९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मृतक आनन्दीदेवीकी आमाको बिलौना: गरिबके इज्जत नै छै, लुइट लेतै

न्यायका लागि बिलौना गर्दै आनन्दीदेवीकी आमा बिल्टौनदेवी सदाय । तस्बिर: मिथिलेश यादव/नागरिक

गरिबके कोनो इज्जत नै छै गौ(गरिबको इज्जत छैन, भन्नुस् त)? धनिकहा सबके पैसा छै त गरिबके इज्जत लुइट लेतै (पैसा छ भन्दैमा धनीहरूले गरिबको अस्मिता लुट्न पाउँछ ?) बुधवार नवराजपुर गाउँपालिका– ३ जगतपुरकी बिल्टौनदेवीले संचारकर्मीमार्फत सरकारलाई प्रश्न गर्दै थिइन् ।

चार महिनाअघि गाउँकै चिनजानका पुरुषबाट यौन दुर्व्यवहारमा परेकी बिल्टौनदेवीको २४ वर्षीया छोरी आनन्दीदेवी सदाय मंगलबार प्राण त्यागेकी छिन् । मंगलबार आफ्नै घरको छानोमा पासो लगाएर झुन्डिएको अवस्थामा उनको मृत शरीर भेटिएको थियो ।

आनन्दीदेवी सदाय (२४ वर्षीया) गत पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न गइरहेको बेला जगतपुरकैे पोखरीको डिलमा चिनजानका दुई जना पुरुषले घेरेर जबरजस्ती गरेको पीडितकी आमा बिल्टौनदेबी सदायले बताइन् ।

उनले किटान गरेर भनिन्,‘हमर बेटी दिदी घर जाइबेरमे गामेके सञ्जीवकुमार यादव आ ३२ वर्षीय श्यमसुन्दर यादव घेर क जबरजस्ती केलकै(मेरी छोरी दिदीको घर गइरहेको बेला गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेर जबरजस्ती गरेका थिए)। उनका अनुसार आनन्दीलाई उनीहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गर्दा नमानेपछि जबरजस्ती दुवै हात समातेर छेउकै आँप बगैँचामा लगेका थिए । त्यो बेला उनको लुगा समेत च्यातेर शरीरभरि चोटको निसान पारिदिएको बिल्टौनदेवीले सुनाइन् ।

मृतक आनन्दीदेवी सदायकी आमा बिल्टौनदेबी सदाय दुई जनाले आनन्दीलाई आँपको बगैँचामै लगेर त्यहीँको परालको (टाल) थुप्रोमा लडाएर कपडा च्यात्दै जबरजस्ती करणी गर्न खोजेको पीडित परिवारको भनाई छ । प्रतिकार गरी उम्केर रुँदै घर आइपुगेकी उनले आमा बिल्टौनदेवीलाई दुबैजनाको नामसहित घटना सुनाएकी थिइन् । त्यसपछि तत्कालै आनन्दीलाई सँगै लिएर आमा बिल्टौन इलाका प्रहरी कार्यालय महेशपुरपत्तारमा जाहेरी दिन गएकी थिइन् ।

दुई वर्षीया छोरीकी आमा आनन्दी पुष ९ गते यौन दुर्व्यवहारमा परेको जानकारी इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारीमा गराएकी थिइन् । र, सोही दिन दुई जनाको नाममा किटानी जाहेरी समेत दिएको बिल्टौनदेवीले बताइन् ।

पुष ९ गते नै पीडितले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय महेशपुरपत्तारले सो जाहेरी दर्ता भने गरेन । प्रहरीले फागुन २५ गते मात्र जाहेरी जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारीले लामो समयसम्म पीडितको जाहेरी मात्र नगरिदिएको होइन जाहेरीमा उल्लेखित आरोपितहरू समेत पक्राउ गर्न सकेन । आरोपितहरू अझसम्म पक्राउ परेका छैनन् ।

यौन दुर्व्यवहार भएको लामो समयसम्म प्रहरीले जाहेरी दर्ता नगरेपछि गाउँकै केही व्यक्तिले मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका थिए ।

आनन्दीकी श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी एक वर्षदेखि छोरीसहित माइतीमै बस्दै आएकी थिइन् । उनको श्रीमान् घर फर्किए पनि आनन्दीदेवी माइतमै बस्दै आएकी थिइन् ।

बिल्टौनदेवीका अनुसार गाउँकै केही अगुवाहरू रकम लिएर गाउँमै मिल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिँदै आएका थिए । ‘उनीहरूले केही पैसा लिएर मिलिहाल भनेर हामीलाई लोभ्याउँथे, नमिल्ने भनेपछि धम्क्याउँथे,’ उनले भनिन्, ‘हामीले नमान्दा उल्टै मुद्दा लगाउँछु भन्ने गरेका थिए ।’

फागुन २५ गते जाहेरी दर्ता भएपछि फागुन २६ गते सिरहा जिल्ला अदालतबाट आरोपितबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर आरोपितहरूलाई पक्राउ गर्न प्रहरी अझसम्म असफल छन् । आरोपितको घरमा प्रहरी पुग्दा उनीहरू फेला नपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीको दाबी छ । आरोपित पक्षबाट आफूहरूलाई फसाइएको भन्ने कुरा आएपछि जाहेरी दर्ता गर्न समय लागेको प्रहरी निरीक्षक मैनालीको तर्क छ । ‘हामीकहाँ जाहेरी आएपछि आरोपित पक्षबाट अनाहकमा फसाइएको कुरा आयो,’ मैनालीले भने, ‘त्यसपछि अनुसन्धान गर्न थाल्यो । त्यस कारण मुद्दा दर्ता गर्न समय लागेको हो ।’

मृतककी आमा बिल्टौनका अनुसार आरोपितहरू गाउँमै घुमे पनि प्रहरीले पक्राउ गरेनन् । ‘हमसब न्यायके खोजीमे प्रहरीके ढोका ढकढकौली (हामी न्याय माग्न प्रहरीको ढोका ढाकढक्यायौंं  लेकिन प्रहरी हमरा सबके मोजरे नै केलकै (तर प्रहरीले हामीलाई गन्दै गनेन),’ उनी भन्छिन्, ‘ दोषीके पक्राउ कर छोइर क प्रहरी हमरे सबके उल्टासिधा कहैमे समय बर्बाद क देलकै(दोषीलाई पक्राउ गर्नुभन्दा पनि हामीलाई नै उल्टासिधा पढाउनमा प्रहरीले समय बर्बाद गर्‍यो) । दोषीलाई कारबाही नहुँदा हामी समाजमा अत्याचार सहेर र बेइज्जत भएर बस्नुपर्ने स्थिति बनेको उनले सुनाइन् ।’

‘प्रहरी न्याय देबमे अबेर केलाके कारण हमर बेटी प्राण त्याग मजबुर भेलै (प्रहरीले न्याय दिलाउन ढिला गरेकै कारण मेरी छोरी प्राण त्याग्न बाध्य बनेको हो )’ बिल्टौनदेवीले भक्कानिँदै भनिन्, ‘हमर बेटीके जान जाइमे प्रहरीके ओझरी कारण छै( मेरो छोरीको ज्यान जानुमा प्रहरीको आलटाल कारण हो) ।’

‘घटनाको जिम्मेवारी इलाका प्रहरी कार्यालय महेशपुरपतारीले लिनुपर्ने सदाय समुदायका अगुवा एवं अधिवक्ता रामसुफल सदाय भन्छन्, ‘यौन दुर्व्यवहार जस्तो घटनामा पीडितले न्यायका लागि महिनौँ प्रहरीको ढोका ढकढक्याउनुपर्दाको अवस्था कति पीडादायी होला ? उनले भने, ‘यस घटनामा प्रहरीले आरोपितमाथि कानुनी कारबाही गर्न ढिलासुस्ती गर्दा र समाजबाट धाकधम्की र प्रलोभनजन्य पीडा खप्न नसकेर आनन्दीले प्राण त्यागेको देखिन्छ ।’

घटना मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा आनन्दी छानोमा सल बेरेर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए । ‘घटना मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठाएका छौँ,’ उनले भने, ‘यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

पीडित पक्षले शव बुझ्न मानेका छैनन् । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको विश्वस्त आधार नभएसम्म शव नबुझ्ने अडान पीडित पक्षको छ ।

यसैबीच, बुधबार गृहमन्त्री लेखकले बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ ।

यता,  पीडित पक्षले बुधवार साँझ शव बुझेर दाहसंस्कार गरेको छ । प्रहरी उपरीक्षक शर्माले भने,‘दोषीमाथि कारबाही हुने विश्वास पीडित पक्षलाई दिएका छौँ, उनले भने। हामी आरोपितलाई खोज्न संयन्त्र परिचालन गरेका छौँ, प्रहरी उपरीक्षक शर्माले नागरिकसँग भने,‘ हामी आरोपितको खोजी र घटनाको अनुसन्धानलाई सूक्ष्म रुपमा अघि बढाएका छौँ ।’

प्रकाशित: ४ वैशाख २०८२ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App