ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुपालक समूहलाई अधिकतम ८० प्रतिशतसम्म अनुदान प्रदान गरी पशु विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। पालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामले पशुपालनलाई व्यवसायिक, प्रतिस्पर्धी, आधुनिक र प्रविधिमैत्री बनाउँदै कृषकको आयआर्जन वृद्धिका लागि यो अनुदानमा आधारित कार्यक्रम सुरु गर्न लागिएको बताए। उनका अनुसार, लक्षित वर्ग र क्षेत्र पहिचान गरी अधिकतम ८० प्रतिशत अनुदान दिने गरी कार्यविधि तयार भई लागू गरिएको छ।
यो कार्यविधिअनुसार पशु विकास कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ र त्यसपछि साझेदार स्वयं सक्षम हुने अपेक्षा गरिएको छ। ८ देखि २२ जना कृषक सम्मिलित समूहले अनुदानका लागि सहभागी हुन पाउनेछन्। तर, समूह सदस्य बन्न कार्यविधिले केही सर्तहरू तोकेको छ। कम्तिमा दुई माउ गाई वा भैंसी पालेर दुग्ध उत्पादन र बिक्री गर्दै आएका, २० प्रतिशत लागत साझेदारी गर्न सक्ने, आर्थिक स्रोत स्पष्ट खुल्ने र दुग्ध उत्पादनबाट आय बढाउन इच्छुक कृषक मात्र समूहका सदस्य बन्न योग्य हुनेछन्।
समूह गठनमा महिलाको कम्तिमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरिएको छ। लाभग्राही छनोटमा भौगोलिक र वातावरणीय सम्भावना, गाई–भैंसी पालनको व्यवसायिक क्षमता, घाँस खेतीको सम्भावना, दुग्ध र मासुको बजारीकरण योजना, कृषकको झुकाव र प्रभावकारी कार्यान्वयनलाई आधार मानिनेछ। पालिकाले अनुदानका क्षेत्र पनि निर्धारण गरेको छ, जसमा पशु नश्ल सुधार, कृषक क्षमता विकास, पूर्वाधार विकास, दुग्धजन्य वस्तुको बजारीकरण, पशुपोषण सुधार, पशु स्वास्थ्य र बीमा कार्यक्रम समेटिएका छन्।
कार्यविधिले लाभग्राहीका लागि सर्त र बन्देज पनि तोकेको छ। अनुदान पाउने कृषकले कम्तिमा १० वर्षसम्म पशुपालन जारी राख्नुपर्नेछ। तीन वर्षे अवधिमा एक माउ उन्नतसहित कम्तिमा तीन माउ गाई–भैंसी पालेर दैनिक १० लिटर दुग्ध बिक्री गर्नुपर्ने, भकारो सुधार गरी काउ म्याट प्रयोग गर्नुपर्ने, कुटी काटेर घाँस दिनुपर्ने, पशु बीमा गर्नुपर्ने र मौसमी घाँस खेती तथा साइलेस प्रविधि अपनाउनुपर्ने सर्त छन्। कार्यक्रम समापनसम्म कम्तिमा ८० जना कृषक आबद्ध भई दैनिक ८०० लिटर दुग्ध बिक्रीको लक्ष्य राखिएको छ।
प्रकाशित: २५ चैत्र २०८१ ०९:०६ सोमबार