विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज प्रभातफेरी आयोजना गरेको छ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहितको प्रभातफेरी रत्नपार्क शान्तिबाट सुरु भई भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो।
सभामा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गर्ने पत्रकारप्रति सम्मान व्यक्त गरियो। कार्यक्रममा वरिष्ठ पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न र पत्रकारलाई सत्य, निष्पक्ष, नैतिक र जिम्मेवार पत्रकारिता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघले देशभरका पत्रकारको अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गरिरहेको बताए। उनले गत वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको उल्लेख गरिन्।
उनले अझै पनि दण्डहीनता कायम रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की र विस्थापनको अवस्था रहेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेको बताए। यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट र काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालले नेपाली पत्रकारिताले लोकतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर योगदान दिएको स्मरण गरिन्। उनीहरूले अझै पनि पत्रकारले समाचार लेखेकै कारण आक्रमण, यातना र समस्या भोग्नुपरेको बताए। रासस
प्रकाशित: २० वैशाख २०८२ ०९:३९ शनिबार





