२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्। बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इको भ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटना स्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए।

उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए। नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ। दुर्घटनाका कारण अन्नपूर्ण –४ नारच्याङमा बुधबारदेखि सुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ।  

तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिए। रासस

प्रकाशित: १४ फाल्गुन २०८१ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App