एघार वर्षअघि निरमाया प्रजाले तीन लाख ८० हजार रुपैयाँ तिरेर कुसुमखोलामा जग्गा खरिद गरिन्। ऋणधन गरेर खरिद गरे पनि सो जमिनमा धेरै बस्न भने पाइनन्। माडी नगरपालिका–९ स्थित कुसुमखोलाको बस्ती चितवन राष्ट्रिय निकुञ्जले खाली गरेपछि सात वर्षमै त्यहाँबाट उनको परिवार हट्नुपर्यो।
अहिले भने सो जमिनमा अरू आएर बसेको उनले बताइन्। ‘कुसुमखोलामा २०७० सालमा एक बिघा जग्गा किनेर बसेका थियौं। २०७७ सालमा निकुञ्जले लखेटिहाल्यो। घर, जमिन सबै छाडेर हिँडियो,’ विगतका कुरा सम्झँदै उनले भनिन्, ‘अहिले अरू नै आएर बसेका छन्।’
उनले कानुनसमेत सबैलाई समान नभएको दुःखेसो पोखिन्। जग्गा खरिद गर्दाको ऋणसमेत रहेको उनले बताइन्। निरमायाको परिवार अहिले माडी नगरपालिका–८ स्थित परुवी खोलामा आएर बसेको छ। त्यहाँ उनीहरूले नौ कट्ठा खेतमा अधियाँ गरेर जीवन गुजारा चलाएका छन्।
२०७७ साउनमा चितवन राष्ट्रिय निकुञ्जले नेपाली सेना र हात्ती प्रयोग गरेर कुसुमखोला बस्ती खाली गराएपछि १६० परिवार घरबारविहीन भएका थिए। उनीहरूलाई माडी नगरपालिकाले परुवीखोलाको किनार, राई डाँडालगायत स्थानमा ल्याएर राखेको थियो। अहिले त्यहाँबाट झरेका ५३ घर परुवीमा छन्। कुसुमखोला बिस्तारै भुल्दै गए पनि आफूलाई घरविहीन बनाएर अरूलाई बस्न दिँदा नराम्रो लागेको अञ्जली प्रजा बताउँछिन्। ‘यहाँ आएको पनि पाँच वर्ष भयो। घर बनाउन त सकिएको छैन तर अहिले यतै रमाइलो लाग्न त थालेको छ,’ उनले भनिन्, ‘हामी हुर्किएको ठाउँमा हामीलाई हटाएर अरूलाई राख्दा नरमाइलो लागेको छ।’
त्यहाँ उब्जिने मकै, कोदोले परिवारलाई खान पुगे पनि अहिले ज्याला मजदुरी गरेर घरखर्च चलाउनुपरेको उनले बताइन्। अञ्जलीको परिवारले अहिले परुवीमा पक्की घरसमेत बनाएका छन्। ‘सरकारले राईटोलमा त घर बनाइदिएको छ। हामीलाई पनि घर बनाउँछ भन्दाभन्दै बनाइदिएन,’ उनले भनिन्, ‘श्रीमान्ले ज्याला मजदुरी गरेर कमाएको पैसाले घर बनाएका छौं।’
कुसुमखोलावासी त्यहाँको घर भत्काउँदा निस्किएका काठ लिएर परुवी झरेका थिए। नगरपालिकाले दिएको ५० हजार रूपैयाँले कतिपयले जसोतसो गरेर जस्तापाताको छाना राखेर घर बनाएका छन्। कतिपयले भने आफ्नो घर खरले नै छाएका छन्। माथिबाट झर्ने समयमा जनता आवास कार्यक्रममार्फत पक्की घर बनाइदिने कुरा भए पनि अहिलेसम्म नबनाइदिएको भक्तिमाया प्रजा बताउँछिन्। ‘अहिले यहाँ जनता आवास कार्यक्रमबाट दुई वटा घर परेको सुनिएको छ। कसलाई बनाइदिन्छन्, थाहा छैन,’ उनले भनिन्। यहाँ घर हुनेलाई बस्न सहज रहेको बताइन्।
चरीमाया प्रजाले यहाँ घर भए बस्न कुसुमखोलामा भन्दा सुविधा रहेको बताइन्। ‘माथि स्कुल थिएन। छोराछोरी पढाउन पाएका थिएनौं। जंगली जनावारको उत्तकै डर थियो। खेती लगाए आधाभन्दा बढी जंगली जनावारले खाइदिन्थे,’ उनले भनिन्, ‘यहाँ आएर स्वास्थ्य उपचारमा समेत सहज भएको छ। त्यही एउटा घर नभएको त हो।’ तर आफूलाई घरविहीन गराएर अरूलाई बस्न दिएकोमा भने उनले दुखेसो पोखिन्।
खाली गरिएको कुसुमखोलामा यतिखेर १५ घरधुरी भइसकेका छन्। खेतीयोग्य जमिन र पानीको राम्रो व्यवस्था भएका कारण मानिसहरूले यो ठाउँ छाड्न चाहेका छैनन्। तर निकुञ्जको कोर एरिया भएकाले बल प्रयोग निकुञ्जले हटाइरहेको छ। गएका मानिसहरूलाई फेरि हटाउने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनाश थापा मगरले जानकारी दिए। ‘त्यहाँ एकदुई महिना भयो, मानिसहरू गएर बस्न थालेको। उनीहरूलाई सूचना निकालेर हटाउँछौं,’ उनले भने, ‘उहाँहरू हाम्रो निगरानीमा हुनुहुन्छ। अरूलाई निकाल्ने उहाँहरूलाई बस्न दिने त कदापि हुँदैन।’
प्रकाशित: २९ फाल्गुन २०८१ ०६:५५ बिहीबार