भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा सञ्चालन हुने १० उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन गर्ने नेपाल सरकारका एजेन्सीहरूले आज ६२ करोड ५ लाख रुपैयाँ लागतका यी परियोजनाका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन्।
यी परियोजना नेपालका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन हुनेछन्। दूतावासका अनुसार यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) ले नेपालका जनतालाई शिक्षा, स्वास्थ्य र सांस्कृतिक सुविधा सुधारमा सहयोग गर्नेछ।
सन् २००३ यता भारतले नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपी सञ्चालन गरेको छ। आज हस्ताक्षर भएका १० परियोजनासहित सातै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक, पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति र समाज कल्याण जस्ता क्षेत्रमा ४९५ परियोजना पूरा भएका छन्। बाँकी परियोजना विभिन्न चरणमा छन्। रासस
प्रकाशित: २० चैत्र २०८१ ०७:१२ बुधबार