नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आर्थिक घोटालामा संलग्न रहेको आरोप लगाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै बस्नेतले घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका हुन्। उनका अनुसार घिसिङले चिलिमे हाइड्रोपावर कम्पनीमा रहँदा भ्रष्टाचार गरेको रकमबाट धुलिखेलमा २५ रोपनी जग्गा खरिद गरेको दाबी गरिएको छ।
बस्नेतका अनुसार घिसिङले लामा कन्स्ट्रक्सनमा १ अर्ब ५० करोड रुपैयाँको सेयर खरिद गरेका छन्। त्यस्तै, घिसिङ कार्यकारी निर्देशक बनेको एक महिनाभित्रै उनका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुशेर घिसिङको नाममा ‘तेण्डल हार्डवेर प्रा.लि.’ कम्पनी दर्ता गरिएको दाबी छ।
यो पनि पढ्नुहोस्
प्राधिकरण अगाडि कुलमानका समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)
‘‘२०७३ भदौमा दर्ता गरिएको सो कम्पनीको सुरुवाती पुँजी ३ करोड रुपैयाँ रहेकोमा हाल वार्षिक ६० करोड रुपैयाँ हाराहारीको कारोबार भइरहेको छ। कुलमानकै पैसामा कम्पनी स्थापना गरिएको र उनको पहुँचकै कारण कारोबार भइरहेको नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले दाबी गरेका छन्,’’ बस्नेतले लेखेका छन्।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई यस विषयमा छानबिन गर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत घिसिङमाथिको आरोपबारे स्पष्ट हुनुपर्ने बताएका छन्।
‘‘सदनमा कराउने प्रचण्ड र सडकमा हराउने भाइबहिनीहरू यो सबै कुराको जवाफ कुलमानसँग सोधेर मात्रै अगाडि बढ्नुस्।’ उनले भनेका छन्।
प्रकाशित: १३ चैत्र २०८१ १४:३९ बुधबार