नेपाल–भारतको सिमानामा बाँध जस्तो सडक बनाएको भारतले दशगजा क्षेत्र ओगटेर काँडेतार लगाएको छ। नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी भारतले दश गजा क्षेत्रमा पर्ने गरी काँडेतार लगाएको हो।
बाँकेस्थित जमुनाह नाकादेखि पूर्वी क्षेत्रमा पर्ने दशगजामा यस अघि निर्माण गरिएको सडकको दायाँबायाँ काँडेतार लगाइएको छ। काँडेतार लगाउँदा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरेको बाँकेका सुरक्षा अधिकारीहरूले जनाएका छन्।
दश र गजा दुई शब्द मिलेर दशगजा शब्द निर्माण भएको हो। दश भनेको हामीले प्रयोग गर्ने दश अंक हो भने गजा भनेको क्षेत्रफल नापिने एक इकाई हो। एक गजामा तीन मिटर हुन्छ। दशगजा भनेको तीस मिटर हो। यसकै आधार बनाएर दुई देशबीचको सीमा क्षेत्रमा दशगजा छुट्याइएको हुन्छ। जुन दशगजा दुवै देशको साझा जमिन हो। यो जमिन दुवै देशले आफूखुसी प्रयोग गर्न पाउँदैनन्।
दशगजाभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा द्विदेशीय कानुन हुन्छन्। सोही आधारमा मापदण्ड तयार पारिएको हुन्छ। जुन दुवै देशले पालना गर्नुपर्ने हुन्छ।

तर, भारतले दशगजा क्षेत्रको जमिन छुने गरी काँडेतार निर्माण गरेको छ। बाँध जस्तो निर्माण गरिएको सडक छेउछाउमा बिरुवा लगाएको छ। सोही बिरुवालाई गाईबस्तुबाट जोगाउन काँडेतार लगाइएको हुन सक्ने स्थानीयले बताएका छन्। जुनसुकै उद्देश्य भए पनि, उक्त काँडेतार दशगजा क्षेत्र पनि ओगटिएको छ।
नेपालतर्फ पर्ने दुईवटा काँडेतारमध्ये पहिलो काँडेतार सीमा क्षेत्रमा गाडिएको पिल्लरमध्ये करिब सात/आठ मिटरसम्म गाडिएको छ। दोस्रो १२ देखि १४ मिटरसम्ममा छ भने सडकको अर्को पट्टि अर्थात् भारततर्फ पनि काँडेतार लगाइएको छ।
जहाँ दशगजामा पर्ने तीस मिटर जमिनमा दुवै देशले केही गर्न पाउँदैनन्। सीमा क्षेत्र अनुगमन गर्दा उक्त काँडेतार सडक छेउमा लगाइएका बोटबिरुवाको रेखदेखकै लागि लगाइएको जस्तो देखिए पनि बाँकेका प्रमुख जिल्ला अधिकारीले खगेन्द्रप्रसाद रिजाल भने चोरीसिकारी र तस्करी रोक्न भारतले आफ्नो भूभागमा काँडेतार लगाएको दाबी गरे। भारतले दशगजा क्षेत्र नभई आफ्नै भूभागमा काँडेतार लगाएको उनको दाबी छ।
‘काँडेतार लगाउँदा भारतले सुरक्षा निकायसँग कुनै समन्वय गरेको छैन,’ उनले भने, ‘उक्त काँडेतार दशगजामा नपर्ने र भारतीय भूभागमा पर्ने हुँदा हामीसँग समन्वय गर्न जरुरी पनि छैन।’
काँडेतार लगाएको क्षेत्रमा आफू पुगेको भन्दै उनले भने, ‘भारतले काँडेतार नेपाली भूभाग तथा दशगजामा लगाएको छैन। भारतीय भूभागमा लगाएको छ।’

दशगजाको भूभाग ओगट्ने गरी भारतले काँडेतार लगाउँदा पनि यहाँका प्रमुख जिल्ला अधिकारी र सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी भने गम्भीर देखिएको छैन।
पिल्लरबाट तीस मिटर दुरीमा उक्त काँडेतार छ या छैन जमुनाहबाट करिब एक सय मिटर जति पूर्व जाँदा सहजै देख्न सकिन्छ। कति भूभागमा भारतले काँडेतार लगाएको छ भन्ने पनि नेपाली सुरक्षा अधिकारी जानकार छैनन्।
भारतले काँडेतार लगाएको क्षेत्र खेती लगाएको समयबाहेक अन्य समयमा गाईगोरु चरिचरण गर्न आउँछन् जसबाट जोगाउन भारतले काँडेतार लगाएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार भारतको वन विभागले काँडेतार लगाएको हो। जुन कुरा नेपाली सुरक्षा अधिकारीलाई जानकारी छैन।
प्रकाशित: ३० माघ २०८१ १८:३१ बुधबार





