१३ चैत्र २०८१ बुधबार
image/svg+xml १५:० अपराह्न
समाज

घिसिङद्वारा मोतीपुर-तौलिहवा ३३ केभी डबल सर्किट लाइनको उद्घाटन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतीपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ प्रशासकीय भवन उद्घाटन गरेका छन्। उनले ३३ केभीका स्विच अन र भवनको शिलामा लेखिएको ब्यानर उघारेर उद्घाटन गरेका हुन्।

सो अवसरमा उनले लामो समयदेखि अवरुद्ध रहेको ३३ केभीको डबल सर्किट लाइन सुचारु गर्न सरकार र गृह मन्त्रालयले सहयोग गरेकोमा धन्यवाद दिए। नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुले राखेको कार्यक्रममा उनले विद्युत् लाइन प्रसारण विस्तारमा आउने अवरोधमा सरकार र गृह मन्त्रालयबाट पूरा सहयोग पाइरहेको बताए।

घिसिङले जिल्लास्थित सुरक्षा निकायबाट विशेष सहयोग पाइरहेकाले विद्युत् प्रसारणमा आउने समस्या समाधान हुने गरेको समेत उनले बताए। सदरमुकाम तौलिहवालगायत दक्षिणतर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत् उपलब्ध हुने उनले बताए।

सो अवसरमा प्रजिअ विश्वप्रकाश अर्यालले विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने गरेको बताए। उनले विद्युत् प्रसारण लाइन विस्तार गर्ने क्षेत्रका जग्गाका लागि केही प्रावधान परिवर्तन गर्न आवश्यक रहेको बताए।

प्राधिकरणको प्रादेशिक प्रमुख हरिप्रसाद पाण्डेले चुहावट नियन्त्रणमा विगतमा जस्तै सुरक्षा निकायले साथ दिनुपर्ने बताए। उनले विद्युत् विस्तार कार्य जारी रहने बताए।

विद्युत् प्रसारण लाइनमा विस्तारमा सुरक्षा निकायको भूमिका अहम रहेको केन्द्र तौलिहवाका प्रमुख गौरव पाण्डेले बताए। सदरमुकाम क्षेत्रको विद्युत् समस्याका रूपमा रहेको लो भोल्टेजलगायतका समस्या क्रमशः समाधान हुँदै जाने उनले उल्लेख गरे। सदरमुकाम क्षेत्रले अब गुल्जार पाउनेमा विश्वस्त रहन उनले सबैलाई आग्रहसमेत गरेका छन्।

कार्यकारी निर्देशक घिसिङले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीलगायतलाई प्रमाणपत्रसहित सम्मान गरेका छन्। कार्यक्रममा बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतम, लुम्बिनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, विभिन्न वितरण तथा ग्रिडका प्रमुख, पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, किरणमान बज्राचार्यलगायतको सहभागिता थियो।

प्रकाशित: २२ फाल्गुन २०८१ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App