३० माघ २०८१ बुधबार
image/svg+xml
समाज

फुटपाथ सौन्दर्यीकरण गर्दै नेपालगन्ज उपमहानगर

नगर सौन्दर्यताका लागि कंक्रिट ब्लक राख्दै श्रमिक। तस्बिर: गणेश/नागरिक

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गतका फुटपाथ सौन्दर्यीकरण गर्न थालेको छ। पहिलो चरणमा यहाँको मुख्य बजार क्षेत्र गणेशमान चोकदेखि कारकाँदोसम्मको फुटपाथ सौन्दर्यीकरण गर्न थालिएको हो।

उक्त सडकखण्डअन्तर्गको पश्चिमतर्फको फुटपाथमा कंक्रिट ब्लक बिछ्याउन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ। जसका लागि नगरले ५३ भ्याटबाहेक लाख ७६ हजार सात सय २९ रुपैयाँमा ठेक्का दिएको छ।

गत वर्षको पुस १२ गते राज बिल्डर्सले नगरसँग सम्झौता गरेको थियो। यही माघ मसान्तसम्म फुटपाथलाई सौन्दर्यीकरण गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको थियो। नगरले निर्माण कम्पनीलाई चेतावनी दिएपछि अहिले पुनः कामले निरन्तरता पाएको छ।

गणेशमान चोकदेखि कारकाँदोसम्म १२ सय मिटर फुटपाथ छ। अहिले पश्चिमतर्फको मात्र फुटपाथमा कंक्रिट ब्लक राख्न थालिएको नेपालगन्ज उपमहानगरपालिकामा इन्जिनियर चन्दनराज दासले जानकारी दिए।

नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भए पनि यहाँका फुटपाथ अतिक्रमणको चपेटामा परेका छन्। जसले गर्दा सर्वसाधारणहरूले सहजै हिँडडुल गर्न समस्या भएको छ। फुटपाथ व्यवस्थितसँगै सौन्दर्यीकरण भएपछि नगरको सुन्दरता बढाउने र सर्वसाधारणहरूको आवतजावतमा समेत सहज हुने इन्जिनियर दासको भनाइ छ।

‘नगरलाई सौन्दर्यीकरण गर्न लागेका छौं,’ उनले भने, ‘निर्माण कम्पनीले चासो नदिँदा काम ढिलो भएको थियो। नगरको दबाबपछि पुनः काम सुरु भएको छ। यसले नेपालगन्जको सौन्दर्यतालाई थप टेवा पुर्‍याउने छ।’

पहिला लगाएको कंक्रिट ब्लक निकाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। पहिला लगाएको कंक्रिट ब्लक दबेकाले निकालेर नयाँ राख्न थालिएको बताइएको छ। पहिला गणेशमान चोकदेखि उत्तरतर्फ करिब एक सय मिटर जति फुटपाथमा कंक्रिट ब्लक बिछ्याइएको थियो।

प्रकाशित: २२ माघ २०८१ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App