विश्व यतिबेला प्रविधिका कारण साँघुरिएको छ। सन् १९६९ पछि भएको इन्टरनेट प्रविधिको तीव्रतर विकाससँगै विस्तार भएको सामाजिक सञ्जालका कारण त पूरै विश्व एउटै गाउँ हुन पुगेको छ। सामाजिक सञ्जालको माध्यमबाट घरमा बसी बसी संसार भ्रमण गर्न सकिने भएको छ।
संसारभरको ताजा ताजा खबर बिहान चियाको चुट्कीसँगै ओछ्यानमै आइपुग्न थालेका छन्। विश्वको एउटा कुनाबाट अर्काे कुनाका मानिससँग जोडिएर कुरा गर्न कुनै साइत र तिथिमिति नचाहिने भएको छ। अन्तरङ्ग कुराकानी निर्धक्क गर्न सकिन्छ। विचार, भावना सेयर गर्न सकिन्छ।
युट्युबको सहायताले विश्व पढ्न सकिन्छ। टिकटकमार्फत रमाइला गफगाफ र भरपुर मनोरञ्जन लिन सकिन्छ। विद्यार्थीले घरमै बसेर विद्यालय, विश्वविद्यालय पढ्न सक्ने भएका छन्। घरमै बसेर जागिरसमेत गर्न सकिने स्थिति बनेको छ।
आजकल पैसा राख्न–झिक्न बैङ्क गएर लाइन बसिराख्नुपर्ने झण्झट गर्नुपर्दैन। यी काम मोबाइल वालेटबाटै गर्न सकिने प्रविधि विकास भइसकेको धेरै भयो। हिजोको दिनमा विदेशबाट पठाइने पैसा झिक्न आइएमइको कार्यालय खोज्दै गएर लाइन बस्नुपथ्र्याे। तर आज मोबाइल बैङ्किङबाटै सबै कारोबार गर्न सकिने प्रविधि विकास भइसक्यो। उताबाट पैसा पठाउँदा पनि अनलाइन ट्रान्सफर हुन थालिसके।
कतिपय सरकारी सेवा घरमै बसेर मोबाइल या कम्प्युटरको सहायताले हासिल गर्न सकिन्छ। नेपाल बसेर अमेरिका, अस्ट्रेलिया, क्यानडाका कम्पनीमा जागिर गर्न सकिने भएको छ। संसारका ठूला कम्पनी, कार्यालयहरूमा जागिर गर्ने कर्मचारीहरूले ‘वर्क फ्रर्म होम’ गर्न थालिसकेका छन्। यी सबै इन्टरनेट र यसका प्रडक्ट एपहरूका कारण सम्भव भएका हुन्।
यसरी हेर्दा संसारै डिजिटलमय भइसकेको छ। र, हुँदै जाने क्रम पनि बढ्दो छ। तर यसरी सहजता केले प्रदान गरिरहेको छ त? उत्तर सहज छ– इन्टरनेटको सुविधा र यसपछि विकास र विस्तार भएको डिजिटल एप्सका कारण। हरेक सामाजिक सञ्जालमा जोडिन होस् या
बैङ्कहरूमा खाता खोल्दा होस्, हाम्रा महत्त्वपूर्ण कागजात र जानकारी हामीले उनीहरूलाई उपलब्ध गराइरहेका हुन्छौँ। जस्तै– नागरिकता, पासपोर्ट या सवारी अनुमतिपत्र, मोबाइल नम्बर, इमेल ठेगाना आदि। हाम्रो प्र्रष्ट अनुहार देखिने फोटो पनि। अझ बैङ्कहरूमा त हामीले तीन पुस्ते विवरण नै उपलब्ध गराउनुपर्छ। यी महत्त्वपूर्ण सूचना र अभिलेखहरूको सुरक्षा कसरी होला ? गरिएला ? चोरिएला या नचोरिएला ? यसतर्फ भने हामी खासै ध्यानै दिँदैनौँ।
हामी बेलाबेला सुन्छौँ– बैङ्क सिस्टम ह्याक भयो। बैङ्कबाट पैसा चोरी भयो। सरकारी सिस्टम ह्याक भयो। डेटा चोरी भयो। फेसबुक ह्याक भयो। गलत सन्देश पोस्ट भयो। सञ्जालमा जोडिएका साथीहरूसँग विभिन्न बहानामा पैसा मागियो। भर्खरै रुसी ह्याकर समूह घुद्राले नेपालको ‘हेलो सरकार’ नै ह्याक गर्यो। उसले उक्त पोर्टलमा रहेको डाटा आफूसँग रहेको बताइरहेको छ। उक्त वेबसाइट ह्याक भएको विषयमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ।
कोही मान्छेसँग रिस उठ्यो, रिस पोख्न फेसबुकमा स्टेटस लेख्यो, गाली गर्यो। कसैले पोस्ट्याएको कुरा चित्त बुझेन्, नेगेटिभ कमेन्ट गर्यो, हराससमेन्ट गर्यो। आजकल झगडा गर्नका लागि बल–शक्ति चाहिँदैन। भिडन्त गर्नका लागि रणमैदान खोजिरहनु पर्दैन। फेसबुकमा लेखिने एउटा स्टेटस नै काफी हुँदै गएको छ। त्यहीँ सत्तोसराप गर्न थालिहाल्छन् मान्छेहरू।
संसार जति जति डिजिटल हुँदै गएको छ, उति उति सुरक्षा चुनौती पनि बढ्दो छ। यसका धेरै फाइदा पक्कै छन् तर यसका कारण सिर्जित मानव हिंसा, तनाव, साइबर बुलिङ, साइबर थ्रेटका कारण कतिपय मानिस पीडित पनि बन्दै गएका छन्। हनी ट्रयाप अर्काे डरलाग्दो रूप हो। मानिसलाई सामाजिक सञ्जालको प्रयोगबाट गरिने गाली बेइज्जती पनि उत्तिकै बढ्दो छ। यसले कतिपय मानिसको सहज जिन्दगीमा तनाव पनि थपेको छ।
सुरक्षाको अर्काे चुनौती भनेको व्यक्तिगत रूपमा दिइने जानकारी पनि हो। म यहाँ छु भनेर फोटो पोस्ट्यायो। जसबाट गलत नियत राख्नेहरूलाई सहजै जानकारी लिन/दिन मद्दत पुगिरहेको हुन्छ। यस्तो सूचनाबाट पनि कतिपयको घर–सम्पत्ति चोरी भएको छ। अपहरण गर्ने र फिरौती असुल्नेहरूलाई सहजता प्रदान गरेको छ।
हिजोका दिनमा कसैको कुनै राम्रो या नराम्रो कुरा थाहा पाउन मान्छे नै सञ्चारको एक मात्र माध्यम हुनुपर्थ्याे। तर आज त्यस्तो अवस्था छैन। एउटा फेसबुक वा एक्समा राखिने पोस्टले सेकेन्डभरमै संसारले हेर्न सक्ने भएको छ। सम्झनूस्, यदि कसैले कसैका विरुद्ध अफबाह फैलायो भने पनि उसको त्यो विषय क्षणभरमै विश्वव्यापी भइदिन्छ। आजकल मानिस त्यसरी आउने पोस्ट हेरेर नै धारणा बनाउने गर्छन्। त्यसको तथ्य परीक्षण गर्ने फुर्सद कसैमा छैन।
सहर–बजार, चोक–चौतारी, घर–कार्यालय सर्वत्र सिसिटिभी राखिन थालिएको छ। यसले क्षण–क्षणको रेकर्ड राख्छ। यस हिसावले अब मानवको गोपनीयता विस्तारै खुम्चिँदै जान थालेको छ। घुमफिर गर्न पनि समस्या हुँदै गएको छ। निष्फिक्री हिँड्न पनि अप्ठेरो बन्दै गएको छ। किनकि आजका मान्छे सहरकेन्द्रित छन्। प्रविधिमैत्री हुँदै गएका छन्।
मानव अधिकार, महिला अधिकार, भूमि अधिकार, जातीय अधिकारको विषयमा पैरवी गर्ने, आवाज उठाउने अभियन्ता, पत्रकार, लेखक आदिलाई समेत विभिन्न धाक धम्की दिने, गाली बेइज्जती गर्ने थलो पनि आजकल सामाजिक सञ्जाल र इन्टरनेटका विभिन्न एप बन्दै गएका छन्। यसैले सामाजिक सञ्जालको प्रयोग राम्रो कुराहरूमा त छँदैछ, सँगसँगै यसको नकारात्मक प्रयोगसमेत ह्वात्तै बढ्नु यही चिजको सर्जक मानव समाजका लागि गम्भीर चुनौती हो।
आजकल सामाजिक सञ्जालमा घृणा गरिने पात्रको प्रमुख स्थानमा छन्– प्रधानमन्त्री केपी शर्मा ओली। सामाजिक सञ्जालमा जताततै उनलाई गालीगलौज गरिएको देखिन्छ। अपमानित हुने शब्दहरूले निकै प्रहार गरेको देखिन्छ। उनले कहीँ कतै केही बोले, सामाजिक सञ्जालमा केही लेखे, उनको विषयमा कहीँकतै समाचार प्रकाशन भयो भने त्यो पोस्ट गरिएको सञ्जालमा क्षणभरमै गालीको वर्षा सुरु हुन्छ।
यस्तो लाग्छ, कतिपय मान्छेको पेसा नै अरूलाई गाली गर्नु भएको छ। यसरी अपशब्द प्रयोग गर्नेहरू बढी छद्मभेषी छन्। बेनामी छन्। पूरा परिचयसहित एकाउन्ट खोलेका छैनन्। सुनिन्छ, आजकल विभिन्न समूह÷निकाय आदिका साइबर सेना परिचालित छन्, जसको काम नै अरूलाई साइबर आक्रमण गर्नु हो। छाडा बोल्नु हो। मन नपरेको मान्छेलाई उछितो काट्नु हो। उसलाई उत्पीडन गर्नु हो।
ओली तिनै हुन् जो केही वर्ष पहिलेसम्म साना नानीबाबुदेखि ज्येष्ठ नागरिक उमेरसम्मकाले ‘लभ यु केपी बा’ भन्थे। जहाँ जहाँ जान्थे, सेल्फीले घेरिन्थे। तर एकाएक उनी किन आलोचित हुँदै गए त? आजकल मानिसको धैर्य र गरिने सद्भाव पनि प्रविधिको विकास सँगसँगै फेरिँदै गएको छ। त्यसका अनेकन पक्ष होलान् तर ओली नेपालको प्रधानमन्त्री हुन् र देशको दोस्रो ठूलो दल एमालेका अध्यक्ष पनि हुन्।
यति ठूलो पद र हैसियतमा पदासीन व्यक्तिलाई हरासमेन्ट गरिने गरी गालीगलौज गरिनु एक हिसाबले भन्ने हो भने उनमाथि निरन्तर डिजिटल हमला भइरहेको छ। उनको बोल्न पाउने, लेख्न पाउने हकमा समेत प्रहार भइरहेको छ।
अर्काेतर्फ, काठमाडौँका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जे (राम्रो वा नराम्रो) लेखे पनि सही थाप्ने, वाह बालेन, वाह हर्क साम्पाङ, वाह रवि दाइ भन्नेहरू बग्रेल्ती सामाजिक सञ्जालमा देखिन्छन्। उनीहरूको फ्यान फ्लोर ग्राफ उभो लाग्दो छ। तर भोलि यी पात्र पनि ओलीझैँ गाली गरिने कित्तामा नपुग्लान् भन्न सकिन्न। मन पर्दा गलतलाई पनि राम्रो देख्नेहरू रिस उठ्दा राम्रोलाई पनि गलत भन्न थालेका छन्। गुण र दोष हेरिने र सोअनुसार व्यवहार गरिने कुरा अब एकादेशको कथामा परिणत भइसकेको छ।
आजकल गाली गर्नका लागि मुखामुख गर्नुपर्दैन। स्वमय् भेटेर धारे हात लगाइरहनु पनि पर्दैन। घाउ देखिने गरी कुटाकुट गर्नु पनि पर्दैन। रगत बग्ने गरी लुछालुछ गर्नु पनि आवश्यक छैन। आजकल त फेसबुक जस्ता सामाजिक सञ्जालमा एउटा स्टेटस लेखिदिए पुग्ने भएको छ। कसैले पोस्ट गरेको फेसबुकमा एक कमेन्ट गरिदिए पुग्ने भएको छ। जसले मानिसलाई रगत आउने गरी कुटेको भन्दा बढी चोट दिन्छ।
एक क्लिक गर्दा संसारले हेर्ने सामाजिक सञ्जालमा कुनै विषय तुरुन्तै भाइरल भइदिन्छ र सत्यतथ्य खोजी गर्नुको साटो सामाजिक सञ्जालमा पोस्टिएकै भरमा व्यक्तिलाई गरिने व्यवहार फरक हुने गर्दछ। हिजोसम्म राम्रो मानिएको व्यक्ति आज कसैले फेसबुकमा गलत भनेर लेखिदिएको भरमै उसलाई गरिने व्यवहार र बोलीवचन एकाएक फेरिइहाल्छ।
संसारका सामाजिक सञ्जाल निर्माताहरूले यी प्रविधिको विकास पक्कै पनि गलत नियतले गरेका हैनन्। मार्क जुकरवर्गले फेसबुक सञ्जालको विकास २००४ को फेब्रुअुरीमा गरे भने ज्याक डोर्सी, नोह ग्लास, बिज स्टोन र इभान विलियम्सले सन् २००६ मा टुइटर स्थापना गरे। सन् २०२२ देखि भने संसारकै धनाढ्य एलोन मस्कले टुइटर खरिद गरी एक्स बनाएका छन्। युट्युब सन् २००५ मा टेभ चेन, चाड हर्ले र जावेद करिमले सिर्जना गरेका हुन् भने यसलाई सन् २००६ देखि गुगलले सञ्चालन गरिरहेको छ। टिकटक सन् २०१६ मा बाइटडान्सले विकास गरेको छोटो भिडियो प्लेटफर्म हो।
विश्वमा अहिले ५.२४ अर्ब मानिस विभिन्न सामाजिक सञ्जालमा जोडिएका छन्। यो भनेको विश्व जनसङ्ख्याको ६३.९ प्रतिशत हो। विश्वभरमा अलिक बढी चलाउने सामाजिक सञ्जालहरूमा फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स, टिकटक र ह्वाट्सएप छन्। यी सञ्जालले आजको विश्वमा सेकेन्ड सेकेन्डमा विश्व–परिवेशमा के भइरहेको भन्ने जानकारी लिन–दिन, सूचना आदान–प्रदान गर्न र एकअर्कामा सञ्चार गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। अहिले सबैभन्दा बढी युट्युबमा ३.९ अर्ब, फेसबुकमा ३.१ अर्ब, टिकटकमा २.०५ अर्ब, ह्वाट्सएपमा २ अर्ब, इन्स्टाग्राममा दुई अर्ब र टेलिग्राममा १ अर्ब मानिस सक्रिय छन्।
सन् २०२५ को जनवरीसम्मको विवरणअनुसार नेपालमा एक करोड ४३ लाख मानिस फेसबुकमा जोडिएका छन्। यस्तै, टिकटकमा २२ लाख नेपाली सक्रिय छन्। नेपालमा इन्टरनेट प्रविधिको सुरुवात भएको ३० वर्ष भयो। सन् १९९४ देखि जडान सुरु गरिएको थियो। नेपालमा मुख्य गरी फेसबुक, एक्स, युट्युब, इन्स्टाग्राम र लिङ्क्डिनमा मानिस सक्रिय छन्। सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ९५.१८ प्रतिशत फेसबुक सञ्जालमा सक्रिय छन्।
सामाजिक सञ्जाल र डिजिटल डिभाइसहरू यतिबेला मानिसका लागि सुरक्षा चुनौती नै बन्दै गइरहेको छ। डिजिटल डिभाइसमा जोडिने सबैको व्यक्तिगत विवरण सम्बन्धित कम्पनीसँग हुन्छ। जसका कारण ह्याकरहरूले जुनसुकै बेला पनि उक्त व्यक्तिगत विवरणहरू चोरी गर्न सक्ने खतरा पनि बढ्दो छ।
हामी सुनिरहेका हुन्छौँ– बैङ्कबाट पैसा चोरी भयो। फेसबुक एकाउन्ट ह्याक भयो। गोप्य भिडियोहरू युट्युब र फेसबुकमार्फत सार्वजनिक भयो। यी विषय विश्वकै लागि एउटा गम्भीर चुनौती बन्दै गएको परिवेशमा गहन छलफल र बहस गर्न, डिजिटल सुरक्षाका लागि विश्वव्यापी पैरवी गर्न गत २२ फेब्रुअरीदेखि २८ फेब्रुअरी २०२५ सम्म ताइवानमा विश्व सम्मेलन नै भएको थियो।
सम्मेलनमा पंक्तिकार पनि सहभागिता थियो। सम्मेलनमा विश्वभरका विज्ञहरू, अभियन्ता, नीति निर्माताहरू र विभिन्न इन्टरनेट, सामाजिक सञ्जाल निर्माता कम्पनी र संस्थाहरूका प्रतिनिधि भेला भई डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र प्रविधि शासन जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरे।
सम्मेलनमा विश्वभरबाट झण्डै पाँच सय जना सहभागी थिए भने अनलाइन प्लेटफर्ममार्फत हजारौँ मानिस जोडिएका थिए। जसमा व्यावसायिक नेतृत्वहरू, नीति निर्माता, सरकारी अधिकारीहरू, प्राविधिक विज्ञहरू, शिक्षाविद्, पत्रकार र मानव अधिकारकर्मीहरू थिए। सबैको चिन्ता भनेको भावी दिनमा यी डिजिटल डिभाइसहरू के कसरी जनमैत्री र सुरक्षित बनाउन सकिन्छ भन्नेमै केन्द्रित थियो। डिजिटल सुरक्षा भन्नाले अनलाइन क्षेत्रमा लागू हुने मानव अधिकार हुन्। यी अधिकारले व्यक्तिहरूलाई अनलाइन क्रियाकलापमा सहभागिता, अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयताको अधिकार, सूचनामा पहुँचको अधिकार, विनाविभेद इन्टरनेट र डिजिटल स्रोतमा पहुँच पाउने अधिकार, डेटा संरक्षण र स्वामित्व, डिजिटल समावेशिताको विषय समेट्छ।
प्रकाशित: २९ चैत्र २०८१ ०८:३७ शुक्रबार

