जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।
यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन्। बर्दिबास-५ का ६८ र बर्दिबास-२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग छिन्। आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउँदा खुसी लागेको उनले बताइन्। 'यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमानको निधन भयो। आज मैले पाएँ,' आलेले भनिन्, 'अब चाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो।'
श्रीमान् कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा उनको सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उनको भनाइ छ।
बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी छिन्। स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताइन्। जग्गाधनी प्रमाणपुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन्।
घरजग्गाको लालपुर्जा पाएसँगै आफू पनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताए। हातखुट्टा पक्षघातले सुकाएर हिँड्डुलमा समस्या भोग्दै आएका उनले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिए।
आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उनको भनाइ छ। आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताए।
जिल्ला नापी कार्यालयले बर्दिबासले पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको जनाएको छ। रासस
प्रकाशित: १८ वैशाख २०८२ २१:४७ बिहीबार





