चारैतिर बाँ...बाँ... र बुँ... बुँ... को आवाज। वरिपरि गाई र बाछो बाछी यताउता गरिरहेका। गोबरको गन्ध त हुने नै भइहाल्यो। छेउछाउमा दाना र पराल तथा भुसा असरल्ल। यसै परिवेशमा उपस्थित निम्तालुबिच उत्तम पुडासैनीले बोल्न सुरु गरे, ‘आज नारी दिवस। हामी असहाय गाईबाछो बाछीलाई आफ्नै सन्तानसरह प्रेम गर्ने दया र कोमलताका खानी महान् हृदयका नारीहरूलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी छौं।’
न कुनै तमकझमक न त कार्यक्रमको ब्यानर नै। न अतिथिहरूका लागि गद्दावाल सोफा न त स्वागतका लागि ‘गेट’मै उभिएका सुकिलामुकिला। न निम्तोपत्र न त पाल र क्याटरिङ नै। सीमित व्यक्तिलाई फोनमार्फत बोलाइए पनि सानो कार्यक्रमस्थल भरिभराउ भएको देखेपछि उत्तमले माफी मागे, ‘हामीले सोचेभन्दा बढी आइदिनुभएकोमा आभार व्यक्त गर्छौं तर सबैलाई बस्ने ठाउँ र कुर्सी उपलब्ध गराउन नसकेकोमा क्षमाप्रार्थी छौं।’
कार्यक्रम सुरु भएपछि क्रमशः बोलाइए सम्मानयोग्य महिलाहरू। कोही गोठमा नियमित आएर स्वयंसेवा गर्ने थिए भने कोहीचाहिँ पराल/भुसा आदि व्यवस्था गरिदिने तर खुल्न नचाहने। अनि कोहीचाहिँ आफू र आफ्नो परिवार मात्र नभई आफन्त र चिनजानका सबैलाई गोठमै ल्याएर सहयोग गर्न उत्प्रेरित गर्ने।
त्यति मात्र होइन, सम्मान पाउनेमा यस्ता नारी पनि थिए, जो मोफसलमा बस्छन् र अझ कतिपय त विदेशमा बस्छन् तर उनीहरूको मन भने यही गोठमा हुन्छ जतिखेर पनि। आफूहरूले सम्मान गर्न छानेका १८ नारी शक्तिको संक्षिप्त परिचय गराउँदै थिए उत्तम क्रमशः।
गाई राष्ट्रिय जनावर हो। हाम्रो धार्मिक मान्यताअनुसार पनि यो जनावर गौमाता हो। नारी पनि माता हुन्। त्यसैले गाई गोठमा माई दिवस मनाउनु आफ्ना लागि निकै ठुलो सफलता भएको सुनाउँदै थिए असहाय गाईबाछा संरक्षण अभियानका मुख्य कर्ता उत्तम। गाईलाई साक्षी राखेर गरिएको यो कार्यक्रमले महान् दिलवाला नारीहरूको वास्तविक सम्मान हुने उनको भनाइ छ। यो त्यही ठाउँ हो, जहाँ ६ वर्षदेखि असहाय (सडकमा छाडिएका, घाइते बनाइएका, बिरामी भएका र बेवारिसे) गाईबाछालाई स्याहार गर्ने कार्य हुन्छ।
मुलुकभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो शनिबार। यस अर्थमा नारी दिवस मनाउनु नौलो काम भएन। तर यो गोबरे गन्ध, दाना र गाईका बथानबीच मनाइएको यो कार्यक्रम वास्तवमै सन्देशमूलक थियो। त्यसैले त सम्मानितमध्येकी एक रूपा थापा भन्दै थिइन्, ‘आफू त जसले पनि खान्छ, असहाय प्राणीप्रति दयाभाव राख्न सक्नु नै जीवनको सार्थकता हो।’
यही कार्यक्रममा सम्मानित नेपाल औषधि लिमिटेडकी पूर्वनिमित्त महाप्रबन्धक रत्ना खड्काको भनाइ थियो, ‘जसले सेवा गर्दैन त्यसको जीवन के जीवन ? यही बुझाइका कारण असहाय प्राणीप्रति मेरो झुकाव बढेको हो।’
रूपा तिनै सामाजिक व्यक्तित्व हुन्, जो ट्रकका ट्रक भुसा असहाय गाईबाछाका लागि पठाउँथिन् तर यसका अभियन्तासँग परिचित भने थिइनन्। अनि रत्नाचाहिँ त्यस्ती महान् समाजसेवी हुन्, जो ‘चाहिएको भन्नुस्, फरक पर्दैन’ भनेर असहाय गाईबाछा संरक्षण अभियन्ताहरूको हरपल मनोबल बढाइरहन्थिन्।
‘कोही टिकटकमार्फत असहाय गाईबाछालाई सहयोग गर्न आग्रह गरेर सघाइरहनुभएको छ, कोही गाईबाछालाई आवश्यक पर्ने औषधि पठाइदिइरहन्छन् तर अपरिचित छन्। कोही भने गोठमा आएर गाईबाछालाई परिकार बनाएर खुवाउँछन्। कोही फलफूलका बिरुवा रोप्छन् त कोही भने ड्रागन फ्रुट र अन्य बिरुवामार्फत गोठवरपर ‘हरित क्रान्ति’ सम्भव तुल्याउने अभियानमा छन्,’ अर्का अभियन्ता भगवान् पुडासैनीले सुनाए, ‘आज सम्मानित हुने यस्तै धेरै दयाका खानी हुन्, जसले हामीलाई असहाय गाईबाछाको संरक्षणमा कुनै संकट निम्तन दिएका छैनन्।
नारी दिवस मनाइएको गोठाटारस्थित यो त्यही ठाउँ हो, जहाँ राखिएका गाईबाछामध्ये प्रायः सबै बिरामी अवस्थामा उद्धार गरिएका थिए। उत्तमले दिएका जानकारीअनुसार यी गाईमध्ये ८० प्रतिशतमा चिसोमा बस्न बाध्य भएका कारण निमोनिया छ अनि ९० प्रतिशतलाई कुकुरले टोकेको छ। कसैको पुच्छर छैन, कसैको कान छैन। कुनै खुट्टा टेक्न सक्दैनन्।
यस्ता प्राणीको बसोबास भएको गोठमा मनाइएको नारी दिवसले मानवीयताप्रति गम्भीर सन्देश दिएको ठहर छ उत्तमको। ‘आफू पनि माता, नारी पनि माता, माताको दिवस माताकै बस्तीमा मनाएर आज हाम्रा संरक्षकले वास्तविक नारी दिवस मनाए,’ सायद यही सोचे होलान्, आजको यहाँको गतिविधि देखिरहेका र बोली सुनिरहेका २४४ असहाय गौमाताले।
प्रकाशित: २५ फाल्गुन २०८१ ०९:२४ आइतबार