चितवनको माडी नगरपालिका वडा नम्बर १ स्थित शिखारीपुरका सुरज महतोले खसी बेच्न ठिक्क पारेका थिए। घरखर्च चलाउन हुर्काएको खसी उनले बेच्न भने पाएनन्। राति सुतिरहेको अवस्थामा बाघले खोरबाट नै खसी थुतेर लग्यो। आजभोलि भने उनलाई बाघको त्यति डर छैन। उनले सुरक्षित खोर बनाइसकेका छन्।
‘बाघले लगेको खसी बेच्न पाएको भए १७ हजार रुपैयाँ जति पर्दथ्यो होला,’ एक वर्षअघिको घट्ना सम्झँदै महतोले भने, ‘अहिले सुरक्षित खोर बनाएपछि बाघले बाख्रा लान सकेको छैन।’ उनको खोरमा अहिले दुई वटा खसीसहित आठ वटा बाख्रा छन्। प्रत्येक वर्ष दुईवटा खसी बेच्दै आएको उनले सुनाए। हिजोआज पटक पटक बाघ आए पनि बलियो खोरका कारण लैजान नपाएको उनले बताए। उनले जालीसहितको पक्की खोर बनाएका छन्।
शिखारीपुर चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाउँ हो। यहाँ जंगली जनावरको निकै जोखिम छ। बाख्रा जोगाउन महतोले जस्तै शिखारीपुरका ६० घरले सुरक्षित खोर निर्माण गरिसकेको छन्। देवीप्रसाद महतो खोर बनाएपछि बाख्रा जोगाउन निकै सजिलो भएको बताउँछन्। ‘बलियो खोर बनाएपछि घरमा बाख्रा सुरक्षित भएका छन्। तर, बाहिर निस्कने बाख्रा भने निसानामै छन्,’ ७० वर्षीय महतोले भने, ‘घरघरमा बाघ घुमिरहेको हुन्छ।’
शिखारीपुरका अधिकांशको घरमा बाख्रा छन्। उनीहरूले बाघ र चितुवाका डरका कारण बाख्रा चराउन जंगल लैजान छाडेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ, चितुवाबाट बाख्रा जोगाउन माडीको पाँच पाण्डव र अयोध्यापुरी मध्यवर्ती सामुदायीक वन क्षेत्रका बासिन्दालाई सुरक्षित खोर प्रदान गरिरहेको छ। यी ठाउँमा हालसम्म ४ सय वटा खोर प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बिसिसि कार्यक्रमका संयोजक मनोज घिमिरे बताउँछन्। माडीमा गत वर्षदेखि सुरक्षित खोर बनाउन सहयोग गरिएको हो।
उनका अनुसार घर बनाउनका लागि एक घरलाई १८ हजार रुपैयाँ प्रदान गरिएको छ। 'हामीले धनी गरिब हेरेका छैनौँ। छनोट भएका गाउँमा दामासायीले खोर बनाउन सहयोग गरिरहेका छौँ,’ उनले भने, ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न खोरले सहयोग गरिरहेको छ।’ खोर बनाउनका लागि काठ र ज्यालाको काम घरधनी आफैँले गर्नुपर्छ। जाली, टिन, चुकुल लगायतका निर्माण सामग्री एनटिएनसिले मध्यवर्ती उपभोक्ता समिति मार्फत दिने गरेको छ।'
कल्याणपुरको भगता, सितलपुर, शिखारीपुर, लछुमनिया, सितलपुर, अयोध्यापुरीको गणेशकुञ्ज, खरिकुना, कृष्णनगर, देवेन्द्रपुरमा खोर वितरण गरिएको छ। खोर निर्माण भएपछि स्वास्थ्यमा समेत ध्यान पुग्न थालेको उनले बताए। ‘विगतमा चितुवा तथा बाघबाट जोगाउन मानिसहरूले आफू सुत्ने ठाउँमा नै खोर बनाएका हुन्थे। अहिले सुरक्षित खोर निर्माण भएपछि बाख्रालाई आफू सुत्ने ठाउँमा राखेको पाएका छैनौँ,’ घिमिरेले भने।
मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रा हो। स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रा पालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान थालिएको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जभित्र बाघको संख्या बढ्दै गएको छ। त्यसमध्ये पनि माडी क्षेत्रमा बढी भेटिएका छन्।
बाघ मानव वस्तीमा पस्न थालेपछि द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले खोर निर्माण गरिएको हो। चितवन निकुञ्जमा १ सय २८ वटा बाघ रहेका छन्।
प्रकाशित: १२ फाल्गुन २०८१ १०:०४ सोमबार