जुम्लाको चन्दननाथ नगरपालिका-३ सिम्खाडा गाउँकी चन्द्रावती उपाध्याय बुधबार दिउँसो खरानी भएको घरभित्र टाेलाइ रहेकी थिइन्। आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी भएपछि गहभरि आँसु झार्दै उनले भनिन्, ‘भएको बास खरानी भयो गाँस र बासको पनि टुङ्गो छैन। कहाँ बस्ने कहाँ खाने।’
साेमबार दिउँसो २ बजे घरमा लागेको आगोले उनको घर जलेर खरानी भएको छ। त्यही खरानी भएको घर देखाउँदै उनले बिलौना गरिन्, ‘घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, लत्ताकपडा, रुपैयाँ गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन।’ अहिले उनको गाउँलेहरूकाे घरमा आलाेपालाे गरी बिहान बेलुकाकाे छाक टार्ने र उतै सुत्ने काम भइरहेको छ।
यस्तै अर्का धर्मलाल उपाध्यायको पनि आगलागीले घर नष्ट भएको छ। उनले घरमा भएको केही पनि बचाउन नसकिएको बताए। ‘ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरू सबै नष्ट भयो,’ उनले भने। घर जलेर नष्ट भएपछि चन्द्रावती उपाध्यायकाे ६ र धर्मलाल उपाध्यायको ४ जनाको परिवार बिचल्लीमा छ। धर्मलालकाे तीन तले ८ काेठे जस्ताले छाएको र चन्द्रावतीको तीन तले १७ काेठे जस्ताले छाएको घर जलेर पूर्णरूपमा नष्ट भएको हो। काेही नभएको समयमा साेमबार भएको भीषण आगलागीका कारण चन्द्रावती र धर्मलाल उपाध्यायको मात्र नभइ सिम्खाडा गाउँका शिव नारायण उपाध्याय र मयालाल उपाध्यायको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिले चन्द्रावती र धर्मलाल उपाध्यायको घरगोठ जलेर पूर्णरूपमा नष्ट भएको बताए। घरमा विद्युत् सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ। आगो नियन्त्रण करिब साझ ४ बजेर ५५ मिनेटमा भएको थियो। चन्द्रावतीको सात ताेला सुनको करिब दस लाख ५० हजार रुपैयाँ, ५० ताेला चाँदी ९० हजार, पुरानो तामा १ सय २० केजी दुई लाख ६४ हजार, कास ८० केजी दुई लाख, लत्ताकपडा ५ लाख, इलेक्ट्रोनिक सामान एक लाख, खाद्यान्न दुई लाख, काठ (फर्निचर) तीन लाख, घरको क्षति ५० लाख, पुरातात्त्विक बहुमूल्य र नगद ३५ हजार रुपैयाँ गरी कुल ७७ लाख ४ हजार क्षति भएको छ।
यता धर्मलाल उपाध्यायको तीन ताेला सुन तीन लाख ७५ हजार, चाँदी ६० ताेला एक लाख ८ हजार, कास ५० केजी दस हजार, पुरानो तामा १ सय केजी दुई लाख २० हजार, लत्ताकपडा ७ लाख, इलेक्ट्रोनिक सामान २ लाख, खाद्यान्न तीन लाख, काठ (फर्निचर) पाँच लाख, घर क्षति सात लाख र नगद १ लाख ५० हजार रुपैयाँसहित कुल ९६ लाख ६३ हजार रुपैयाँ गरी १ करोड ७३ लाख ६७ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगालागी भएकाे खबर पाउने बित्तिकै नेपाल प्रहरी, कर्णाली प्रदेश विपद् व्यवस्थापन टाेली, सशस्त्र स्थानीय पुगेर पूर्णरूपमा आगाे नियन्त्रणमा लिइएका थिए। यता जुम्लाको चन्दननाथ नगरपालिकाले घटनास्थलमै गएर आगलागीका कारण गाँस, बास गुमाएका परिवारलाई तत्काल व्यवस्थापनका लागि पूर्णरूपमा नष्ट भएका घर परिवारलाई ६०/६० हजार नगद रुपैयाँ, दुईवटा त्रिपाल, दुईवटा कम्बल राहत स्वरुप दिएको छ। भने, आंशिक क्षति भएका परिवारलाई नगद १०/१० हजार रुपैयाँ, दुईवटा कम्बल, दुईवटा त्रिपाल र जिन्सी सामान दिएको नगरपालिका विपद् शाखाले जनाएको छ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जुम्लाले पनि पीडित घर परिवारलाई कम्मल, त्रिपाल-लत्ताकपडा जिन्सी सामानहरू उपलब्ध गराएको छ। नगरपालिकाकाे सबै बस्तीमा दमकल जाने बाटो नहुँदा र आगो नियन्त्रणका सामग्री पर्याप्त नहुँदा आगलागीका घटना बढिरहेको स्थानीय बताउँछन्।
जुम्लाका ८ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा मात्र दमकल छ। नगरपालिका १० वटा वडा छन्। तर, सबै वडामा दमकल जाने बाटो छैन।
प्रकाशित: २४ माघ २०८१ ०८:५८ बिहीबार





