३ चैत्र २०८१ आइतबार
image/svg+xml २३:२३ अपराह्न
समाज

सहरमा बराबरी पुरुष र महिला जग्गाधनी

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा जग्गामा महिलाको स्वामित्व अर्थात् महिला जग्गाधनी संख्या बढ्दै गएको पाइएको छ। तर ग्रामीण क्षेत्रमा भने सहरी क्षेत्रको तुलनमा महिला जग्गाधनीको संख्या बढ्न सकेको छैन।

सरकारले पुरुषको स्वामित्वमा रहेको जग्गा महिलाको स्वामित्वमा लैजान तथा पुरुषको एकल स्वामित्वमा रहेको जग्गा पुरुष र महिलाको संयुक्त स्वामित्वमा गराउन प्रेरित गर्दै विभिन्न किसिमले राजस्वमा छुट दिन थालेपछि सहरी क्षेत्रमा महिला जग्गाधनी हरेक वर्ष बढ्दै गएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताए।

भूमि व्यवस्थापन विभागका अनुसार यतिबेला देशभरि जग्गाधनीको संख्या १ करोड १४ लाख ६७ हजार ३८२ छ। जसमा पुरुष जग्गाधानी ६९ लाख ८३ हजार आठ सय ५१ छन्। यो भनेको ६१ प्रतिशत हो। यसैगरी महिला जग्गाधानीको संख्या ४४ लाख ८३ हजार ५३१ छ। यो भनेको ३९ प्रतिशत हो। तर सहरी क्षेत्रमा भने महिला जग्गाधनी ५० प्रतिशत हाराहारीमा भएको भूमि व्यवस्थापन विभागका आइटी अधिकृत बलाराम काफ्लेले बताए। विभागको तथ्यांक हेर्दा हरेक वर्ष महिलाका नाममा जग्गा कारोबार संख्या बढ्दै गएको देखिन्छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुरुष र महिलाका नाममा जग्गासम्बन्धी कारोबार करिबकरिब बराबरी भएको देखिन्छ। पुरुष जग्गाधनी ६१ प्रतिशत र महिला जग्गाधनी ३९ प्रतिशत भए पनि आव २०८०/८१ मा जग्गा कारोबारमा जोडिएका महिलाको संख्या चार लाख दुई सय ४१ र पुरुषको संख्या चार लाख तीन हजार चार सय ५१ पुगेको छ।

‘आव २०८०/८१ मा भएको जग्गाको कारोबारमा महिला र पुरुषको उपस्थिति उस्तैउस्तै देखिनुले पनि जग्गामा हरेक वर्ष महिलाको स्वामित्व बढ्दै गएको पुष्टि हुन्छ’, काफ्लेले भने, ‘सहरी क्षेत्रमा तुलानात्मक रूपमा बढी जग्गाको कारोबार हुन्छ। त्यसैले सहरी क्षेत्रमा महिला जग्गाधनी बढ्दै गएका छन्। तर दुर्गमा क्षेत्रमा जग्गाको कारोबार नै त्यति हुँदैन। त्यसैले ग्रामीण तथा दुर्गमा क्षेत्रममा अझै पनि महिला जगाधनी त्यति धेरै बढेको पाइएको छैन।’

विभागको तथ्यांकअनु्सार देशभरि तीन करोड २८ लाख ४७ हजार ६ सय ३२ कित्ता जग्गा छन्। जसमध्ये पुरुषका नाममा दुई करोड २० लाख २४ हजार एक सय ७० र महिलाका नाममा ९७ लाख ६१ हजार सात सय ९५ कित्ता छन्।

मन्त्रालयका प्रवक्ता भट्टका अनुसार जग्गामा महिलाको स्वामित्वम बढाउन सरकारले महिलाका नाममा जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्व छुट दिने गरेको छ। त्यस्तै पतिका नाममा रहेको जग्गा पति र पत्नी दुवैका नाम राख्न चाहने हो भने राजस्व एक सय रूपैयाँ बुझाए पुग्छ। तर पत्नीका नाममा रहेको जग्गा पत्नी र पति दुवैका नाममा राख्दा राजस्व पूरै बुझाउनु पर्छ।

महिलाको स्वामित्वमा रहेको जग्गा पुरुषको स्वामित्वमा सार्दा पनि राजस्व पूरै बुझाउनु पर्छ। जग्गामा महिलाको स्वामित्व बढाउन सुकमवासी आयोगले लालपुर्जा पति र पत्नी दुवैका नाम (संयुक्त स्वामित्व) मा बनाएर दिन्छ। यसबाट पनि जगगामा महिलाको स्वामित्व प्रतिशत बढ्दै गएको मन्त्रालयको बुझाइ छ।

विभागको तथ्यांकअनुसार जग्गा कारोबारबाट हुने राजस्व आम्दानी भने गत सालको तुलनामा चालु आवमा बढेको छ। २०८० साउन १ गतेदेखि फागुन ३० गतेसम्म जग्गा कारोबारबाट २५ अर्ब ४३ करोड ६४ लाख सात हजार नौ सय ६८ रूपैयाँ राजस्व उठेको थियो। २०८१ साउन १ गतेदेखि फागुन २९ गतेसम्म जग्गा कारोबारबाट २८ अर्ब ४९ करोड २८ लाख चार हजार पाँच सय १२ रूपैयाँ राजस्व उठेको छ।

प्रकाशित: ३ चैत्र २०८१ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App