पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम तीन वर्षको ठेक्का अवधि सकिन चार महिना बाँकी हुँदा ४४.६६ प्रतिशत मात्र भएको छ। पोखरा–मुग्लिन सडकमा पर्ने यो पुलको ठेक्का भदौमा सकिँदैछ। २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको थियो।
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले पुल बन्न अझै एक वर्ष लाग्ने बताए। ‘मापदण्डभित्रका संरचना हटाउन खोज्दा अवरोध आएकाले सुरुमा निर्माणले गति लिन सकेन, पुलको डिजाइन स्वीकृत हुन पनि समय लाग्यो,’ उनले भने, ‘पुलका लागि चाहिने केबललगायत सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भइरहेको छ।’
केबल–स्टेड प्रविधिको यो पुलमा चारवटा जगको काम सकिएको छ। तीनवटा टावर बनेका छन्, एउटा निर्माणाधीन छ। आकर्षक डिजाइनको सिग्नेचर पुलको जग निर्माणमा समय लागे पनि टावर र माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ। छ लेनको यो सडकमा हालको चाइना पुलको तल र माथि दुईवटा सिग्नेचर पुल बन्नेछन्।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत बनिरहेको यो पुलको ठेक्का ९४ करोड रुपैयाँ (भ्याटबाहेक) मा रसुवा कन्स्ट्रक्सनले पाएको हो। सिग्नेचर पुल बनेपछि पोखराको पर्यटकीय आकर्षण बढ्ने अपेक्षा छ। यो पुल डिजाइनमा आकर्षक र पुरानो प्रविधिको भन्दा उन्नत छ।
एक सय ९० मिटर लामो यो पुलमा कङ्क्रिट र फलाम प्रयोग हुनेछ। निर्माणअघि विदेशी प्राविधिक टोलीले डिजाइन गरेको थियो। पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार र स्तरोन्नति आयोजनाअन्तर्गत सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल बनिरहेका छन्।
पचास वर्षअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार र स्तरोन्नति भइरहेको छ। अवरोध नभए आगामी हिउँदसम्म सडक स्तरोन्नति सकिने आयोजनाले जनाएको छ। गण्डकी प्रदेशको लाइफलाइन मानिएको यो सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५०.३४ प्रतिशत प्रगति भएको छ।
पूर्वी खण्डको ४१.४५ किमी मध्ये तीन किमी मात्र कालोपत्र बाँकी छ। पश्चिम खण्डको ३८.८८ किमी मध्ये ३५.५ किमी एकतर्फी (दुई लेन) कालोपत्र भएको छ। ‘करिब तीन किमी सडक एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी कालोपत्र भइसकेको छ,’ कुँवरले भने, ‘आउँदो असारभित्र ३० किमी दूरीमा दुईतर्फी कालोपत्र सक्ने लक्ष्य छ।’ रासस
प्रकाशित: २१ वैशाख २०८२ १०:५८ आइतबार





