खोटाङको बराहापोखरी गाउँपालिकाले बसाई सरी आएका परिवारलाई प्रोत्साहनबापत १ लाख नगद प्रदान गरेको छ । दुई दशकअघि गाउँ छाडेर बसाई गएका बराहपोखरी ६ मौवाबोटेका बेदबहादुर खड्का परिवारले पुनः गाउँ फर्कँदा १ लाख रुपैँया पाएका हुन् ।
२०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिका बलार्दह बसाई गएका खड्का महिना दिनअघि मात्र गाउँमै बस्नेगरी परिवारसहित फर्केका छन् । पुर्ख्यौली गाउँ मौवाबोटे फर्केका खड्कालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप लाख रुपैँया प्रदान गरेको हो । गाउँ फर्केर वडा कार्यालयमा बसाइसराई दर्ता गराइसकेका खड्कालाई घरमै पुगेर अध्यक्ष शालिकराम बञ्जराले प्रोत्साहन रकम दिए ।
‘झण्डै २ दशकअघि यहाँबाट बसाई सरेर गएका खड्का अहिले आफ्नै गाउँ सम्झेर फर्के’ अध्यक्ष बञ्जराले भने ‘पुर्ख्यौली गाउँ बस्नेगरी फर्केर बसाइसराइ दर्ता गराएपछि प्रोत्साहन गर्न सो सहयोग गरिएको हो ।’ अध्यक्ष बञ्जराका अनुसार खड्काले पुरानै ठाउँमा दीर्घकालीन बसोबासका लागि घर बनाइरहेका छन् । गाउँ छाडेर गएकाहरू फर्केर फेरि आउन् भनेर गाउँपालिकाले प्रोत्साहन सहयोगको योजना अघि बढाएको उनले बताए ।
खड्काले जन्मभूमिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर बसाई गएको १८ वर्षपछि गाउँ फर्केको बताए । आफूसहित ४ जनाको परिवार सप्तरीबाट बराहापोखरी नै बस्ने गरी बसाइसराइ लिएर फर्केको उनले बताए । ‘सप्तरी बराहापोखरीभन्दा धेरै सेवा सुविधा भएको ठाउँ हो तर पनि आफू जन्मेको ठाउँको माया लाग्यो’ खड्काले भने ‘छरछिमेकीको सद्भाव पनि बिर्सन सकिएन । त्यसैले उता माया मारेर गाउँमै फर्कियौँ ।’
बसाई सरेर गए पनि बाउबाजेले जोडिदिएको जग्गाजमिन भने खड्काले नबेचेको बताए । बसाई गएपछि बाझिएको जमिन पुनः खनजोत गरेर हराभरा बनाउने उनको लक्ष्य छ । ‘सबै खेतबारी बाझिएछ तर, अब खनजोत गरेर फेरि बाँझो बारी हराभरा बनाउँछु’ खड्का भने ‘बाल्यकालमा धुलो खेलेको गाउँकै खेतबारीमा अन्नपात र फलफूल उब्जाएर अर्ग्यानिक खानेकुरा र पँधेराको पानी खाइन्छ ।’
गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलका अनुसार कानुनी प्रक्रिया पुरा गरेर गाउँ फर्केका खड्कालाई बिहीबार अध्यक्ष बञ्जराको टोली घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरेको हो । बस्नलाई घर निर्माणमा लागेका खड्काले बाँझो जग्गाजमिनमा मकै र धान बाली लगाउने खनजोत पनि गरिरहेका छन् । खड्काले रित्तिँदै गएको गाउँ भरिभराउ गर्न र बाझिएको जमिन उर्वर र हराभरा बनाउन बसाई गएकाहरू फेरि फर्कनु पर्ने बताए ।
जन्मे हुर्केको गाउँघरको माया, छरछिमेक र समाजको सदभाव, मित्रतापूर्ण व्यवहार, सामिप्यता सहरको दाँजोमा अतुलनीय हुने भन्दै सफा मन र सभ्य विचार नै गाउँघरको चिनारी भएकाले यत्तिका वर्ष पनि बिर्सन नसकेर फर्केको बताए । अरु बसाई सरेर गएकाहरूलाई पनि गाउँ फर्कन उनले आव्हान गरे ‘आफू जन्मे हुर्केको गाउँको माटो नै सुगन्धित छ, यहाँको समाजको भाइचारा, सामाजिक सद्भाव र आत्मीयता बेग्लै स्वाद र मिठासपूर्ण छ, त्यसैले गाउँ छाडेर जानु भएकाहरू फर्कनुस् !’
गाउँपालिका प्रमुख बञ्जराले दिनदिनै रित्तिँदै गएको गाउँलाई बस्न लायक बनाउन भौतिक पूर्वाधार विकासमा जोड दिँदै आएको बताए । बराहापोखरीले ६ वटै वडालाई भौतिक पूर्वाधारयुक्त बनाउँदै लगेको उनले बताए । स्वच्छ हावापानी, सुद्ध वातावरण र सामाजिक सद्भावका हिसाबले तराई जिल्लाभन्दा बसोबास गर्न धेरै राम्रो भएको भन्दै बञ्जराले स्थानीय तह पुनर्संरचनापछि गाउँघर भौतिक पूर्वाधार र सरकारी सेवासुविधायुक्त पनि भईसकेको बताए ।
वर्षेनी बसाई सर्ने क्रम नरोकिएका कारण गाउँमा बस्ने आकर्षण दिन गाउँमा बसाई सरी आएकालाई प्रोत्साहन रकम दिने नीति लिएको बताए । यसअघि पनि ‘गाउँ फर्क अभियान’ चलाएको बताउँदै अध्यक्ष बञ्जराले आफ्नो जन्मभूमि माया गरेर फर्केका परिवारलाई प्रोत्साहन गर्न लाख रुपैँया उपलब्ध गराइएको उनले बताए । यो कार्यक्रमलाई आगामी दिनमा पनि प्रभावकारी रुपमा निरन्तरता दिँदै लाने उनको प्रतिबद्धता छ ।
खोटाङमा २ नगरसहित १० स्थानीय तहमध्ये यसअघि साकेला गाउँपालिकाले बसाई सरी आउनेलाई प्रोत्साहन रकम दिने घोषणा गरिसकेको छ । सेवा सुविधाको खोजीमा वर्षेनी बसाइसराइको क्रम नरोकिएपछि जिल्लाको जनसङ्ख्या घट्दै गएकाले स्थानीयतहहरुले ‘गाउँ फर्क अभियान’ चलाइएका हुन् । अभियानलाई प्रभावकारी बनाउन सके गाउँ फर्केनेहरु बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: ५ वैशाख २०८२ १३:५७ शुक्रबार





