१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:४१ पूर्वाह्न
समाज

रौतहटको गरुडा बजारमा आगलागी : लाखौँको क्षति, सिलिन्डर विस्फोट

रौतहटको गरुडा बजारमा शुक्रबार भएको आगलागीले लाखौँ रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। 

गरुडा तरकारी बजारमा रहेका चारवटा फुसको घरमा आगो लाग्दा त्यहाँ संचालित विभिन्न व्यापार व्यवसाय नष्ट भएका छन्। आगलागी कमल साह, विनोद चौरसिया, गनेसी ठाकुर र शंकर जयसवालको घरमा भएको हो। 

प्रहरीका अनुसार आगो मासु पकाएर बेच्ने कमल साहको पसलबाट सुरु भएको अनुमान छ। यी फुसका घरहरूमा मासु बिक्री, मासु पकाउने पसल र फर्निचर उद्योग सञ्चालित थिए। 

आगलागीको कारण स्पष्ट नभए पनि विद्युत सर्ट भएको हुन सक्ने बताइएको छ। आगोले चारैवटा घर पूर्ण रूपमा नष्ट गरेको छ भने त्यहाँ रहेका सामानहरू खरानीमा परिणत भएका छन्। 

आगलागीको क्रममा मासु पकाउने पसलमा रहेका तीनवटा सिलिन्डर (दुई साना र एक ठूलो) विस्फोट भएका छन्। विस्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो भने सिलिन्डरका टुक्राहरू सय मिटरसम्म छरिएका थिए। सौभाग्यवश, कसैलाई चोटपटक भने लागेन। 

घटनास्थलबाट करिब सय मिटर पश्चिममा रहेको कृष्णा दासको कपडा पसलमा पनि एक घन्टापछि आगलागी भएको थियो। यद्यपि, त्यहाँ ठूलो क्षति नभएको बताइएको छ। एकै छिमेकमा एकै दिन पाँच घरमा आगलागी हुनुलाई संयोगको रूपमा हेरिएको छ। 

बाटो साँघुरो भएकाले दमकललाई घटनास्थलमा पुग्न कठिनाइ भएको थियो। स्थानीयवासीले आगो नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए भने गौर नगरपालिकाको बारुणयन्त्रले पनि सहयोग गरेको थियो। 

नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले समेत आगो नियन्त्रणमा सहभागिता जनाएका थिए।

प्रकाशित: १५ चैत्र २०८१ १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App