१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

सिंजाकाे राइकेडाँडामा नेपालको नक्सा बनाइँदै

राइकेडाँडा।

जुम्लाको सिंजा गाउँपालिका ३ र ४ वडामा पर्ने राइकेडाँडामा अब नेपालको नक्सा अंकित हुने भएको छ।

प्रतिनिधिसभा सांसद विनिता कठायतले शनिबार नेपालको भाैगाेलिक नक्सा निर्माणकाे शिलान्यास गरेकी हुन्। उक्त डाँडामा नक्सा नेपालकै सबैभन्दा ठूलो बन्ने छ। सांसद कठायतले पहिलो चरणमा नेपालको नक्सा निर्माण प्रारम्भ भएकाे बताइन्। निकट भविष्यमा ऐतिहासिक खस राज्यको नक्सा पनि निर्माण गरिने उनको भनाइ छ। उनले भनिन्, ‘भारतले महाभारतको नक्सामा नेपाल समेटेको छ। हामीले खस राज्यको नक्सा बनाउँदा भारतको भू-भाग समेट्न किन मिल्दैन?’

नाग्म-गमगडी राजमार्ग हुँदै मुगुको राराताल जाने हजारौं आन्तरिक तथा बाह्य पर्यटकले नक्सा अवलोकन गर्न पाउने छन्। सिंजा क्षेत्रको पर्यटन प्रवर्द्धन र ऐतिहासिकता उजागार गर्न नेपालको नक्साले महत्त्वपूर्ण योगदान गर्ने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन्। 'नेपालको नक्सा निर्माणको कार्य यहीँ असार महिनामै सकिने छ। नेपालको नक्सा अन्यत्र कहीँ छैन। पहिलो पटक सिंजाको राइके डाँडामा नेपालमै ठूलो बन्न थालेको हो,’ अध्यक्ष धितालले भने, ‘नक्सा हेर्दा पनि राष्ट्रियताको भावना जगाउने खालको हुनेछ।'

राइकेडाँडा नेपालकाे नक्सा शिलान्यास गरिँदै। तस्बिर: गाेल्डेन/नागरिक

१ सय ५० मिटर लामो र ३० मिटर चौडाइ भएको नक्सा बन्न लागेको उनले बताए। नेपालको नक्सा कंक्रिटको बन्नेछ। डाँडामा बन्ने भएकाले पहिरो जाने सम्भावना भएको स्थानमा कंक्रिटको बलियो वाल बनाइनेछ। ‘वरिपरि सिमेन्टको रेखा र बीचमा विभिन्न बिरुवा रोपेर सिंगारपटार गरिनेछ,’ उपाध्यक्ष सितली राेकायाले भनिन्, ‘हरेक आन्तरिक तथा बाह्य पर्यटकमा देशभक्ति पलाउने विश्वास लिएका छौं। भूक्षयलाई रोक्ने, वातावरणमैत्री हिसाबले संरचना बन्ने भएकाले अझ महत्त्वपूर्ण मानिने छ।’

नेपालको नक्सा निर्माणको काम सकिने बित्तिकै सिंजा साम्राज्यको नक्सा बनाउने गाउँपालिकाले जनाएको छ। नक्सा निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का आह्वान गरेको थियो। आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काले परियोजनाको अनुमानित लागत एक करोड रुपैयाँ रहेको बताए। उनका अनुसार निर्माण कार्यको जिम्मेवारी ममता निर्माण सेवाका विरेन्लेद्रलाल महतले पाएका छन्। यो कार्यले सिंजा क्षेत्रको शैक्षिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मद्दत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App