९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण

फाइल तस्बिर

शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ। नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगर खेती लगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो।

'कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययनको कार्य गरेका छौँ,' कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले भने, 'सोही अनुसार कार्यक्रम तयार गरी लागू गर्छौं।' प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सूक्ष्म तत्वका आधारमा बालीका लागि वडागत रूपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उनले बताए।

'गत वर्ष घुम्ती माटो परीक्षण टोलीलाई नगरपालिका क्षेत्रमै बोलाएर नमूना परीक्षणको कार्य गर्यौं,' उनले भने, 'त्यसपछि कुन वडामा कुन बाली फस्टाउन सक्छ, किसानले लगाएको कुन बालीले बढी उत्पादन दिन थालेको छ, भनेर निरीक्षण, अवलोकनको कार्य गरेपछि वडागत रुपमा बालीको वर्गीकरण गरेका छौँ।'

उनका अनुसार वडा नं १,२, ३, १२ मा उखु खेती, वडा नं २,३,७,८ र ९ तरकारी  खेती र वडा नं ५,६,७,८,९ मा फलफूल, माहुरीलगायत प्राङ्गारिक खेतीका लागि उपयुक्त रहेको छ।

यसैगरी, खाद्यान्न बालीका लागि वडा नं ३,४,५,६,९,१०,११ र वडा नं ३,११ र १२ बगर  खेतीका लागि उयुक्त मानिएको छ। सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागू गर्ने योजना अघि सारिएको छ। 

सम्भाव्यता अध्ययनको कार्य अनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलु खेतीसँगै माहुरी, कुखुरा, माछा हाँसपालन कार्यक्रम, स्थानीय थारु आलु प्रवर्द्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन्।

खाद्यान्न बाली, तरकारी, च्याउ, मसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्राङ्गारिक खेती प्रणाली अपनाइ प्राङ्गारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए।

'व्यावसायिक फलफूल खेती गर्ने किसानलाई जग्गा भाडामा अनुदान, नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा सुदृढीकरण गर्ने कार्यक्रम अघि सारिएको छ,' उनले भने, 'नहर नपुगेका ठाउँमा साना सिँचाइ कार्यक्रम लागू गर्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु राख्नका लागि दुई सय मेट्रिक टन क्षमताको कोल्डस्टोर स्थापना गर्ने कार्यक्रम योजना रहेको छ।'

नगरपालिकामा कुल खेतीयोग्य जमिन पाँच हजार दुई सय ३७ दशमलव ०५ हेक्टर रहेको छ। किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ। कृषि पेसामा निर्भर किसान ९० प्रतिशत रहेका छन्। कुल सिञ्चित क्षेत्रफल तीन हजार पाँच सय ४० हेक्टर रहेको छ। रासस 

प्रकाशित: २२ वैशाख २०८२ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App