होली आउनु एक हप्तापहिल्यै तराई-मधेसमा होली गीतमा नाच्ने-गाउने गरिन्थ्यो। होलीमा ‘जोगीरा सररर..’, रङ बर्से भिगे चुनरिया...’ लगायतका गीत सर्वसाधारणका मुखमुखमा झुन्डिएको हुन्थ्यो। होली आउन एक दिन मात्र बाँकी छ, तर अहिलेसम्म त्यसको कुनै छनक देखिँदैन। तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र संगीत लुप्प हुँदै गएका छन्।
अवधी भोजपुरीमा बजाइने ढोलक, हार्मोनिया, तबलालगायतका बाजा र होलीमा गाइने मौलिक गीत पनि पछिल्लो पुस्ताले आत्मसात गरेको छैन। होलीका बेला गाइने मूल होली गीत र अवधी होली गीत जनजिब्रोबाट हटिसकेको साहित्यकार पशुपतिमणि त्रिपाठीले बताए। ‘एक दशकअघि होलीमा जोगीरा सररर गीत होली आउनुअघि नै गुन्जिन्थ्यो, तर अहिलेसम्म होलीको कुनै रौनक देखिएको छैन।’
अवधीको मौलिकता सकिँदै गएको उनले बताए। सांस्कृतिक पर्व होली आउनु दुई साता बाँकी हँुदै साथीभाइहरू जम्मा भएर गाीत–संगीत, कविता, ग्यका कार्यक्रम गरी मनाइँन्थ्यो, तर अहिले भने ती सबै सपनाजस्तो लाग्न थालेको उनको भनाइ छ।
साहित्यकार राघवेन्द्र श्रीवास्तवले तराईमा होलीका पुराना गीत, संगीत, मनाउने तौरतरिका सबै विलीन हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘गाउँगाउँमा होली आउनु १५ दिनअघि नै त्यसको रौनक हुन्थ्यो, यसपटक अहिलेसम्म पनि कुनै रौनकता आएको छैन’, उनले भने, ‘अहिले फागु पूर्णिमाको एक दिन मात्र मनाउने गरिएको छ। त्यो पनि एक दिन डिजे साउन्डमा नाचगान गरेर।’
होलीको एक दिन पहिले ठाउँठाउँबाट चोरिएका दाउरा राति जलाएर होलिकाको दहन गर्ने चलन रहेको अवधी संस्कृतिका जानकार विक्रममणि त्रिपाठीले बताए। उनका अनुसार होलीका दिन त्यही खरानी पोतेर बिहान नुहाउने गर्दथे।
बिहान नौ बजेपछि आपसमा बधाई साटासाट गरी रङ लगाएर रमाइलो गरी खेलिने होलीको मौलिकता हराउँदै गएको छ। परम्परागत मौलिक संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी गराउन नसकिएकाले यस्तो अवस्था आएको उनको ठम्याइ छ। ‘मूल संस्कृतिको मर्मलाई विकास प्रक्रियासँगै अगाडि बढाउन सकिएन’, उनले भने।
प्रकाशित: २९ फाल्गुन २०८१ १०:५७ बिहीबार