बुद्धको बाल्यकालीन क्रिडास्थलका रूपमा चिनिएको ऐतिहासिक तिलौराकोटले नयाँ वर्ष २०८२ को पहिलो दिन अभूतपूर्व पर्यटक आगमन अनुभव गर्यो। वैशाख १ गते मात्रै यहाँ ५ हजारभन्दा बढी स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरेका छन्।

करिब एक दशकअघिको उत्खननपछि पुनः चर्चामा आएको तिलौराकोटलाई सरकारले तीन वर्षअघि नै युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरेको थियो।
लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका अनुसार त्यसयता यहाँ पर्यटकको चाप निरन्तर बढ्दो छ।
स्थानीय पथप्रदर्शक राजकुमार कहारका अनुसार यस वर्ष तिलौराकोटमा आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि देखिएको छ। ‘‘नयाँ वर्षको अवसरमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाबाट मात्र हजारौँको संख्यामा मानिस आएका थिए,’’ उनले भने।

पछिल्ला चार वर्षयता नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष र चाडपर्वका अवसरमा यहाँको पर्यटकीय चहलपहल उल्लेखनीय रहँदै आएको छ।
यस दिन तिलौराकोट पर्यटकहरूबाट दिनभर भरिएको थियो। परिवार, जोडी र समूहमा आएका आगन्तुकहरूले ऐतिहासिक स्थलको रमाइलो अनुभूति गरेका थिए।

रुपन्देहीको सियारी गाउँपालिका–६ की राशिका थापा दिदीसँगै तिलौराकोट घुम्न आएकी थिइन्। ‘‘पहिलोपटक तिलौराकोट आएँ, धेरै रमाइलो लाग्यो,’’ उनले भनिन्, ‘‘बुद्धसँग जोडिएको ठाउँमा नयाँ वर्ष मनाउन पाउँदा आनन्द लागेको छ।’’
राशिकाले तिलौराकोटमा पर्यटकहरूको बाक्लो उपस्थिति देख्दा मनै हर्षित भएको र रमाइला टिकटक भिडियो पनि बनाएको अनुभव सुनाइन्।
पर्यटकहरू तिलौराकोटको पश्चिमी र पूर्वी द्वार, उत्खननपश्चात संरक्षित ऐतिहासिक स्थलहरू, प्राचीन पोखरी र मन्दिरजस्ता स्थानमा पुगेर फर्किएका थिए।

अहिलेसम्म झारपात र फोहोरले भरिएको देखिने तिलौराकोट हाल सरसफाइ अभियानपछि झनै आकर्षक बनेको स्थानीय सुबास गौतमले बताए। पर्यटकलाई सहज घुमाउनका लागि काठका बाटाहरू समेत निर्माण गरिएका छन्।
लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले तिलौराकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढेको सुनाए। उनले भने, ‘‘तिलौराकोट मात्रै होइन, निग्रोधराम, कुदान, सगरहवा, गोटीहवा, संग्रहालयलगायतका ऐतिहासिक स्थलको पनि भ्रमण गर्नुपर्छ।’’
उनका अनुसार सन् २०३४ यता मात्रै लाखौं पर्यटकले तिलौराकोट भ्रमण गरिसकेका छन्। तिलौराकोटको महत्त्व बुझेका र यसको संरक्षणमा चासो राख्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ।
प्रकाशित: १ वैशाख २०८२ १९:१० सोमबार