कटान नियन्त्रणका लागि तटबन्ध बनाउन सके सुरौदी फाँट कृषि उत्पादनको उत्कृष्ट क्षेत्र बन्ने उनले दाबी गरे। जलाधारको संरक्षण र उपयोग गर्न सके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका खेतीयोग्य जमिनमा सिँचाइ गर्न सकिने र माछापालनबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।

पुलको अभावमा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको आचार्यले बताए। तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा खेती र आवतजावतमा समस्या हुने उनले सुनाए।

पोखरा महानगरपालिका–७ डाँडागाउँ, तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ अर्वादी र खारखोला क्षेत्रका स्थानीयको बेँसी रहेको उनले बताए। वर्षायाममा खेती गर्न चुनौती हुने उनको अनुभव छ। ‘यहाँ भएका खेत पनि खोलाभन्दा वारीका मानिसको पारी र पारीका मानिसको वारी छ,’ उनले भने, ‘वर्षातमा बढ्ने सुरौदी खोलाका कारण ज्यानको जोखिम मोलेर वारपार गर्नुपर्ने वर्षौंदेखिको बाध्यतामा यहाँका किसान छन्।’

खोला तर्न पाँच–सात किलोमिटर हिँड्नुपर्ने बाध्यताले झोलुङ्गे पुल तत्काल चाहिने उनले बताए। माटेरहदेखि दराङसिङ क्षेत्रमा खोलाको कटान बढिरहेको उनको भनाइ छ।

सुरौदी खोला किनारका जमिन जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको अवस्थामा कास्की, तनहुँ र स्याङ्जाको संयुक्त प्रयास आवश्यक रहेको पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए। खोला आसपासको क्षेत्रको सीमाङ्कन नहुँदा खोलाजन्य सामग्रीको चोरी नियन्त्रणमा समस्या परेको उनले जानकारी दिए।

यो क्षेत्रमा व्यावसायिक कृषि र जल पर्यटनको सम्भावना रहेको उनले बताए। सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको जोड छ।

सुरौदी खोलाको उपयोग गर्न सके कास्कीलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने समाजसेवी यामप्रसाद पौडेलले बताए। हालै कदमबोटेदेखि फेदीसम्म कालोपत्र भएको उनले जानकारी दिए।

खोलाको धार परिवर्तनले सात दशकयता खेतीयोग्य जमिन बगर बनेको उनले बताए। कटान नियन्त्रण गरे खोला किनारमा सबै खालको उत्पादन सम्भव हुने स्थानीयको भनाइ छ। केही अगुवा कृषकले पशुपालन र तरकारीखेतीमा जोड दिएका छन्।

तिखेढुङ्गामा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा खरबुजा लगाएका छन्। लटरम्म फलेको खरबुजा बजारमा ल्याउने तयारी भइरहेको उनीहरूले बताए। युवा विदेश पलायन भइरहेको अवस्थामा उनीहरूको खरबुजाखेती उदाहरण बनेको छ।

झोलुङ्गे पुल र कटान नियन्त्रणमा सरकारले ध्यान दिए यो क्षेत्र कृषि र जल पर्यटनमार्फत आर्थिक समृद्धिको केन्द्र बन्ने उनीहरूको दाबी छ। रासस

प्रकाशित: २३ वैशाख २०८२ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App