खानेपानी आयोजना सुरु भएको करिब एक दशकपछि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ र ३ मा खानेपानी सुविधा विस्तारका लागि बहुवर्षीय ठेक्का लागेको छ। करिब २५ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको टेन्डर आह्वान भएसँगै यो वर्षदेखि तीव्रता पाउने भएको हो।
बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भए पनि बजेट अभाव झल्दै आइरहेको अवस्थामा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा (खम्बिर) ले टेन्डर आह्वान भएसँगै भगवती र पिप्लेबासीको वर्षौंदेखिको माग पूरा भएको बताए। ‘यो खानेपानीका लागि गरिएको प्रयास सफल भएको छ, अब हरेक वर्ष स्रोतको कुनै कमी हुँदैन, समयमै सम्पन्न गर्ने गरी अबका प्रक्रियामा पनि लाग्ने छु’, प्रतिनिधिसभा सदस्य गर्बुजाले भने।
बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रालयले स्रोत सहमति दिएको थियो। १० करोडको टेन्डरमा कन्टिन्जेन्सी खर्च कटाएर सात करोड २६ लाख बराबरको काम चालु आव २०८१÷८२ देखि नै कार्यान्वयन हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए। ‘आज टेन्डर आह्वान भएको छ, अबको प्रक्रियालाई पनि हामीले तीव्रता दिन्छौं’, इन्जिनियर सुवेदीले भने।
पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार ३९ करोड ३३ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न। अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुन नसकेपछि निरन्तरको दबाबसँगै टेन्डर आह्वान भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
चारवटा प्याकेजमा विभाजन गरेर पहिलो प्याकेजको काम सुरु गर्न ठेक्का आह्वान भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ। रघुगंगा गाउँपालिका ७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्यांङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने छ।
संघीय सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो। रघुगंगा गाउँपालिकामा सबैभन्दा बढी जनघनत्व रहेको क्षेत्र वडा नं २ र ३ मा पर्ने बस्ती हुन्।
गाउँघरमा रहेका पुराना खानेपानीको मुहान सडक सञ्जाल, जलवायु परिवर्तनलगायतका कारण समस्या भइरहेको अवस्थामा खानेपानी आयोजनाको काम अगाडि बढेपछि सहज भएको रघुगंगा गाउँपालिका २ भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताए।
उक्त आयोजनाका लागि उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने बजेट व्यवस्था गरेर १३ लाख ५० हजार खातामा जम्मा गरिसकेको वडाध्यक्ष भण्डारीको भनाइ छ। चिमखोलाबाट ल्याएको पानीलाई पुराना संरचनासहित नयाँ आवश्यक संरचना बनाएर घरघरका धारामा वितरणको व्यवस्था गरिएको थियो।
प्रकाशित: ११ चैत्र २०८१ १०:१८ सोमबार