संगठनको निर्देशन विपरित सामाजिक संजालमा तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने १ सय २० जना सशस्त्र प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।
सशस्त्र प्रहरी बलले संगठनको निर्देशन विपरित सामाजिक संजालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरेको हो । उनीहरुले बर्दी लगाएर खिचिएको भिडियो तथा तस्बिर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।
कारवाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहयाक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गरिएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालले सामाजिक संजालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना कर्मचारीमाथि विभागीय कारवाही गरी सोको विवरण यथाशिघ्र खुलाई पठाउन मातहत कार्यालयहरुलाई निर्देशन पनि दिएको छ । यस्तै संगठनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागि सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरेको प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ६ फाल्गुन २०८१ १६:३३ मंगलबार