२७ चैत्र २०८१ बुधबार
image/svg+xml १४:१२ अपराह्न
समाज

जुम्लामा कालीमार्सी धानको बेर्ना राखिँदै

जुम्लाका किसानहरूले परम्परागत रूपमा प्रसिद्ध कालीमार्सी धानको बेर्ना राख्ने कार्य सम्पन्न गरेका छन्। हरेक वर्ष चैत २० गते घरमै टुसा उमारेर बेर्ना राख्ने परम्परा अनुसार बुधबार किसानहरूले यो विधि पूरा गरेका हुन्।

चन्दननाथ नगरपालिका-४ मालाभिडका किसान दिवानन्द चौलागाईंले १० पाथी मार्सी धानको बिउ ब्याडमा छरेको बताउँदै, परम्परागत यो धानको खेती जोगाइराख्नुपर्ने आवश्यकता औंल्याए।

कालीमार्सी धान खेती चैत १२ गतेदेखि सुरु हुन्छ। सो दिन बिउलाई बोरामा पानीमा भिजाइन्छ, जसलाई स्थानीय भाषामा ‘विच्छेति’ वा ‘बारुवा’ भनिन्छ।

चैत १६ गते भिजाइएको बिउ निकालेर चार दिन सुकाइन्छ र चैत २० गते बेर्ना राखिन्छ। उक्त बेर्ना जेठ पहिलो सातासम्म रोपाइँका लागि तयार हुन्छ।

किसान चौलागाईंले ८ मुरी खेतमा मार्सी धान रोप्ने तयारी गरेका छन्। उनले भने, ‘मार्सी धानको उत्पादन धेरै नहुने र तयार हुन आठ महिना लाग्ने भए पनि परम्परा बचाइराख्न रोप्छौं।’

उनका अनुसार आठ मुरी धानले तीनदेखि चार महिनासम्म मात्र पुग्ने हुँदा स्थानीयवासीले बजारको चामलसँग मिसाएर प्रयोग गर्छन्।

जुम्लामा चैत २० गतेलाई विशुव पर्वका रूपमा पनि मनाइन्छ। किंवदन्तीअनुसार विक्रम संवत् ११९८ देखि चन्दननाथ बाबा र लछालकृति पैकलाले मार्सी धानको खेती सुरु गरेका थिए। परम्पराअनुसार चैतमा बेर्ना राखिएको धान जेठमा रोपिन्छ र कात्तिकमा भित्र्याइन्छ।

तर, पछिल्लो समय रोगको सङ्क्रमण, कीटनाशकको प्रयोग, सिँचाइ अभाव र अत्यधिक परिश्रम आवश्यक पर्ने भएकाले मार्सी धानको खेती घट्दै गएको छ। पातारासी-३ छुमचौरकी ललिता रावतले विश्वकै अग्लो स्थानमा फल्ने यो धानको खेती संरक्षणमा चुनौती थपिएको बताइन्।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सी धानको खेती धार्मिक, सांस्कृतिक र पर्यावरणीय मान्यतासँग जोडिएको उल्लेख गरे। ‘शुभ साइत, शुद्ध पानी र परम्परागत विधिबाट सुरु हुने यो खेतीको आफ्नै पहिचान छ,’ उनले भने।

हाल जुम्लामा २,८५० हेक्टरमा धान खेती गरिन्छ, तर त्यसमध्ये ९५० हेक्टर क्षेत्रमै मात्र मार्सी धान लगाइन्छ। संरक्षणका लागि पकेट क्षेत्र विकास तथा किसान सचेतनामा जोड दिइएको अधिकारीले जानकारी दिए।

मार्सी धानको रातो भात र खीर स्वादिलो मानिन्छ भने यसका औषधीय गुणका कारण यसको विशेष महत्त्व छ। इतिहासमा राजपरिवारमा समेत पठाइने यो धान संरक्षण गर्न जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिए पनि सिँचाइको अभावले उत्पादन बढाउन चुनौती सिर्जना गरेको किसानहरू बताउँछन्।

प्रकाशित: २१ चैत्र २०८१ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App