२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:२८ पूर्वाह्न
समाज

विद्यालय खाजाका भरमा घरका आमाहरू

बालकल्याण आधारभूत विद्यालयमा जब दिउँसोको खाजा बाँड्ने बेला हुन्छ, २ कक्षाकी सीता चौधरी घरबाट लगेको बट्टामा थाप्छिन् । अनि साथीहरूसँगै बसेर आधा खान्छिन् र आधा भने बट्टामै राख्छिन् । किन सबै नखाएको भन्ने साथीहरूको प्रश्नमा भन्छिन्– पुगेर । खासमा उनले विद्यालयमा दिइने खाजा पुगेर सबै नखाएकी हैनन् । घरमा बिरामी आमालाई सम्झेर राखेकी हुन् । जुन कहिले खाजा समयमै त कहिले भने विद्यालय छुटेपछि लगेर खुवाउँछिन् । यो उनको सधैँजसोको दिनचर्या हो भन्दा फरक पर्दैन ।

आमा भुन्टी न हिँडडुल गर्न सक्छिन् न त उठ्बस् गर्नै । जहाँ राखिदियो, उहीँ बस्ने मात्र हो । श्रीमान् पनि अशक्त छन् । त्यसैले भुन्टीका श्रीमान् आफूले सक्ने केही काम पाइन्छ कि भनेर भौतारिइरहन्छन् र सक्ने काम पाए गर्छन् पनि । कमाइहाले भने पनि कति नै आउँछ र ? जुन उनलाई नै पुग्दैन । त्यसैले बिरामी भुन्टीको पेट सधैँ भरिँदैन ।

घरको यही दयनीय स्थिति सम्झेर आमालाई आफ्नो भाग खाजा बचाएर खुवाउने गरेको सीता बताउँछिन् । भन्छिन्– ‘खाउँ भने सबै खान सक्छु तर आमाको माया लागेर आउँछ ।’ सानो झुपडीमा बस्ने तीनजनाको यो परिवारका लागि एक छाक पुग्ने अन्न पनि मौज्दात छैन । कुनै दिन पानी पर्‍यो वा श्रीमान् बाहिर निस्कने अवस्था भएन भने चुलै बल्दैन । बलोस् पनि कसरी ? चुलोमा हाल्ने कुरा भए पो ।

सीताका आमा-छोरी, तस्बिर– कुमार थापा

सीता मात्र हैन, यसैगरी बिरामी आमाहरूलाई आफ्नो खाजा बचाएर लगिदिने अरू पनि छन् यो विद्यालयमा । एकाधबाहेक सबैजसोमुक्त कमैयाका छोराछोरी पढ्ने यो विद्यालयकी प्रधानाध्यापक गीताकुमारी बोहोरा भन्छिन्– ‘यो विद्यालयमा साह्रै गरिब अवस्थाका बालबच्चा पढ्न आउँछन् । आमा-बाबु दिनभर नजिकैको मछली खोलामा गिट्टी कुट्न र बालुवा चाल्न जान्छन् । त्यसैले पहिलो कुरा त छोराछोरीको पढाइ उनीहरूको प्राथमिकतामा पर्दैन, दोस्रो कुरा विद्यालय आउनेहरू पनि गरिबीकै कारण पढाइलाई निरन्तरता दिन सक्दैनन् ।’ ‘विद्यार्थीहरूले आफ्ना अशक्त र चरम गरिबीबाट गुज्रिरहेका आमाहरूलाई खाजा लगिदिने गरेका घटनाबाट पनि यहाँको अवस्था कति दयनीय छ भन्ने पुष्टि हुन्छ’– उनी थप्छिन् ।

सरकारले ५ कक्षासम्मकालाई प्रतिविद्यार्थी १५ रुपियाँका दरले उपलब्ध गराउँछ खाजाका लागि । अहिलेको महँगीमा १५ रुपियाँले आउँछ नै के र ? तैपनि यो विद्यालयले आइतबार अण्डा र भात, सोमबार चना चिउरा, मङ्गलबार सुजीको हलुवा, बुधबार खिचडी, बिहीबार गेडागुडी र शुक्रबार मौसमअनुसारका फलफूल खुवाउने गरेको छ । अझ यही खर्चबाट खाना बनाउनेलाई ज्याला र पकाउने ग्याससमेत किन्ने गरेको छ विद्यालयले । प्रधानाध्यापक गीताकुमारी भन्छिन्– हामीले यति थोरै पैसाबाट पनि सकभर सबै विद्यार्थीलाई राम्रोसँग खुवाउने प्रयास गरेका छौँ ।

यो विद्यालय धेरै अर्थमा अचम्मको छ । पहिलो त गरिबका छोराछोरी पढ्ने भए पनि विद्यालयचाहिँ धनी छ । अर्थात करिब साँढे ४ बिघा जमिन छ विद्यालयको । भाडामा दिइएको करिब साँढे ३ बिघामा केरा खेती लहलहाइरहको छ । जसको आम्दानीबाट एकजना शिक्षिका राखिएको छ । दोस्रो कुरा, यहाँ केही दाता र विद्यालय मिलेर विद्यालय पोशाक र कापी-कलमसमेत दिने गरिएको छ सबैलाई । तेस्रो कुरा, निजी विद्यालय र अन्य सरकारी विद्यालयमा पनि विद्यार्थीहरू भरिएको टिफिन बक्स लिएर जान्छन् र खाजा समयमा खान्छन् । अनि फर्किँदा रित्तै ल्याउँछन् । यहाँ भने रित्तो टिफिन बक्स लिएर जान्छन् र खाजा खाएर पनि आउने बेलामा घरमा समेत ल्याउँछन् । ‘त्यति मात्र हैन’, मुक्त कमैया समुदायकै शिक्षिका सलिना चौधरी थप्छिन्– हामीलाई प्रत्येक विद्यार्थीको घर थाहा छ, त्यसैले कोही विद्यार्थी पढ्न आएन कि हामी उसको घरमै लिन जान्छौँ, घरमा भेटेनौँ भने आमा-बाबु मजदूरी गर्न जाने मछली खोलामा गएर भए पनि ल्याउँछौँ ।

सीताका आमा-छोरी र उनीहरूको घर । तस्बिर– कुमार थापा 

सीता जस्तै ११ वर्षका बालबालिका अन्यत्र भए ५–६ कक्षामा पुग्नुपर्ने हो तर यो विद्यालयमा भने धेरै उमेरका बालबालिका पनि सानो सानो कक्षामा पढिरहेका भेटिन्छन् । कारण ? शिक्षिका सलिना चौधरी भन्छिन्–‘गरिबीका कारण पढ्नै आउँदैनन् । त्यही पनि हामीले बल्लबल्ल सम्झाइबुझाइ ल्याएका हौँ ।’ चलनले पनि पढाइमा बाधा पुर्‍याएको देखिन्छ यहाँ । जस्तो– कसैको घरमा बिहे पर्‍यो भने प्रत्येक घरबाट कोही न कोही त्यहाँ जानैपर्छ सघाउन, त्यो पनि ६–७ दिनसम्म । बाबु-आमा मजदूरी गर्न जानुपर्ने भएकाले छोराछोरीलाई पठाउँदा पनि पढाइमा हानि पुग्ने गरेको छ । ‘गएन भने बडघर (थारू समुदायका मुखिया) ले ५ सय जरिवाना तिराउँछन्, कहाँबाट तिर्ने त्यत्रो पैसा ?’– एक बालिकाको गुनासो थियो ।

खल्लागोठ कृष्णपुर नगरपालिका–२, वाणीस्थित मुक्त कमैयाको बस्ती हो । जहाँ करिब ६ सय घर मुक्त कमैया बस्छन् । केहीबाहेक सबैलाई सरकारले जग्गा दिएको छ । भुन्टीलाई पनि सरकारले ५ कठ्ठा जग्गा दिएको छ । एकातिर बालुवै बालुवा अर्कोतर्फ पानी जम्ने भएका कारण न यो जग्गामा केही उत्पादन हुन्छ न त भुन्टीको घरमा खेती गर्ने जनशक्ति नै छ । त्यसैले यही जग्गा पनि भुन्टीको परिवारले मातेमा दिएका छन् । खानेकुरा नभएका बेला पैसा माग्दै खाँदै गर्दा सबै जमिन मातेमा गइसकेको भुन्टीकी छिमेकी रेवती रानाको भनाइ छ । माते भनेको केही पैसा दिएर उसको जग्गा लिनु हो । जुन जग्गा लिएको पैसा फिर्ता गरेपछि आफैँले पाइन्छ । तर भुन्टीको परिवारले यसरी मातेबापत लिएको पैसा खानका लागि खर्च गरिसकेकाले तिर्ने सम्भावना छैन । त्यसैले उनलाई मुक्त कमैया भएबापत सरकारले दिएको जग्गा करिब करिब गुमिसक्यो भन्दा हुन्छ । यो बस्तीका धेरै मुक्त कमैयाको जग्गा यसैगरी अनौपचारिकरूपमा (मुक्त कमैयालाई दिइएको जमिन औपचारिकरूपमा किनबेच हुँदैन) गुमिसकेको भेटिन्छ ।

विद्यालयमा साथीहरूसँग पढ्दै सीता । तस्बिर– कुमार थापा 

सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । घोषणापश्चात सबैजसोलाई जमिन, घर बनाउने काठ र केही रकम पनि उपलब्ध गराइएको थियो । धेरैलाई सिप पनि सिकाइएको थियो । तर अझै पनि कतिपयले जमिन पाएका छैनन् भने कतिपयलाई दिइएको जमिन प्रयोगमा ल्याउन नमिल्नेखालको भएकाले भुन्टीकै जस्तो बिजोग अवस्थामा पुगेका छन् । मुक्त कमैयाका बालबालिकालाई शिक्षा दिन मुक्त कमैया बस्तीमै खोलिएको यो विद्यालयले मुक्त कमैयालाई नै प्राथमिकता दिने भनेर शिक्षक माग गरेको थियो । तर मुक्त कमैयाबाट आवेदन नै परेन । ‘यो समुदायमा योग्यता पुगेका व्यक्ति नै नभएकाले हामीले नचाहेर पनि बाहिरैबाट ल्याउनुप¥यो’– प्रधानाध्यापक गीताकुमारीको भनाइबाटै प्रष्ट हुन्छ कि मुक्तिको साँढे २ दशक पुग्न लाग्दा पनि मुक्त कमैयाको अवस्था अझै कति दयनीय छ भन्ने ।

प्रकाशित: ६ चैत्र २०८१ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App